राजधानीमा सुरु भयो सवारी साधनको कुम्भ मेला ‘नाडा अटो शो’, अर्थमन्त्री भन्छन् ‘नेपालमै सवारी साधन उत्पादन गर्ने बेला भयो’


सवारी साधनको कुम्भ मेला ‘नाटा अटो शो’ को १५ औं संस्करण राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको आयोजनामा राजधानीको भृकुटीमण्डपमा मंगलबार सुरु भएको अटो शोको अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेका हुन् ।

अटो शोको उद्घाटन गर्दै अर्थमन्त्री महतले नेपालमा नै सवारी साधनको उत्पादन थाल्नु पर्ने बताए । नेपालमा गाडी उत्पादन गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै उनले आयातित गाडीको मूल्य बढी पर्नुका साथै स्वदेशी मुद्रा बाहिरिने भएकाले स्वदेशमा नै सवारी साधन उत्पादन गर्नुपर्ने बताएका हुन् । यसका लागि सरकारले सहयोग गर्ने भन्दै उनले निजी क्षेत्रलाई देशमा नै गाडी उत्पादन गर्न र डिलरशीपलाई निरुत्साहित गर्न आग्रह गरे ।

निजी क्षेत्र अर्थिक रुपान्तरणको इन्जिन भएको भन्दै उनले लगानी प्रवर्दनका लागि सरकारले सहयोग गर्ने आश्वासन पनि दिए । वाह्य सूचकमा सुधार भएको दाबी गरेका उनले अब अर्थतन्त्र सकारात्मक हुने बताए । अर्थतन्त्र सुधार हुने भएकाले नै लगानी बढाउन उनले निजी क्षेत्रसँग आग्रह समेत गरे ।

६ दिनसम्म चल्ने एक्स्पोमा ठूला तथा साना गरी १२० वटा स्टल र ब्लक राखिएका छन् । विभिन्न ब्राण्डका सवारी, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै उत्पादक एवं वस्तु तथा सेवा प्रदायकले एक्स्पोमा सहभागिता जनाएका छन् । २२ वटा ब्राण्डका दुई पाङ्ग्रे, १६ ब्राण्डका चार पाङ्ग्रे, ३० ब्राण्डका लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा तथा उपकरण सहभागी भएको एक्स्पोमा ७ ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ ब्राण्डका वित्तीय संस्था तथा अन्य उपकरणका प्रदर्शनी कक्ष रहेको नाडा अटोमोबाइल्सले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आयात प्रतिबन्ध गर्दा सवारी साधनको व्यवसाय प्रभावित भएसँगै सरकारको राजश्व प्रभावित भएकोतर्फ अर्थमन्त्री महतको ध्यानाकर्षण गराएका थिए । श्रीलंकाको आर्थिक अवस्था बन्छ भन्ने त्रासमा आयातमा प्रतिबन्ध लगाउँदा सरकारको राजस्व संकलन नै प्रभावित भएको उनको भनाई थियो ।

अटो मात्र नभई अन्य कुनै पनि क्षेत्रको आयात रोक्ने नभई आर्थिक त्रृmयाकलाप बढाउने किसिमको नीति बनाउनुपर्नेमा उनले जोड दिएका थिए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले निजी क्षेत्रको मनोबल बढाउने काम गर्न अर्थमन्त्री महतसँग आग्रह गरेका थिए । व्याजदर उच्च विन्दुमा पुगेका बेला धमाधम सम्पत्ती लिलाम गर्ने अवस्था आउँदा निजी क्षेत्र समस्यामा परेको उनको भनाई थियो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राज्यका सबै निकायबाट निजी क्षेत्रले सहयोग र संरक्षकको भूमिका नपाएको बताए । उल्टै त्यस्ता निकायबाट दुख दिने काम बढेर गएको उनको आरोप थियो ।

नाडा अटोमोबाइल एसोसियसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले सवारी कर्जाको जोखिम भार ७५ प्रतिशत कायम गर्न अर्थमन्त्री महतसँग आग्रह गरेका थिए । सवारी साधनलाई विलासिताको वस्तुबाट हटाउँदै अत्यावश्यक वस्तुमा वर्गीकरण गरी अटो व्यवसायलाई सोही अनुरुपको सहयोग गर्न पनि उनले अर्थमन्त्री महतसँग आग्रह गरेका थिए ।

२० अर्बको कारोबार हुने अपैषा गरिएको एक्स्पोलाई टाटा मोटर्स जेन्युन आयलले शीर्ष प्रायोजन गरेको छ भने सह प्रायोजकमा शिखर इन्स्योरेन्स रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।