व्यवसायीका समस्या सर्वपक्षीय छलफलबाट समाधान गर्ने अर्थमन्त्री पौडेलको आश्वासन


बैंक वित्तीय संस्थाको व्याजदर तथा चालु पुँजी कर्जा मार्गदर्शनको विषयलाई लिएर आन्दोलनरत व्यवसायीलाई अर्थमन्त्री विष्णु प्रसाद पौडेलले समस्या समाधान गर्ने आश्वासन दिएका छन् ।

बुधबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा देशभरका विभिन्न जिल्ला नगर संघका पदाधिकारीहरुलाई छलफलमा बोलाएर बैंकको ब्याजदर तथा चालु पुँजी कर्जा मार्गदर्शनका सम्बन्धमा सम्बद्ध सबै पक्षसँग छलफल गर्ने बताएका हुन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समेत उपस्थित भएको छलफलमा व्यवसायीले उठाएका सबै विषय नभए पनि केही विषयलाई प्राथमिकता साथ सम्बोधन गर्न आफुले पहल गर्ने उनले आश्वासन दिए । राष्ट्र बैंक उद्योगी तथा व्यवसायी सबैसँग छलफल गरेर निर्णयमा पुग्ने उनले आश्वासन दिएका हुन् ।

तरलता समस्या सम्बोधन गर्न संरचनागत सुधारमा राष्ट्र बैंक, ५० अर्बको दिर्घकालिन रिपो

व्याजदरका साथै अन्य विविध विषयलाई केन्द्रमा राखेर विभिन्न जिल्लामा व्यवसायीहरुले पछिल्लो केही दिनदेखि आन्दोलन गरिरहेका थिए । सोही क्रममा अर्थमन्त्री नियुक्त भए लगत्तै मन्त्री पौडेलले सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी छलफलमा आउन व्यवसायीसँग आग्रह गरेका थिए ।

बुधबार मन्त्रालयमा भएको छलफलमा मोरङ व्यापार संघका अध्यक्ष नबीन रिजाल, नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रोष्ठ, बीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ता, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म प्रसाद न्यौपाने, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, उद्योग संगठन मोरङमा उपाध्यक्ष प्रदीप मुरारका, उद्योग वाणिज्य महासंघकी पुर्व अध्यक्ष भवानी राणा, महासंघकै पुर्व उपाध्यक्ष किशोर प्रधान लगायतका सहभागि थिए ।

भेटका क्रममा व्यवसायीले एक पछि अर्को गर्दौ समसामयिक समस्या र समाधानका सम्बन्धमा अर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ध्यानाकर्षण गराएका थिए ।

वार्ताको क्रममा अहिले जारी आन्दोलन स्थगित गरेर निर्णय पर्खिन पनि अर्थमन्त्री पौडेलले व्यवसायीलाई आग्रह गरेका थिए । अर्थमन्त्रीको आग्रह अनुसार नै व्यवसायीले हाल जारी आन्दोलन तथा बिरोधका कार्यक्रमलाई पुस २७ गतेसम्म स्थगन गर्ने निर्णय गरेका थिए । सो सम्बन्धमा बुधबार साँझ राजधानीमा पत्रकार सम्मेलन गरेर व्यवसायीले औपचारिक जानकारी समेत गराएका छन् । २७ गतेसम्म पनि आफ्ना मागका सम्बन्धमा सुनुवाई नभएको खण्डमा २८ गतेदेखि फेरी देशव्यापी आन्दोलन सुरु गर्ने व्यवसायीले बताएका छन् ।

उद्योग परिसंघ प्रदेश १, विराट व्यापार संघ, नेपाल घरेलु उद्योग महासंघ मोरङ, सुनचाँदी व्यवसायी संघका प्रतिनिधि पनि उक्त छलफलमा सहभागि थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।