नबिल बैंकले चुक्ता पूँजी साढे १८ अर्ब पुर्‍यायो, अध्यक्षमा पौडेल दोहोरिए


 

नबिल बैंकले चुक्ता पूँजी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार रुपैयाँ पुर्‍याएको छ ।

गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई वितरण गर्न भनि प्रस्ताव गरेको ३३.६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेसँगै बैंकको चुक्ता पूँजी साढे १८ अर्ब रुपैयाँ  पुगेको हो । बैंकले उल्लेखित बोनससँगै ४.४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि शुक्रबारको ३७ औं साधारण सभाबाट पारित गरेको छ ।

साधारण सभाले संस्थापक शेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकमा उदय कृष्ण उपाध्याय र एनबी (ईन्टरनेशनल) लि. लाई प्रतिनिधित्व गर्दै उपेन्द्र प्रसाद पौडेल लाई निर्विरोध निर्वाचित गरेको छ । साधारण सभासँगै सम्पन्न बैंक सञ्चालक समितिको ५८८ औं बैठकले सञ्चालक समितिको अध्यक्षमा उपेन्द्र प्रसाद पौडेललाई दोहोर्याउने निर्णय पनि गरेको छ । २०७४ मंसिर १५ देखि एनबी (इन्टरेनशनल)लाई प्रतिनिधित्व गर्दै पौडेल सञ्चालक बनेका थिए ।

आर्थिक वर्ष २०७७/७८ मा निजी क्षेत्रका बैंकहरुमध्ये सबैभन्दा धेरै अर्थात ४ अर्ब ५३ करोड रुपैयाँ मुनाफा गरेको बैंकले जेथामा प्रतिफल १५.१९ प्रतिशत र प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ५७ पैसा कायम गरेको थियो ।

बैंकका अध्यक्ष पौडेलले नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकिकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्‍याउन सफल भएको बताएका थिए ।

बैंकले न्यून कार्वन अर्थतन्त्र, दिगो तथा समतामुलक भविष्य को लागि रणनीतिक रुपमा ग्रीन फाइनान्सिङमा थप लगानी गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

बैंकले स्थापनाकाल देखि हालसम्म १६ अर्ब भन्दा बढी रकम देशको राजश्वमा योगदान गरिसकेको छ । नबिल बैंकले १३५ वटा शाखाहरु, १८७ वटा एटिएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुमार्फत सेवा प्रदान गर्दै आएको छ ।

नबिलले बिहीबार मात्र नेपाल बंगलादेश बैंकलाई ५४ प्रतिशतको अनुपातमा आफूमा विलय गर्ने सम्झौता समेत गरेको छ ।

नबिलले ४३ रुपैयाँमा एनबी बैंक किन्न गर्याे सम्झौतापत्रमा हस्ताक्षर

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।