अब हाजिर नेप्से कि सिडिएससीमा ?

‘पन्दाकलाई फिर्ता बोलाउ नत्र आफैं राजिनामा देउ’ भनेपछि नेप्से अध्यक्ष बस्यालले माइन्युटमा गरे हस्ताक्षर

अड्डी कस्दै एकलौटी रुपमा अघि बढेकी पन्दाक सिडिएससीको नेतृत्वबाट यसरी हुँदैछिन बाहिर


नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से) बाट सञ्चालकका रुपमा सिडिएससी पुगेकी प्रविण पन्दाकले नेप्सेका तत्कालीन प्रमुख कार्यकारी तथा सिडिएससीका तत्कालीन अध्यक्ष कृष्ण बहादुर कार्कीसँग मिलेर प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारी पोल्टामा पारेकी थिइन् । अध्यक्ष र सञ्चालक मिलेर प्रमुख कार्यकारी नियुक्त गरेपनि अर्थमन्त्रालयबाट गएका सञ्चालकहरुले उक्त निर्णयमा असहमति जनाउँदै आएका थिए ।

अहिले नेप्सेमा प्रमुख कार्यकारीको जिम्मेवारी फेरिएको छ भने सिडिएससीको अध्यक्षमा पनि अर्कै अनुहार आएको छ । यद्यपी नेप्से व्यवस्थापनले आफ्नो कर्मचारीलाई सिडिएससीबाट फिर्ता बोलाउने हिम्मत जुटाउन सकिरहेको थिएन । अहिले नेप्सेको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका चुडामणी चापागाई सिडिएससीको अध्यक्ष समेत छन् । यता नेप्सेमा चापागाईसँगै प्रमुख कार्यकारीको प्रतिष्पर्धामा पछि परेका हेमन्त बस्याल चापागाईको हाकिम अर्थात नेप्सेको अध्यक्षको भूमिकामा छन् ।

अर्थ मन्त्रालयले मातहतका विवादित निकायका प्रमुखहरुलाई धमाधम राजिनामा दिन बाध्य पारिरहेको अवस्थामा शुक्रबार बिहान नेपाल स्टक एक्स्चेञ्ज सञ्चालक समितिको बैठक ११ बजेका लागि बोलाइयो । बैठकमा सिडिएससीको सञ्चालकबाट प्रविन पन्दाकलाई फिर्ता बोलाउने एजेण्डा राखिएको थियो । सोही अनुसार माइन्युट तयार भयो र सञ्चालकहरुले हस्ताक्षर गर्ने समय भयो । तर नेप्सेका अध्यक्ष बस्यालले उक्त निर्णयमा सहमति जनाएनन् । उनले पन्दाकलाई फिर्ता बोलाउने निर्णयमा आफुले हस्ताक्षर नगर्ने अडान लिन थाले ।

बैठकमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरेका वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका उपसचिव देव नारायण पौडेलले बस्याललाई माइन्युटमा निर्णय नगर्ने अवस्थामा आफ्नो राजिनामा लिएर मन्त्रालय आउन भनेपछि बस्यालले बाध्य भएर हस्ताक्षर गरेका थिए । सो निर्णयमा हस्ताक्षर गरेको केही समयपछि मोबाइल अफ गरेर बस्याल सम्पर्कविहीन बनेका छन् भने दिउँसो करीब ३ बजे नेप्सेका कर्मचारीले निर्णयको व्यहोरा सहितको पत्र सिडिएससीमा लगेर बुझाएका छन् ।

सिडिएससीमा पनि पन्दाक अनुपस्थित भएपछि त्यहाँका कर्मचारीलाई नेप्सेले पत्र थमाएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत तथा सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पनि शुक्रबार हिानको सञ्चालक समितिको बैठक पछि मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् । आफ्नो कर्मचारी फिर्ता बोलाउने सम्बन्धमा नेप्से अध्यक्ष बस्यालको अड्डीपनालाई पनि अर्थ मन्त्रालयले अर्थपूर्ण रुपमा नै लिएको छ ।

आफु सञ्चालक रहेर आफैंलाई प्रबन्ध सञ्चालकको जिम्मेवारीको निर्णय गराएकी पन्दाकको कार्यकाल सुरु भएदेखि नै विवादै विवादमा एक वर्षभन्दा लामो समय बिताएकी छिन् । अन्ततः नेप्सेले अर्थ मन्त्रालयको शुद्धीकरण अभियानमा बाध्यात्मक अवस्थामा साथ दिँदै पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेसँगै उनको प्रमुख कार्यकारी पद पनि उम्किने निश्चित भएको छ । अर्थमन्त्रालयले अनौपचारिक रुपमा पद छाड्न भनिसकेको अवस्थामा अटेर गरेपछि उनलाई मन्त्रालयले नेप्से सञ्चालक समितिको बैठकबाट फिर्ता तानेको हो ।

नेप्सेलाई मन्त्रालयले सिडिएससीको सबै जिम्मेवारीबाट मुक्त गर्न भने पनि शुक्रबार सञ्चालक पदबाट मात्र फिर्ता बोलाएर नेप्सेले प्रमुख कार्यकारीको भूमिकालाई सम्बोधन गरेको छैन । यस्तो अवस्थामा पन्दाक अझै पनि प्रमुख कार्यकारी तथा प्रबन्ध सञ्चालकको हैसियतमा सिडिएससीमा उपस्थित हुनेछिन् । तर नेप्सेमा पनि हाजिर हुनु पर्ने अवस्था उनमा रहन्छ । नेप्सेले ४ वर्षका लागि सञ्चालकको रुपमा पठाए पनि फिर्ता बोलाउने निर्णय गरेसँगै उनले सोमबारदेखि नेप्सेमा आफ्नो पुर्ववत दर्जा अनुसार हाजिर गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा नेप्सेले उनलाई सिडिएससीको प्रबन्ध सञ्चालकबाट समेत राजिनामा गरेर नेप्से फर्किनुपर्ने अवस्थालाई घुमाउरो शैलीमा निर्णय गराएको छ ।

अब पन्दाकले सिडिएससीमा हाजिर गर्छिन् वा नेप्सेमा भन्ने रमित हेर्ने ‘मूड’ मा नेप्से देखिएको छ । सिडिएससीका कर्मचारी पनि यही ‘मूड’ मा छन् ।पन्दाकसँग अर्को विकल्प अदालत जाने पनि खुल्ला रहेको छ । तर उनी अदालत जाने अवस्थामा आफ्ले आफुलाई सिडिएससीको प्रबन्ध सञ्चालक नियुक्त गराउँदाका कागजात परिपक्व नहुने भएकाले त्यसो गर्ने सम्भावना भने देखिँदैन ।

पन्दाकको हकमा पनि नियुक्तीदेखि पछिल्ला दिनहरुमा आउँदासम्मको विवादका सम्बन्धमा अर्थमन्त्रालयले आन्तरिक रुपमा निगरानी तथा अनुसन्धान गरिरहेको छ । सोही आधारमा कडा रुपमा प्रस्तुत हुँदै मन्त्रालयले शुक्रबार उनलाई फिर्ता बोलाउने निर्णय नेप्से सञ्चालक समितिबाट गराएको हो ।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार  १७ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।