भोटेकोशी बाढीको क्षति विबरणमा कृषि विकास बैंकले किन राख्यो फरक मत ? ‘६५ करोडको क्षति छैन’


काठमाडौँ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भएको क्षतिको प्रतिवेदनमा कैफियत देखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको रसुवा बाढीको क्षतिसम्बन्धी तथ्यांकमा वास्तविकताभन्दा बढी क्षति भएको विबरण समावेश गरेको भेटिएको हो ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख भए अनुसारको क्षति नभएको सम्बन्धित संस्थाले प्रतिकृया दिएसँगै प्रतिवेदनको विश्वसनीयतामा प्रश्न समेत उब्जिएको छ । मानवीय क्षतिको वास्तविक तथ्यांक आउन नसकिरहेका बेला भौतिक क्षतिका आधारमा गरिएको सम्पत्तीको मूल्यांकन गलत भएको र यस्ता प्रतिवेदनले अर्थतन्त्रमा नकरात्मक असर पर्न सक्ने सक्ने देखिएको छ ।

भदौ २७ गते शनिबार प्राधिकरणको प्रतिवेदनलाई आधार बनाएर सरकारी स्वामित्वदेखि निजी क्षेत्रका सञ्चार माध्यमहरुले प्राथमिकताका साथ कृषि विकास बैंकको विदुर शाखामा मात्रै ६५ करोड रुपैयाँको क्षति भएको समाचार सम्प्रेषण गरे । प्राधिकरणले नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकका आधारमा सो बैंकको क्षति विबरण प्रतिवेदनमा उल्लेख गरेको जनाएको छ । तर कृषि विकास बैंकले भने विदुर शाखामा कृषि विकास बैंकको ६५ करोड रुपैयाँ बराबरको क्षति भएको विबरणलाई अस्वीकार गरेको छ । नोटबजारसँग कुरा गर्दै बैंकका कम्पनी सचिव एवं प्रवक्ता हिमलाल पौड्यालले ६५ करोडको क्षति नभएको बताए । बैंक आफैंले हालसम्म क्षतिको यकिन तथ्यांक संकलन नगरेको बताएका उनले प्रारम्भिक तथ्यांकले भने प्रतिवेदनमा उल्लेख गरिए अनुसारको क्षति नभएको उनले नोटबजारलाई जानकारी दिए ।

क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको जनाएका उनले भने “बैंकले क्षतिको विवरण निकाली सकेको छैन । त्यो ६५ करोड कसरी आयो त्यस विषयमा मलाई थाहा भएन ।”

सरकारी स्वामित्वको राष्ट्रिय समाचार समितिले (रासस) ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदनलाई आधार बनाएर १२ वटा बैंकका १७ शाखामा ७२ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको समाचार लेखेको छ । समाचारमा कृषि विकास बैंकको ६५ करोड, सिटिजन्स बैंकको १ करोड ५६ लाख, ग्लोबल आइएमई बैंकको ११ लाख, हिमालयन बैंकको ७५ लाख, लक्ष्मी सनराइज बैंकको १ करोड १२ लाख, माछापुच्छ्रे बैंकको ७५ लाख, नबिल बैंकको ६३ लाख, एनआईसी एशिया बैंकका तीन शाखाको ८८ लाख, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका तीन शाखाको ४० लाख, एनएमबी बैंकको ४ लाख, प्रभु बैंकका दुई शाखाको ५३ लाख र सानिमा बैंकको ६३ लाख रुपैयाँ क्षति भएको उल्लेख छ ।

तर प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनमा भने कुन बैंकको कुन शाखामा कति क्षति भयो भन्ने बैंकगत विवरण राखिएको छैन । प्रतिवेदनमा नुवाकोटको विदुरमा चारवटा बैंक शाखामा ६७ करोड १३ लाख रुपैयाँको क्षति भएको उल्लेख गरिएको छ । यस्तै रसुवाको गोसाइँकुण्डमा ११ वटा शाखामा ४ करोड २३ लाख रुपैयाँ, कालिका गाउँपालिको एउटा शाखामा २८ लाख र उत्तरगयाको एउटा शाखामा ७५ लाख रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ ।

