मलेसियाले म्यानपावर कम्पनीका लागि तोकेको मापदण्ड : सिन्डिकेटधारी समूहले गरेको चलखेल


काठमाडौं । मलेसिया सरकारले नेपालसहित पाँच देशका म्यानपावर कम्पनीका लागि मापदण्ड तोकेको छ । मलेसियाले नेपाल, भारत, बंगलादेश, पाकिस्तान र म्यानमारका कम्पनीका लागि मापदण्ड तोकेको हो ।

मलेसियाले जारी गरेको मापदण्ड पूरा गरेका कम्पनीले पठाएका कामदार मात्रै लिने बताएको छ । मलेसियाको मानव संसाधन मन्त्रालयले कात्तिक २९ गते (१५ नोभेम्बर २०२५) भित्र म्यानपावर कम्पनीहरूको विवरण पठाउन अनुरोध गरेको छ ।

मलेसियाको परराष्ट्र मन्त्रालयले क्वालालम्पुरस्थित नेपाली दूतावासमार्फत सरकारलाई पत्र पठाएको हो । ‘मलेसिया सरकार नेपालबाट मलेसियामा श्रमिकको भर्ना र तैनाथी गराउन अनुमति प्राप्त निजी म्यानपावर कम्पनीको सङ्ख्यालाई तर्कसङ्गत बनाउन सहमत भएको छ,’ मलेसियाको कूटनीतिक पत्रमा भनिएको छ, ‘यो नीतिले दुवै देशबीच रचनात्मक र मर्यादित श्रम आप्रवासनको अभ्यासलाई अझ सुदृढ बनाउन ठूलो योगदान पु¥याउने विश्वास गरिएको छ ।’

मलेसियाले दुई वर्षदेखि नेपालसहित स्रोत देशबाट आंशिक रूपमा श्रमिक लगिरहेको छ । सबैभन्दा बढी श्रमिक जाने उत्पादन क्षेत्रमा भने दुई वर्षदेखि श्रमिक भर्ना गरेको छैन । गत वर्षको कार्तिक १२ देखि नेपाल र मलेसियाबीच भएको श्रम सम्झौता नवीकरण भएको छैन । सम्झौता नै नविकरण नभएको अवस्थामा मलेसियाले यस्तो मापदण्ड बनाएको हो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीले नेपाल विषम परिस्थितिमा गुज्रिरहेको मौका छोपी यस्तो सिन्डिकेट लगाइएको वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारी बताउँछन् ।

मन्त्रीपरिषद् विस्तारले पूर्णता नपाएको अवस्थाको फाइदा उठाइ केही व्यक्तिहरुले निजि स्वार्थको लागि यस्तो सिन्डिकेट लगाइएको उनको भनाइ छ ।

नेपालले विगतमा देखि नै यस्तो सिन्डिकेट लगाउन खोजेको बताउँदै उनले पैसावाला व्यवसायीहरुकै चलखेलमा यस्तो मापदण्ड पठाइएको आरोप लगाए ।

नेपालमा विगतदेखि नै क्रियाशील रहेको सिन्डिकेटधारी समूहले तयार पारेको मापदण्ड अनुसार नै मलेसिया सरकारले मापदण्ड बनाएको उनको दाबी छ । उनले यस्तो सिन्डिकेट कुनै पनि हालतमा मान्य नहुने बताए ।

‘नेपालका आफ्नै ऐन, नियम, कानुन छन्, त्यसकै आधारमा काम गर्ने हो, त्यसैलाई कार्यान्वयन गराउने हो भण्डारीले भने, ‘अर्को देशले नेपालका व्यवसायीको मापदण्ड तय गर्ने होइन ।

विगतमा बंगलादेशमा समेत यसरी नै सिन्डिकेट लगाइएको बताउँदै त्यसमा नेपाल सरकारले कडा रूपमा प्रतिवाद गर्नुपर्ने उनको भनाइ छ ।

‘कुनै पनि देशको कानुन होइन, तपाईंको देशको ऐन नियमभन्दा कुनै पनि देश नभए हाम्रो मान्छे जाँदैन, त्यसकारण यो कुरा स्ट्रङली लिनुपर्छ ’ उनले भने ।

