काठमाडौँ । नेपालबाट निर्यात हुने वस्तुहरुमध्ये तेलको हिस्सा ४६.६ प्रतिशत रहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक (साउन–कात्तिक)मा ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको छ । सोही अवधिमा नेपालले कुल निर्यातको ४६.६ प्रतिशत अर्थात् ४३ अर्ब ५२ करोड ८८ लाख रुपैयाँ बराबरको तेल पठाएको छ ।
नेपालले निर्यातबाट अर्बौ आम्दानी गर्न सक्ने तेलको कच्चा पदार्थ भने तेस्रो मुलुकबाट नै आयात हुन्छ । नेपालले २ दर्जन बढी देशहरुबाट कच्चा तेल आयात गरी त्यसलाई प्रशोधन गरेर भारतमा निर्यात गर्ने गरेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार कुल निर्यातको पहिलो स्थान सोयाबिन तेलले ओगटेको छ । चार महिनामा सोयाबिन तेल ३८ अर्ब ४३ करोड रुपैयाँ बराबर निर्यात भएको छ । यता, कात्तिकसम्म आयात भएका वस्तुमा सबैभन्दा अगाडि कच्चा सोयाबिन तेल नै रहेको छ । जुन ३७ अर्ब ८६ करोड रुपैयाँ बराबर आयात भएको छ ।
उक्त तथ्यांकले नेपालले तेल उत्पादनमा प्राथमिकता दिने भन्दा पनि कच्चा तेल आयात गरी भारत निर्यातमा नै जोड दिइरहेको देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा २६ हजार हेक्टरमा भटमास खेती गरिन्छ । यसबाट वार्षिक करिब ३ लाख टन उत्पादन हुन्छ । जबकी नेपालमा भटमासको तेलको माग साढे ३ लाख टन हुन्छ ।
तेलहन (तोरी, आलस, सनफ्लावर) खेती २ लाख ६१ हजार ४ सय ३२ हेक्टरमा हुन्छ । यसबाट वार्षिक २ लाख ७४ हजार ५ सय ४ टन उत्पादन हुन्छ । उक्त उत्पादन स्वदेशी उपभोक्तालाई नै पुग्दैन । देशभित्र आफैंलाई पुग्ने भटमास पनि उत्पादन गर्न असमर्थ नेपालले भटमास कै तेल उच्च परिमाणमा निर्यात गर्दै छ ।
यसरी नेपालले वस्तु उत्पादन र निकासीभन्दा छलछामको कारोबारमा जोड दिएका कारण अन्तर्राष्ट्रिय व्यापारमा नेपालको विश्वसनीयता लगातार खस्किइरहेको छ। भारतले पनि अन्य मुलुकबाट आउने कृषिजन्य पदार्थमा लगाएको कर वृद्धिका कारण नेपालबाट नै तेल आयात गर्दै आएको छ ।
नेपालको तेल व्यापार भारतको भरथेगका कारण नै चलेको जानकारहरु बताउँछन् । भारत सरकारको नीतिमा नेपालको वैदेशिक व्यापार चलेको नेपाल उद्योग वाणिज्य महासङ्घको निर्यात प्रवर्धन समितिका अध्यक्ष नरेशलाल श्रेष्ठले बताए ।
“यसको मूल कारण भारत सरकारको नीतिमा निर्भर रहेको देखिन्छ। उसले त्यहाँ कच्चा भटमास तेलमा भन्सार लगाएकोभन्दा यताबाट लैजाँदा सस्तो पर्ने हुँदा तेलको निर्यात बढेको हो,“ अध्यक्ष श्रेष्ठले भने ।
दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) सम्झौता अनुसार, नेपालबाट निर्यात हुने कृषिजन्य वस्तुमा भन्सार महसूल न्यून छ। साफ्टाअन्तर्गत नेपालले कृषिजन्य वस्तु निर्यात गर्दा कृषि विकास शुल्क (करिब ५ प्रतिशत) मात्रै तिरे पुग्छ, भारतले अन्य मुलुकबाट आयात गर्दा भने भन्सार र कृषि विकास शुल्कसमेत गरेर ३५.७५ प्रतिशत तिर्नुपर्छ । नेपाल–भारत व्यापार सन्धिमा ‘भ्यालु एड’ ३० प्रतिशत भए पुग्ने व्यवस्था छ, अन्य मुलुकका लागि भने ४० प्रतिशतसम्म ‘भ्यालु एड’ गर्नपर्छ ।
विगतमा पाम तेलको निर्यात परिमाण बढ्दा कुल निर्यात नै ह्वात्तै बढेको र भारतले तेल आयातमा प्राितवन्ध लगाएसँगै नेपालको निर्यात घटेको उदाहरण दिँदै उनले छिमेकी देशको नीतिअनुसार नेपालको वैदेशिक व्यापार निर्धारण हुने गरेको बताए ।
“भारतमा यसको कच्चा पदार्थमा रहेका केही नियन्त्रणले गर्दा यहाँ ल्याएर त्यसलाई अर्ध प्रशोधित गरेर भारतमा निर्यात गर्न दिएका कारण निर्यात बढेको हो,“ उनले भने।
यो वृद्धिलाई दिगो निर्यात मान्न नसकिने उनी बताउँछन्। “यो त भारतको दयामायामा निर्भर छ,“ श्रेष्ठले भने ।
चालु आर्थिक वर्षको सुरुवाती चार महिनामा भारतबाट नेपालमा ३ खर्ब ३७ अर्बको वस्तु आयात भएको छ । नेपालबाट भारततर्फ ७६ अर्ब ५० करोडको वस्तु निर्यात भएको छ ।
विभागका अनुसार तेलको निर्यातले नै कुल वैदेशिक व्यापारको आकार ४ महिनामा ७ खर्ब २ अर्ब ९४ करोड पुगेको हो । कात्तिकसम्म व्यापार घाटा ११.९९ प्रतिशतले बढेर ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ कायम भएको विभागको तथ्यांक छ ।
यस अवधिमा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ४.४१ प्रतिशत घटेर ८६.७० प्रतिशतमा कायम रहेको देखिन्छ । निर्यातको हिस्सा ४२.९४ प्रतिशतले बढेर १३.३० प्रतिशतमा कायम भएको छ भने कुल निर्यातमा खाने तेलको हिस्सा करिब ४४ प्रतिशत छ ।
नेपालले भारतको भरमा वैदेशिक व्यापार गरिरहेको उनको तर्क छ । नेपालले विगतका वर्षहरुबाट पाठ सिकेर भारतको विकल्प खोज्नुपर्ने उनले बताए ।
दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) सम्झौता अनुसार, नेपालबाट निर्यात हुने कृषिजन्य वस्तुमा भन्सार महसूल न्यून छ। साफ्टाअन्तर्गत नेपालले कृषिजन्य वस्तु निर्यात गर्दा कृषि विकास शुल्क (करिब ५ प्रतिशत) मात्रै तिरे पुग्छ, भारतले अन्य मुलुकबाट आयात गर्दा भने भन्सार र कृषि विकास शुल्कसमेत गरेर ३५.७५ प्रतिशत तिर्नुपर्छ । नेपाल–भारत व्यापार सन्धिमा ‘भ्यालु एड’ ३० प्रतिशत भए पुग्ने व्यवस्था छ, अन्य मुलुकका लागि भने ४० प्रतिशतसम्म ‘भ्यालु एड’ गर्नपर्छ ।
