काठमाडौँ । पछिल्लो सयम अन्तर्राष्ट्रिय स्तरमा सौर्य ऊर्जाको विकास तथा प्रवर्द्धन बढ्दै गएको छ । नेपाल सरकारले पनि सौर्य ऊर्जाको विकासका लागि भनेर कार्यविधि निर्माण गरेको छ ।
नवीकरणीय ऊर्जा प्रवर्द्धन गरिने भनेर बजेटमा पनि समावेश गरिएको छ । सौर्य ऊर्जा उत्पादन गर्न सजिलो, कम लागत र अन्य विभिन्न दृष्टिकोणबाट पनि फाइदाजनक रहेको बताइन्छ ।
- ३ प्रश्नको आजको अंकमा हामीले जैविक ऊर्जा व्यवसायी संघका उपाध्यक्ष कुबेरमणि नेपालसँग यिनै विषयमा कुरा गरेका छौँ ।
सौर्य ऊर्जा प्रवर्द्धनका लागि हालसम्म के–के भएको छ ? सरकारले नीतिगत र कार्यक्रमगत रूपमा के गरिरहेको छ र निजी क्षेत्रले कसरी काम गरिरहेको छ ?
सौर्य ऊर्जा विकासका लागि सरकारले नवीकरणीय ऊर्जाअन्तर्गत सौर्य विद्युत् कार्यविधि ल्याएर सञ्चालनमा छ । यद्यपि अहिलेसम्म ऐनको रूपमा आएको छैन, कार्यविधिमार्फत् नै काम भइरहेको छ ।
अहिले घामको विकिरणलाई सोलार पाताबाट विद्युत् उत्पादन गरेर इन्भर्टरको मद्दतले ब्याट्रीमा स्टोरेज नगरेर सीधै ग्रिडमा लाने प्रविधिको विकास भएको छ । यो प्रविधिअनुसार हाल करिब ११० मेगावाटका आयोजनाहरू बनिसकेका छन् । अरु आयोजना बन्ने क्रममा छन् ।
सरकारले ९६० मेगावाटका लागि हालै टेन्डर प्रकाशित गरेको थियो । ती आयोजना पनि विकास हुँदै छन्, पछिल्लो समय सौर्य ऊर्जाको विकास राम्रै भइरहेको अवस्था छ । सरकारले हाइड्रो ऊर्जाअन्तर्गत् नै यसलाई राखेर अगाडि बढाएको छ ।
-
राष्ट्रिय ऊर्जा रणनीतिमा भविष्यमा सौर्य ऊर्जाको योगदान कस्तो रहला ?
यसमा प्रचुर सम्भावना छ । संसारभरि अहिले तीव्र विकास भइरहेको भनेको सौर्य ऊर्जा नै हो । यसले एकदमै ठुलो गति लिएको छ । यसले राम्रो फट्को मारेको हामी पाउँछौँ ।
जुन ढंगले संसारमा विकास भएको छ, हाम्रो मुलुकमा भने त्यसरी हुन सकेको छैन । भारतमा मात्र पनि पछिल्लो समय लगभग ७५ हजार मेगावाटको सौर्य प्लान्ट निर्माण गरिसकेको छ । उसले करिब १ लाख मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने अवस्थामा पुगिसकेको छ ।
हामी करिब १०० मेगावाटमा मात्र छौँ । अब हामीले सोलार पावर तीव्र गतिमा विकास गर्नुपर्ने आवश्यकता छ । सोलार ऊर्जाले दिउँसोको समयको मागलाई पूर्ति गर्छ र हाइड्रोपावरको दिउँसोको ऊर्जा सञ्चित गर्न सहयोग गर्छ । त्यसकारण यो हाम्रो देशका लागि महत्वपूर्ण छ ।
हरेक बर्खामा लगभग १० प्रतिशत पावर हाउसमा बाढीले क्षति पुर्याउने समस्या आउँछ । यसमा पनि सोलार पावर विकल्पका रूपमा देखिएको छ । पहाडमा उत्पादन गरेको बिजुली तराईमा पुर्याउनुपर्ने हुन्छ । यसमा धेरै बिजुली बाटोमै नास भइसकेको हुन्छ । त्यो क्षति कम गर्न पनि सौर्य ऊर्जा महत्वपूर्ण छ ।
हामीले सोलारका लागि कर, रोयल्टी केही पनि तिर्नुपर्दैन । हाम्रो मुलुकमा करिब ३०० दिन घाम लाग्छ, त्यसकारण हामीसँग उत्पादन गर्ने क्षमता धेरै छ ।
सौर्य ऊर्जा प्रवर्द्धनमा सरकारले कस्तो नीति लिनुपर्छ जस्तो लाग्छ ?
सरकारले उब्जनी नहुने बाँझो स्थानहरूमा सोलार पार्क बनाउने, व्यवसायीहरूलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ । जस्तो– अहिलेको अवस्थामा मनाङ, मुस्ताङ, जहाँ बाली उत्पादन हुँदैन, राम्रो घाम लाग्छ, त्यस्तो स्थानमा ठुलो सोलार पार्क निर्माण गर्न सकिन्छ ।
त्यहाँ व्यापारीहरूलाई टेन्डर गराइदिने, ट्रान्समिसन लाइन सरकारले निर्माण गरिदिने, जग्गा सरकारले मिलाएर राखिदिने, जग्गाको सरकारले भाडा लिने अनि लगानीकर्तालाई प्रतिस्पर्धाबाट सोलार निर्माण गर्न लगाउने । यसो भएमा एकै स्थानमा धेरै उत्पादन हुन्छ । बाँझो जग्गाको पनि प्रयोग हुन्छ ।
सातै प्रदेशमा एक/एक सोलार पार्क मात्र निर्माण गर्न सकेमा धेरै फाइदा हुन्छ । यसमा हामी घरको खाली छत पनि प्रयोग गर्न सक्छौँ । बारीको कान्लामा सोलार राखेर पानी पम्पिङ गर्न सक्छौँ । यसले गर्दा हामीले भोल्टेज लस, ट्रान्समिसन लस आदि भोग्नुपर्दैन । हरेक कुराले सोलारको फाइदा छ । यसको बेफाइदा भनेको घाम नलागेको बेला उत्पादनमा कमी आउनेमात्रै हो ।












प्रतिक्रिया