‘मलेसियाले पठाएको मापदण्ड लागु भएपछि सिमित व्यत्तिहरुले मात्र मलेसिया पठाउन पाउँछन् त्यसैले यो सिमित व्यवसायीको हातमा दिनु हुँदेन । सिन्डिकेटधारी समूहरुहरुले हुन्डीबाट पैसा लेजानको लागि यस्तो मापदण्ड ल्याएका हुन’ उनले भने ।

त्यस्तै सीमित एजेन्सीबाट मान्छे पठाउने भएपछि श्रमिकले धेरै शुल्क तिर्नुपर्ने बाध्यता आउने उनको भनाइ छ ।

यस्तै, कम्तीमा तीन वर्षदेखि स्थायी सञ्चालन गरेको कार्यालय हुनुपर्ने जसको न्यूनतम क्षेत्रफल १० हजार वर्गफुट हुनुपर्ने लगायतका मापदण्ड तयार गरेको छ जुन १/२ म्यनपावरले भन्दा अरु कसैले पुरा गर्नै नसक्ने वैदेशिक रोजगार संघका अध्यक्ष भुवन सिंह गुरुङ बताउँछन् ।

मलेसियाको यस्तो मापदण्ड कुनै पनि हालतमा मान्य नहुने उनको भनाइ छ । वैदेशिक रोजगार संघले मलेसिया मात्र होइन, ११० राष्ट्रहरु मध्ये कुनै पनि देशको यस्तो सिन्डिकेट स्वीकार नगर्ने उनले बताए ।

केही व्यवसायीलाई मात्र लक्षित गरेर बनाइएको सिन्डिकेट मान्य नहुने उनी बताउँछन् ।

यस्ता छन् मापदण्ड

मापदण्डमा इजाजतपत्र लिएको कम्तीमा पाँच वर्ष भएको हुनुपर्ने, विगत तीन वर्षमा ३ हजार श्रमिक पठाएको रेकर्ड हुनुपर्ने, कम्तीमा तीन देशमा श्रमिक पठाएको अनुभव हुनुपर्ने, कम्तीमा १० हजार वर्गफिट स्थायी कार्यालय रहेको र तीन वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने छ ।

त्यस्तै नैतिक पेसागत प्रमाणपत्र (गुड कन्डक्ट सर्टिफिकेट) तथा वैध इजाजतपत्र र कानुनी सञ्चालनको प्रमाणपत्र प्रस्तुत गर्नुपर्ने, अन्तर्राष्ट्रिय रोजगारदाताबाट पाँच लिखित प्रशंसापत्र (टेस्टिमोनियल) हासिल गरेको हुनुपर्ने, स्वप्रशिक्षण तथा मूल्यांकन केन्द्र चलाउने र आवास सुविधा सहितको व्यवस्था हुनुपर्ने मापदण्ड तोकेको हो ।

कति जान्छन् मलेसिया नेपाली ?

पछिल्लो समय मलेसिया नेपालीहरुको प्रमुख गन्तव्यमा पर्दै आएको छ । आकर्षक तलब र अन्य सेवा सुविधाले नेपाली कामदारले मलेसिया छनोट गर्ने गरेका छन् । साउदी अरब, युएई, कुवेत लगायतका देशले न्यूनतम तलब नतोकेका कारण पनि मलेसिया नै रोजाइको मुलुक बनेको हो । मलेसियामा तीन लाखभन्दा बढीको संख्यामा नेपाली श्रमिकहरू रहेका छन्।

आर्थिक वर्ष (आव) २०८१\८२ मा मलेसियामा नयाँ र पुनः श्रम स्वीकृति लिएर कुल ४९ हजार १८७ जना नेपाली रोजगारीका लागि पुगेका छन् । विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०\८१ मा एक लाख तीन हजार चार सय ४२ जना नेपाली श्रम स्वीकृति लिएर मलेसिया गएका छन्।

आव २०७९\८० मा २ लाख ५९ हजार ५९४ जना श्रम स्वीकृति लिएर मलेसिया गएका छन् भने आव २०७८\७९ मा ३६ हजार ६४४ जना, आव २०७७\७८ मा १ हजार १३५, आव २०७६\७७ मा ५९ हजार ७१४ जना, आव २०७५\७६ मा ४२ हजार १४६ ले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार  ११ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।