प्रतिवेदनअनुसार १२ वटा बैंकका १७ शाखामा भएको भौतिक क्षति ७२ करोड ४० लाख रुपैयाँ रहेको छ । प्राधिकरणका अनुसार बैंकिङ क्षेत्रको क्षतिको विवरण राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकको आधारमा गरिएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर तथा अध्ययन समिति प्रमुख सुशीलकुमार श्रेष्ठले बैंकिङ क्षेत्रमा भएको क्षतिको विवरण राष्ट्र बैंकले दिएको तथ्यांकका आधारमा समावेश गरिएको बताए । “क्षतिको विवरण राष्ट्र बैंकले दिएको तथ्यांकको आधारमा निकालिएको हो,” उनले भने, “राष्ट्र बैंकको समन्वयमा कुन शाखामा कति क्षति भयो भनेर १७ वटै शाखाको विवरण लिएर प्रतिवेदन तयार गरिएको हो ।”

बैंकगत आधारमा कुन शाखामा कति क्षति भएको छ भन्ने पुरै तथ्यांक आएको र सोहि आधारमा राखिएको उनको भनाई छ । “यसमा कच्चा अर्थात पूर्ण प्रमाणीकरण नभएका तथ्यांक आएको थियो, त्यो कति थियो मैले पनि एकचोटी फेरि हेर्नैपर्छ । तर राष्ट्र बैंकबाट आएको डाटा नै राखिएको हो,” उनले भने ।

प्रतिवेदनमा बैंकका भवन, उपकरण, एटीएम, भल्ट, काउन्टर लगायतका सम्पत्तिको क्षति समेटिएको उनले जानकारी दिए । बैंकिङ क्षेत्रको क्षति ७२ करोड ४० लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख भए पनि बैंकमा रहेको नगदलाई भने सो क्षतिमा समावेश नगरिएको उनले जानकारी दिए ।

प्रतिवेदनअनुसार प्रभावित शाखाहरूमा १९ करोड ५९ लाख रुपैयाँ नगद मौज्दात थियो । त्यसमध्ये एटीएममा १ करोड १७ लाख, भल्टमा १७ करोड २५ लाख र काउन्टरमा १ करोड १८ लाख रुपैयाँ रहेको उल्लेख गरिएको छ । उक्त नगदको वास्तविक अवस्था तथा पुनःप्राप्ति हुन सक्ने वा नसक्ने अवस्था यकिन भइनसकेको हुँदा क्षति भएको तथ्यांकमा उक्त विवरण समावेश नगरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । सार्वजनिक गरिएको प्रतिवेदनमा बैंकगत रूपमा १२ वटा बैंकको क्षति रकम खुलाइएको छैन ।

यस्तै, प्रतिवेदनले बैंकिङ क्षेत्रको पुनःस्थापनाका लागि १ अर्ब ८ करोड ६० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ । यसअन्तर्गत क्षतिग्रस्त शाखा तथा एटीएमको अवस्था मूल्यांकन गर्ने, अभिलेख तथा पुनःप्राप्त गर्न सकिने सम्पत्ति सुरक्षित गर्ने, अस्थायी रूपमा बैंकिङ सेवा सञ्चालन गर्ने तथा क्षतिग्रस्त संरचना र उपकरण मर्मत तथा प्रतिस्थापन गर्ने विषयको समेत अध्ययन गरिएको श्रेष्ठको भनाई छ ।

सरकारी स्वामित्वको कृषि विकास बैंकको सबैभन्दा धेरै क्षति भएको प्रतिवेदनमा उल्लेख गरिए पनि बैंकले दिएको प्रतिकृयाले भने प्राधिकरणको प्रतिवेदनलाई पूर्ण रुपमा विश्वसनीय मान्न नसकिने बनाएको छ ।

प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार  १७ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।