वैदेशिक लगानी भित्र्याउन सहज वाताबरण बन्यो : बैंक वित्तीय संस्था परिसंघ


बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले राष्ट्र बैंकले जारी गरेको विदेशी लगानी सम्बन्धि विनियमावलीले विदेशी लगानीकर्तालाई नेपालमा सहजै लगानी गर्न सक्ने वाताबरण बनेको जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै परिसंघले ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा विदेशी लगानी सम्बन्धी गरिएको व्यवस्था सकारात्मक रहेको ठहरसहित सो व्यवस्थालेलगानी अभावको अवस्थालाई समाधान गर्ने विश्वास लिएको छ ।

परिसंघले विगतदेखि नै उठाइरहेको विदेशी लगानी स्वीकृत गर्ने निकायबाट स्वीकृति पाएको अवस्थामा नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति आवश्यक नपर्ने व्यवस्था गर्नुपर्छ भन्ने धारणासहित रमष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई परिसंघले गत वर्षको असारमा सुझाव पेश गरेको थियो । यसका साथै परिसंघले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पनि सो सम्बन्धमा गत पुस १९ गते सुझाव पेश गरेको थियो ।

आफुहरुले दिएको सुझाव सम्बोधन भएको भन्दै सिविफिनले यसबाट नेपालमा विदेशी लगानी ल्याउन सहज हुने र देशले अहिले भोगिरहेको लगानी अभावको निमित्त मार्ग प्रशस्त गर्ने अपेक्षा गरेको छ ।
कोरोना भाइरस संक्रमण र सन्त्रासका कारण विश्व अर्थतन्त्रमा नै मन्दी आइरहेकोे बेला विश्वका धेरै देशले कोभिड विरुद्धको खोप लगाउन थालिएसकेका छन् ।

नेपालले पनि कोभिड विरुद्धको खोप लगाउन थाले यता आर्थिक कृयाकलाप चलायमान भएको आभाष भईरहे पनि लगानी अभावको अवस्था रहिरहेको परिसंघबो बुझाई छ । अबका दिनमा आर्थिक गतिविधि बढाउनको लागि ठूलो मात्रामा लगानीको आवश्यकता पर्ने बताएको परिसंघले सरकारले लिएको दीर्घकालिन सोच र चालु १५औं पञ्चवर्षीय योजनाले लिएका लक्ष्य पूरा गर्नको लागि पनि ठूलो परिमाणमा लगानी परिचालन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

कोभिड महामारी पछि विश्वका धेरै देशले लगानी आकर्षित गर्न विभिन्न प्रकारका योजना र राहत कार्यक्रमहरु संचालन गरिरहेको सन्दर्भमा नेपाल जस्तो देशले पनि बैदेशिक लगानी आकर्षित गर्न सहज लगानी मैत्री नीतिगत व्यवस्था र वातावरण सृजना गर्नु पर्ने परिसंघको भनाई छ । यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकले विदेशी लगानी ल्याउनको लागि गरेको नयाँ नीतिगत व्यवस्थाले विदेशी लगानी आकर्षित हुने, विभिन्न पूर्वाधारमा लगानी भइ आर्थिक क्रियाकलाप बढ्ने, रोजगारी सिर्जना हुने र समग्रमा दिगो आर्थिक बृद्धि तथा विकासमार्फत समृद्ध राष्ट्र निर्माण गर्ने आम नेपालीको राष्ट्रिय अभियानमा ठोस योगदान पुग्नेमा आशावादी रहेको सिविफिनको भनाई छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।