बैंकिङ्ग प्रणालीको सुरक्षाप्रति चासो र चिन्ता, तत्काल चाल्नुपर्ने कदम के ?


काठमाडौँ । विगत २० दिनदेखि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन प्रहरीको हिरासतमा छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई बैंकिङ कसुरमा पक्राउ गरेको हो । उनीसहित बैंकका विभिन्न तहका कर्मचारीलाई पक्राउ गरेको थियो, जो अहिले सँगै हिरासतमै छन् ।

सीआईबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ – राष्ट्र बैंकबाट भएको निर्देशन तथा प्रचलित कानुनविपरीत काम गरी प्रभु बैंकलाई हानीनोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुका नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने, गराउने कसुरमा संलग्न रहेको…।’

प्रभु बैंकका उच्च तहका कर्मचारी पक्राउको घटनापछि फेरि बैंकिङ क्षेत्रप्रति चासो र चिन्ता बढेको छ । ७५ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप बैंकमा राख्ने निक्षेप कर्ता र ५६ खर्ब ६९ अर्ब रुपैयाँ बैंकबाट ऋण लिएका ऋणीहरू मात्र हैन, आम सर्वसाधारणमा समेत बैंकिङ क्षेत्रप्रतिको चासो र चिन्ता बढेको छ ।

नेपालको सबै क्षेत्रभन्दा पारदर्शी क्षेत्र हो बैंकिङ क्षेत्र । यसलाई पारदर्शी बनाउका लागि छुट्टै, बलियो र शक्तिशाली नियामक निकायको रुपमा नेपाल राष्ट्र बैंकले काम गरिरहेको छ । राष्ट्र बैंकले हरेक समय नजिकबाट नियाल्ने यस क्षेत्रमा कसुरजन्य काम कसरी सम्भव छ ? सर्वसाधारणमा समेत यो चासो बढेको छ ।

बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गरेका आम सर्वसाधारणमा ‘मेरो पैसा सुरक्षित छ त ?’ भन्ने शंका पैदा भएको छ । यस्तो अवस्थामा नियामक निकाय राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाले आम सर्वसाधारणको आशंका निवारण गर्ने उपाय तत्काल पहिल्याउनु पर्ने आवश्यकता टड्कारो बनेको छ ।

सहकारी क्षेत्रमा देखिएको बचत फिर्ता नभएको अवस्थामा बैंकमा पनि त्यस्तै जोखिम हुने त होइन भन्ने चिन्ता सर्वसाधारणलाई छ ।

त्यसमाथि पनि केही बैंकहरूमा देखिएका विभिन्न घटना र सीआईबीले गरिरहेको अनुसन्धानका कारण पनि बैंक तथा वित्तीय क्षेत्रमा सेवाग्राही चिन्तित छन् । बैंकिङ प्रणालीमै समस्या आउने गरी केन्द्रीय बैंकको नियमन किन कमजोर भयो ? सबैलाई चासोको विषय बनेको छ ।

खासगरी केन्द्रीय बैंकले नियमित जसो बैंकहरूलाई नियमन गरिरहेका हुन्छन् । आवश्यक पर्दा आकस्मिक अनुगमन समेत गर्ने गरेको छ । तर यसरी अनुगमन र नियमन भइरहने क्षेत्रमा नै यति ठूलो चुनौति कसरी ? राष्ट्र बैंकले यसको जवाफ दिनुपर्ने अवस्था सिर्जना भएको छ । अहिलेसम्म राष्ट्र बैंकले कमजोर नियमन गरिरहेको थियो ? या अहिले जटिलता थपिएको हो ? यो पनि राष्ट्र बैंकले सोच्नुपर्ने समय आएको जानकारहरू बताउँछन् ।

बैंक तथा वित्तीय संस्थामा कहिलेकाहीँ प्राविधिक समस्या आउनु स्वभाविक भए पनि यसमा समयमै सबै सचेत हुनुपर्ने पूर्वबैंकर भरत दाहाल बताउँछन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको नियमनमा कडाइ गर्नुपर्ने उनले बताए ।

उनले भने, ‘नियमनकारी निकाय राष्ट्र बैंकले प्रत्येक वर्ष निरीक्षण गर्छ प्रत्येक महिना, हप्ता र दिन रिपोर्ट संकलन गरिरहेको हुन्छ । तर, पछिल्‌लो समयका घटनाक्रम हेर्दा कहीँ न कहीँ कमजोरी छ भन्ने कुरा स्वीकार्नैपर्छ । रिक्स बेस्ड सुपरभिजनलाई बलियो बनाउनुपर्छ ।’

दाहालका अनुसार राम्रा बैंकहरूलाई प्रोत्साहन गर्ने र उनीहरूलाई आफ्‌नो हिसाबले काम गर्न दिने हो भने खराब अवस्थामा रहेका अन्य बैंकहरूलाई पनि प्रेरणा मिल्‌ने थियो । यसका लागि आवश्यक नीतिगत सुधार गर्नुपर्ने उनको सुझाव छ ।