जसले गर्दा नेपालका व्यापारीहरूले पाम, भटमास‚ सूर्यमुखीको तेल आदि यूरोपदेखि दक्षिण अमेरिकासम्मबाट मगाएर भारत निर्यात गर्ने गरेका छन् । जसले गर्दा व्यापारीहरु फाइदा लिइरहेका छन् भने सरकारलाई पनि धेरथोर राजस्व आम्दानी भएको छ।
भारतमा भन्सार कम हुनाले नै तेलको निर्यात बढेको वाणिज्य विज्ञ रवि सैंजुले बताए । ‘निर्यातमा छुट र उद्योगीलाई अग्रिम भुक्तानी सुविधाले तेलको निर्यात धेरै भएको देखिन्छ,’सैंजुले भने, ‘यसले दीर्घकालीन फाइदा गर्दैन ।’
नेपालले स्वदेशी उत्पादनमै जोड दिनुपर्ने उनी बताउँछन् । नेपालले भारतको भरमा वैदेशिक व्यापार गरिरहेको उनको तर्क छ । नेपालले विगतका वर्षहरुबाट पाठ सिकेर भारतको विकल्प खोज्नुपर्ने उनले बताए ।
सैंजुले भने ‘भारतले बेला बेला निउ खोजिरहन्छ । गत वर्षको मागमा भारतले पाम आयातमा प्रतिवन्ध लगाउँदा नेपालमा प्रशोधित पाम बिक्रीमा समस्या आएको थियो । उद्योगहरु नै समस्यामा परेका थिए । त्यसैले नेपालले विकल्प खोज्नुपर्छ ।’
चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा सोयाविन तेल ३८ अर्ब ४३ करोड ३ लाख रुपैयाँ बराबरको सोयाविन तेल आयात भएको छ । १८ करोड ५३ लाख ५५ हजार केजी तेल निर्यात भएको हो ।
यस्तै , सूर्यमुखी तेल २ अर्ब ७३ करोड २८ लाख ७६ हजार रुपैयाँ बराबरको १ करोड ४२ लाख ४० हजार लिटर निर्यात भएको छ भने २ अर्ब ३६ करोड ५६ लाख रुपैयाँ बराबरको १ करोड ३० लाख ८१ हजार लिटर पाम निर्यात भएको छ ।
आर्थिक वर्ष ०८१/८२ मा भटमास, सूर्यमुखी र पाम तेल १ खर्ब २१ अर्ब ५२ करोड बराबरको निर्यात भएको छ । त्यही वर्ष १ खर्ब ४४ अर्ब ७८ करोडको भटमास, सूर्यमुखी, पामको कच्चा पदार्थ आयात भएको तथ्यांक छ । कच्चा पदार्थको आयात पनि अघिल्लो वर्षको तुलनामा अस्वाभाविक रूपमा तेब्बर भएको तथ्यांक छ । ०८०/८१ मा भने ४१ अर्ब ९३ करोडको कच्चा तेल आयात भएको थियो ।
यता, आर्थिक वर्ष ०८१÷८२ मा भटमासको तेल मात्रै १ खर्ब ६ अर्ब ९९ करोडको निर्यात छ । जबकि, अघिल्लो वर्ष ९० करोडको मात्र भटमासको तेल निर्यात भएको थियो । गत आर्थिक वर्षमा १२ अर्ब ३२ करोडको निर्यात भएको छ । आर्थिक वर्ष ०८०/८१ मा भने १६ करोडको सूर्यमुखीको प्रशोधित तेल निर्यात गरिएको थियो ।
भटमासको तेल (कच्चा) को आयात आव ०८१/८२ मा १ खर्ब ८ अर्ब ९५ करोड पुगेको छ । अघिल्लो वर्ष १३ अर्ब ५१ करोडको मात्र भटमासको तेलको कच्चा पदार्थ भित्र्याइएको थियो । सूर्यमुखी तेल (कच्चा) को आयात आव ०८०/८१ मा १७ अर्ब ८३ करोड रहेकामा ०८१/८२ मा बढेर २९ अर्ब २ करोड पुगेको छ ।










प्रतिक्रिया