काठमाडौँ । सरकारले प्रत्येक वर्ष असार १५ गते धान दिवस मनाउँदै आएको छ । सन् २००४ देखि सरकारले असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आएको छ ।
देशभर विभिन्न कार्यक्रम आयोजना गर्दै नेतादेखि उच्च पदस्थहरू खेतमा उत्रिएर प्रतीकात्मक रोपाइँमा सहभागी भइरहेका छन् । तर, यता धानको आयात भने घट्न सकेको छैन । जसले नीति र व्यवहारबीच गम्भीर विरोधाभास देखाएको छ ।
धान दिवसमा नेताहरू खेतमा देखिन्छन्, तर वर्षभरि कृषकलाई मल, सिँचाइको पहुँच सुनिश्चित गरिँदैन । बर्सेनि धानचामरल आयात बढ्दै गएको अवस्थामा फोटोसेसन मात्र गरेर कृषि प्रवर्द्धन हुन्छ त ? भन्ने प्रश्न खडा भएको छ ।
३ प्रश्नको आजको अंकमा हामीले धानबाली विज्ञ सुशीलराज सुवेदीसँग धान दिवसको अवसरमा कुरा गरेको छौँ ।
-
बर्सेनि धान दिवसमा संलग्न हुने नेताहरूले वास्तविक नीति निर्माणमा किन ध्यान नदिएको होला ? उच्च पदस्थहरू रोपाइँमा सहभागी हुनुलाई के मान्ने ?
यसलाई आलंकारिक रूपमा लिनुपर्छ । हामी धानलाई माया गर्छौँ र हाम्रो मुख्य खाद्यान्न धान हो भन्ने कुरा दर्शाएको हो । यसलाई सकारात्मक रूपमै लिनुपर्छ ।
कृषि नीतिमा सुधार नभएको होइन । कृषि नीतिमा प्रष्ट लेखिएको छ, १६औँ पञ्चवर्षीय योजनामा पनि उल्लेख गरिएको छ । आगामी आर्थिक वर्षको बजेटमा २ वर्षमा धानमा आत्मनिर्भर हुने उल्लेख गरिएको छ ।
धान दिवसको अवसरमा उच्च पदस्थ व्यक्तिहरू आउनु भनेको कृषिमा आममानिसलाई आकर्षण बढाउन र नेपालीहरू धान रोपाइँलाई उत्सवका रूपमा मनाउँछन् भन्ने संकेतका रूपमा लिनुपर्छ ।
-
तर, हरेक वर्ष अर्बाैं रुपैयाँको धानचामल आयात हुने गरेको छ । यसलाई कसरी लिने ?
धानचामल आयातमा ३८ अर्ब रुपैयाँ बाहिरिएको देखिएको छ । तर, हाम्रो आन्तरिक उत्पादन भएन भन्न मिल्दैन । आन्तरिक उत्पादन पनि ५४ लाख मेट्रिक टन पुगेको छ ।
हामीलाई नपुगेको धान आयात गर्नुपर्छ । कुनै वर्ष ५४ अर्ब रुपैयाँको धान तथा चामल आयात भएको तथ्यांक पनि छ । त्यसको तुलनामा आयात घटेको छ । उत्पादन पनि बर्सेनि बढिरहेकै छ । अपुग भएको पनि पूर्ति गर्न हामी प्रयत्न गरिरहेकै छौँ ।
उत्पादनमा धेरै कुराहरूले प्रभाव पार्ने गरेको छ । मल, सिँचाइ, समयमा वर्षा नहुने यावत् कुराहरूले धान उत्पादनमा कमी आएको छ । सरकारले अर्बाैं रुपैयाँ मलमा खर्च गरे पनि आवश्यकताभन्दा आधा मात्र आयात गर्न सकेको अवस्था छ ।
अहिले बढी मात्रामा आयात भइरहेको मसिनो र बास्नादार चामल बढी छ । ती धानको उत्पादन पनि बढाउन सकेमा आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ ।
-
सरकारले उत्पादन पनि बढेको दाबी गरेको छ । आयात पनि बढेको छ । यो विरोधाभास किन भइरहेको छ ?
हाम्रोमा ५६ लाख मेट्रिक टन धान उत्पादन भएको छ । करिब २४–२५ लाख मेट्रिक टन आयात गर्नुपर्ने अवस्था छ । खेतीयोग्य जमिन घट्दै गएको छ । जमिन बढाउन सकिँदैन । दोहोरो धान बालीमा जानुपर्छ ।
चैते धान १ लाख २० हजार हेक्टरमा हुन्छ, यसलाई बढाएर ३ लाख हेक्टर पुर्याउन सकेमा उत्पादन बढ्छ । यसबाट १० देखि १५ लाख टनसम्म उत्पादन बढाउन सकिन्छ । अनि मिलिङको पनि समस्या रहेको छ । मिलिङलाई पनि अलिकति सुधार गर्ने र विकासमा ध्यान दिनुपर्छ ।
साथै मल र सिँचाइको राम्रो सुविधा व्यवस्था हुनुपर्छ । सिँचाइ र मल समयमै प्राप्त भएको अवस्थामा ७ लाख टन बर्खे धानको उत्पादन बढाउन सकिन्छ ।












प्रतिक्रिया