उनले भने, ‘राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिलाई सबल र सक्षम व्यक्तिलाई मात्र कार्यकारी प्रमुख नियुक्त गर्न निर्देशन दिनुपर्छ । साथै, निरीक्षण गर्दा मिहिन ढंगले फ्रड (ठगी) का विषयमा गम्भीर भएर अध्ययन गर्नुपर्छ ।’
बैंकहरूमा लगानीयोग्य रकम थुप्रिने तर कर्जा लगानीमा संकुचन आउने स्थितिले बैंकको नाफामा गिरावट आएको छ ।

यो अवस्थाले आम सर्वसाधारणमा समेत मनोवैज्ञानिक असर परेको अर्थविद्हरूको बुझाइ छ । विशेषगरी सहकारी क्षेत्रमा देखिएको समस्याले समग्र वित्तीय क्षेत्रप्रति आशंका बढाएको अर्थविद् चन्द्रमणि अधिकारी बताउँछन् । उनले भने, ‘अहिले बजारमा देखिएको आशंकाको मुख्य जड सहकारी क्षेत्र हो । सरकारले सहकारीलाई समयमै उचित नियमन गर्न नसक्दा त्यसको बाछिटा समग्र वित्तीय क्षेत्रमा पर्यो र जनतामा शंका पैदा भयो ।’

यद्यपि, नेपालका वाणिज्य बैंकहरूको हकमा भने डराउनुपर्ने अवस्था नरहेको उनले स्पष्ट पारे । अधिकारीका अनुसार बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंक पुरानो र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको भएकाले बैंकहरू सुरक्षित छन् । तर, ब्याजदरमा लगातार आइरहेको गिरावटले भने चुनौती थपेको छ ।

बचतकर्ता र बैंक दुवैको अवस्था उस्तै रहेको उल्लेख गर्दै उनले भने, ‘ब्याजदर घट्दा बचतकर्तामा निराशा पैदा भएको छ भने लगानी नउठ्दा र कर्जा प्रवाह नहुँदा बैंकहरू पनि दबाबमा छन्‌ । अर्थतन्त्रमा यो नितान्त नयाँ चुनौतीका रूपमा खडा भएको छ, जसलाई सामान्य रूपमा लिनु हुँदैन ।’

अर्थविद् अधिकारीले यस्तो अवस्था लामो समयसम्म रहिरहे अर्थतन्त्रमा गम्भीर दुर्घटना निम्तिन सक्ने चेतावनी दिए । समस्या समाधानका लागि नियामक निकायको सामान्य प्रयास मात्र पर्याप्त नहुने उनको तर्क छ ।

आगामी जोखिमबारे बताउँदै उनले भने, ‘यस्तो अवस्था कायम रहेमा देशबाट पुँजी पलायन हुने जोखिम बढ्छ र विदेशी लगानीमा पनि गिरावट आउँछ । यसले औपचारिक अर्थतन्त्रलाई कमजोर बनाउँदै हुन्डी जस्ता अवैध कारोबारलाई बढावा दिने खतरा रहन्छ । त्यसैले राष्ट्र बैंकले मात्र होइन, सरकार र अर्थ मन्त्रालयले नै यसमा ‘कार्यकारी हस्तक्षेप’ गर्नुपर्ने बेला आएको छ ।’

यी सबै समस्याको समाधानका लागि मूलतः राजनीतिक स्थिरता चाहिने उनको बुझाइ छ । स्थिर र स्वच्छ राजनीतिले मात्र अनिश्चितताको अन्त्य गरी लगानीको वातावरण बनाउन सक्ने उनले बताए ।

विश्वासको वातावरण बनाउनुपर्ने बताउँदै उनले भने, ‘अर्थतन्त्र र बैंकिङ क्षेत्र भनेको विश्वासले चल्‌ने हो । अहिले गुमेको विश्वास फर्काउन प्रशासनिक झन्झट हटाउँदै कानुनलाई सरलीकृत गर्नुपर्छ ।’

साथै, बैंक तथा वित्तीय संस्थाहरूले पनि आफ्‌नो भूमिका बदल्‌नुपर्ने सुझाव उनले दिएका छन् । कर्जा प्रवाह गर्ने परम्परागत शैली मात्र अब पर्याप्त नहुने उनको भनाइ छ । उनले भने, ‘अब बैंकहरूले पैसा दिने साहुको भूमिका मात्र निर्वाह गरेर हुँदैन । ऋणीलाई कर्जासँगै प्राविधिक सहयोग, बजारको ज्ञान र सहजीकरण पनि गर्नुपर्छ, तब मात्र कर्जा सुरक्षित हुन्छ र अर्थतन्त्र चलायमान हुन्छ ।’

तर राष्ट्र बैंकले बाहिर आएजस्तो वित्तीय प्रणालीमा कुनै गम्भीर समस्या नरहेको दाबी गर्दै नियमन र सुपरिवेक्षणको कार्यलाई अझ मिहिन ढंगले अगाडि बढाइरहेको जनाएको छ ।

