सडक विभागका प्रवक्तालाई ३ प्रश्न

‘विपद् रोक्न सकिँदैन, जोखिम कम गर्न आवश्यक तयारी गरेका छौँ’


काठमाडौँ । देशका प्रायः सडकहरूको अवस्था दयनीय छ । प्रत्येक वर्ष बर्खा लागेसँगै यात्रु र स्थानीयले सडककै कारण सास्ती भोग्नुपरेको छ ।

यसका साथै बर्खामा बाढीपहिरोका कारण सडक बगाउँदा कतिको ज्यानसमेत जाने गरेको छ । यो वर्षको मध्यबर्खा सुरु नहुँदै धेरै स्थानका सडकमा सवारीसाधनहरू बगाएका समाचार आइरहेका छन् ।

सामान्य वर्षा हुँदा यस्तो अवस्था आउने सडक भारी बर्खामा कस्तो होला भन्ने त्रास आमनागरिकमा छ । मौसम विभागले यस वर्षको मनसुनमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तो अवस्थामा जोखिम कम गर्नका लागि सरकारले के तयारी गर्दै छ ? ३ प्रश्नको आजको अंकमा हामीले सडक विभागका प्रवक्ता प्रभातकुमार झासँगै यिनै विषयमा कुरा गरेका छौँ ।

  • नेपालमा धेरै सडकहरू समयमा निर्माण नभएर सर्वसाधारणले सास्ती पाएको अवस्था छ । निर्माण भएका सडकको अवस्था पनि दयनीय छ । किन ?

सडक विभागले मुख्य रूपमा राष्ट्रिय महत्वका सडकहरूको निर्माण, मर्मत र व्यवस्थापन गर्छ । विभागले राजमार्ग, मूल सडक र रणनीतिक सडक गरी अहिले १५ हजार किलोमिटर सडक मात्र हेर्ने गर्छ ।

विभागले हेर्ने १५ हजार किलोमिटरको अवस्था दयनीय छैन । निर्माण नसकिएका सडकहरूको विषयमा विभागले निर्माण व्यवसायीहरूसँग छलफल गरेर छिटो सम्पन्न गर्ने निर्देशन दिएको छ । गत वर्ष मुग्लिन–पोखरा सडकमा पनि केही समस्या थिए, तर यो वर्ष पूर्ण रूपमा ठिक भएको छ ।

अन्य सडकहरू पनि गत वर्षको तुलनामा धेरै व्यवस्थित भएका छन् । बिस्तारै विभागले आफ्नो मातहतका सबै सडक पूर्ण रूपमा समस्या समाधान गर्दै गएको छ ।

  • दुम्कीबासमा सडकमै बस बग्ने अवस्था आयो । सामान्य पानी पर्दा त यस्तो छ । यो वर्ष त पानी पनि बढी पर्ने आकलन छ । विभागको तयारी के छ ?

मुख्य रूपमा अहिले आएको समस्या विनयी खोलामा हो । अबको १ हप्ता भित्रमा त्यहाँको पुलबाट गाडी चलाउने गरी काम भइरहेको छ । दाउन्ने क्षेत्रमा ग्राभेल मेन्टेनेन्स गरिएको छ । सँगै भारी गाडीलाई चल्न दिइएको छैन ।

सडकमा भएका अवरोध पन्छाउने काम भइरहेको छ । जोखिम कम गर्न सम्पूर्ण साधन–स्रोत सहितको तयारी भइसकेको छ ।

मुख्य नाका मुग्लिनदेखि काठमाडौँ सडकमा यो वर्ष हल्काफुल्का समस्या आए पनि अर्काे वर्षात्सम्म पूर्ण रूपमा दुरुस्त हुने गरी काम भइरहेको अवस्था छ ।

यस्तै, दाउन्ने क्षेत्रको पनि अर्काे वर्षसम्म पूर्ण रूपमा समस्यामुक्त हुने गरेर काम भइरहेको छ । साथै अन्य सबै सडक पनि अर्को बर्खासम्म दुरुस्त भइसक्छन् ।

यो बर्खामा आउने समस्या, बाढीपहिरोको जोखिम भएका स्थानहरूमा सबै स्रोत साधन सम्बन्धित स्थानमा तयार गरेर राखिएको छ । पहिरो आइहालेको अवस्थामा पन्छाउन डोजरहरू तयारी अवस्थामा छन् । अर्काे बर्खामा भने सबै सडकहरू मुग्लिन–पोखरा सडकजस्तै हुन्छन् ।

प्राकृतिक विपत्ति रोक्न सकिँदैन । तर, सकेसम्म क्षति नहोस् र लामो समय सडक अवरोध भएर यात्रुको बिचल्ली नहोस् भनेर हामी सचेत छौँ, र सोहीअनुसार तयारी गरेका छौँ ।

  • अबको दिनमा निर्माण हुने र मर्मत सम्भार गरिने सडकहरूको गुणस्तरका लागि विभागले कसरी कार्ययोजना बनाएको छ ?

गुणस्तर परीक्षणको काम त नियमित भइरहने प्रक्रिया हो । निर्माण व्यवसायीहरूकै जिम्मेवारी भए पनि विभागले आफ्नो टोली परिचालन गरिरहेको छ ।

प्राविधिक विश्लेषणमा सबै कुरा उल्लेख गरिएको हुन्छ । कति मात्रामा कुन वस्तु राख्ने, के गर्ने, के नगर्ने सबै विषय निर्धारण गरिएको हुन्छ । निर्धारण भएको प्रक्रिया अनुसार काम भए÷नभएको हेर्न विभागको टोली सधैँ लागिरहेको छ ।

ग्राभेल, बालुवा, सिमेन्ट, बिटुमिन, स्टोन चिप्स आदि निर्माण सामग्रीहरूको गुणस्तर मापन गर्ने, ग्राभेल फिल गर्दा त्यसको घनत्व जाँच गर्ने, सडक विभागले सडक निर्माणको प्रत्येक चरणमा गुणस्तरको परीक्षणको सुनिश्चितता गर्ने र प्रयोगशाला परीक्षणदेखि स्थलगत परीक्षण, मापदण्ड अनुसारको प्राविधिक परीक्षण गरिरहेको छ ।

गुणस्तरको मामलामा कुनै सम्झौता गर्दैनौँ । तर, हाम्रो भौगालिक बनावट, जलवायु परिवर्तन, सवारीसाधनको अधिक लोडलगायत कारणले सडकमा समस्या आइरहेको छ ।

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार  १२ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।