केन्द्रीय बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले खर्बौंको कारोबार र करोडौँ ग्राहक जोडिएको विशाल वित्तीय सञ्जालमा फाट्टफुट्ट देखिने एक दुई घटनालाई लिएर समग्र प्रणालीमै अविश्वास गर्नु तर्कसंगत नहुने बताए । उनले बैंक तथा वित्तीय संस्थाहरू अर्थतन्त्रको मेरुदण्ड मात्र नभई आम नागरिकको दैनिक जीवनको अभिन्न अंग भइसकेको उल्लेख गर्दै यस्ता घटनालाई अपवादको रूपमा बुझिदिन आग्रह गरे ।

बैंकिङ क्षेत्रको महत्त्व धेरै रहेको प्रष्ट पार्दै प्रवक्ता पौडेलले भने, ‘कुनै पनि देशको अर्थतन्त्र बैंक तथा वित्तीय संस्था बिना प्राणविहीन हुन्छ । अहिलेको अवस्थामा बैंक तथा वित्तीय प्रणाली मानिसको जीवनमा र दैनिक व्यवहारमा नभई नहुने अंगका रूपमा गाँसिएर आएको छ । बिहान उठेदेखि बेलुका सुत्दासम्मका हरेक आर्थिक गतिविधि बैंकिङ प्रणालीसँग जोडिएका छन् । यति ठूलो र संवेदनशील सञ्जालमा काम गर्दा कहिलेकाहीँ नहुनुपर्ने घटनाहरू हुन्छन्, तर ती अपवाद मात्र हुन् यसमा देखिएका कमी कमजोरीहरूलाई सुधार गर्दै अगाडि बढ्ने काममा हामी निरन्तर लागिरहेका छौँ ।’

प्रवक्ता पौडेलले बैंक तथा वित्तीय संस्था, त्यहाँ कार्यरत कर्मचारी र आम बचतकर्ताको निक्षेप सुरक्षाका लागि राष्ट्र बैंक कटिबद्ध रहेको बताए । प्रविधिको प्रयोग बढ्दै जाँदा कहिलेकाहीँ प्राविधिक जटिलता र मानवीय त्रुटिका कारण समस्या देखिनु स्वाभाविक भए पनि त्यसको निराकरणका लागि केन्द्रीय बैंक गम्भीर रहेको उनको भनाइ छ ।

विशेषगरी वित्तीय अपराध वा ठगीका घटनामा राष्ट्र बैंकले केही गरेन भन्ने गुनासोको खण्डन गर्दै उनले कानुनी प्रक्रिया र अनुसन्धानको गहिराइलाई बुझिदिन अनुरोध गरेका छन् ।

अनुसन्धान प्रक्रियाबारे जानकारी दिदै उनले भने, ‘नहुनुपर्ने हो तर कहीँ कतै एक दुई घटनाहरू भइरहेका छन् यस्ता विषयमा राष्ट्र बैंक निकै सजग छ । तर बुझ्नुपर्ने कुरा के छ भने, कुनै व्यक्ति वा संस्थामा गल्‌ती भइरहेको जानकारी हुँदा प्रहरीसँगै सहकार्य गरेर अनुसन्धान अगाडि बढाउनुपर्ने हुन्छ । वित्तीय अपराधको अनुसन्धान जटिल हुने र यसमा प्रमाण जुटाउनुपर्ने भएकाले समय लाग्न सक्छ । बाहिरबाट हेर्दा केही भइरहेको छैन जस्तो देखिएला, तर भित्रभित्रै हामीले नेपाल प्रहरी र सम्बन्धित निकायसँगको समन्वयमा जरैसम्म पुगेर अनुसन्धान गरिरहेका हुन्छौ । यो वित्तीय प्रणालीलाई स्वच्छ र पारदर्शी राख्नका लागि यो कार्य अति आवश्यक छ ।’

राष्ट्र बैंकले नियमित रूपमा गर्ने नियमन र निरीक्षणले प्रणालीलाई सुरक्षित राखिरहेको उनको दाबी छ । समस्या देखिएका संस्थाहरूलाई राष्ट्र बैंकले आवश्यक निर्देशन, कारबाही र सचेतनाको काम निरन्तर गरिरहेको जानकारी दिँदै उनले हल्‌लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरे ।

अहिले सञ्चालनमा रहेका र राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा रहेका बैंक तथा वित्तीय संस्थाहरू निक्षेप राख्नका लागि पूर्ण रूपमा सुरक्षित र अब्बल रहेको उनको जिकिर छ ।

उनले कसैले बैंकिङ कसुर वा गल्ती गरेको खण्डमा त्यसको अनुसन्धान गर्ने जिम्मा प्रहरीको समेत हुने भएकाले कानुनी प्रक्रिया पूरा गर्नुपर्ने बाध्यात्मक अवस्थालाई बुझिदिन आग्रह गरको छन् । उनले भने, ‘कसैले गल्ती गरेको छ भने अनुसन्धानका लागि प्रहरीलाई नै जिम्मा दिनुपर्ने हुन्छ । तसर्थ, राष्ट्र बैंकले केही गरिरहेको छैन भन्नु गलत बुझाइ मात्र हुन जान्छ । हामी जनताको एक एक पैसा सुरक्षित राख्न र वित्तीय प्रणालीलाई सबल बनाउन दृढ संकल्पित छौं ।’

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार  १२ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।