आर्थिक मन्दीको मारमा जीवन बीमा: नयाँ बीमा पोलिसी लिनेको संख्या निरन्तर घट्दै


काठमाडौँ । मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलताको प्रत्यक्ष असर बीमा क्षेत्रमा पनि देखिन थालेको छ । आर्थिक गतिविधि सुस्त भएर मानिसहरुको क्रय शक्ति घट्दै जाँदा नेपालमा नयाँ जीवन बीमा गर्नेहरूको संख्यामा वर्षैपिच्छे गिरावट आउन थालेको हो ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार बीमा क्षेत्रको उत्साहमा कमि आउँदै गएको देखिन्छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्यांक हेर्दा बीमालेख जारी हुने क्रम निरन्तर ओरालो लागिरहेको देखिन्छ ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा बीमा क्षेत्र निकै उत्साहजनक रहेको थियो । उक्त आर्थिक वर्षमा १ करोड २३ लाख ७० हजार ५९९ वटा नयाँ जीवन बीमालेख जारी भएका थिए । तर आर्थिक वर्ष २०८०/८१ मा जम्मा ६४ लाख ७८ हजार ८५० वटा मात्र बीमालेख जारी भएका थिए ।

अघिल्लो वर्षको तुलनामा आव २०८०/८१ मा जारी बीमालेखमा करिब ४७ प्रतिशतको गिरावट आएको देखिन्छ । आर्थिक वर्ष २०८१/८२ मा जारी जीवन बीमालेखको संख्या ५३ लाख १० हजार १३१ मा सीमित भयो । प्राधिकरणको पछिल्ला तीन आर्थिक वर्षको तथ्यांक हेर्दा जारी बीमालेखमा ५७ प्रतिशत गिरावट भएको देखिन्छ ।

मुलुकको आर्थिक अवस्था सुस्त भएको कारणले बीमा बजार पनि सुस्त भएको र बीमालेख लिनेको संख्या पनि घट्दै गएको सरोकारवालाहरू बताउँछन् ।

आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाहरुमा पर्याप्त तरलता हुँदा पनि कर्जा प्रवाह नहुनुले रोजगारी र आर्थिक क्रियाकलापमा संकुचन आउँदाको असर बीमा बजारमा पनि परेको उनीहरू बताउँछन् ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सूचना अधिकारी किशोर प्रसाद लामिछाने अर्थतन्त्र चलायमान नहुँदासम्म बीमा बजारले गति नलिने बताउँछन् ।

“मानिसहरूको पहिलो प्राथमिकता गाँस, बास र कपासजस्ता आधारभूत आवश्यकता पूरा गर्नु हो,” उनी भन्छन्, “आर्थिक सुनिश्चितता नभएसम्म र हातमा बचत गर्ने पैसा नभएसम्म मानिसले बीमाको बारेमा सोच्दैनन् ।” अर्थतन्त्रमा आएको सुस्तताका कारण अहिले मानिसहरूमा खर्च कटाएर बचत गर्ने क्षमता कम रहेको उनले बताए । सोही कारण बीमालेख बिक्रीमा असर परेको लामिछाने बताउँछन् ।

बीमा क्षेत्रका जानकारहरू आर्थिक मन्दी नै जारीबीमालेख संख्या घट्नुको मुख्य कारण रहेको बताउँछन् । बीमा विलासिता नभई आवश्यकता हो भन्ने बुझेर पनि आर्थिक अभावका कारण मानिसहरू पछि हटेको कतिपयको भनाइ छ ।

‘‘अभिकर्ताहरू बीमा गराउन ग्राहकको घरदैलोमा पुग्दा प्राय:ले अहिले पैसा छैन भन्ने गरेको,” एक जीवन बीमा कम्पनीका प्रतिनिधिले बताए ।
मानिसहरू दैनिक गुजरा चलाउनै धौ–धौ परिरहेको अवस्थामा लामो अवधिको दायित्व सिर्जना हुने बीमा गर्न डराइरहेको उनको भनाइ छ ।

सरकारले कोरोना बीमाको भुक्तानी लामो समयसम्म पनि नगर्नु, स्वास्थ्य बीमा कार्यक्रमको पनि भुक्तानी नहुनु जस्ता कारणले नागरिकहरू बीमाप्रति आकर्षित हुन नसकेको बीमा जानकारहरू बताउँछन् ।

सरकारले आफैंले सञ्चालन गरेको बीमा कार्यक्रमको पैसा समयमा नदिँदा आम सर्वसाधारणमा बीमा शब्दप्रति नै अविश्वास पैदा भएको उनीहरूको भनाइ छ ।

बीमा कम्पनीहरूको नियामक नेपाल बीमा प्राधिकरणका अधिकारीहरू अहिले नेपालमा बीमा क्षेत्र ‘स्याचुरेटेड’ अवस्थामा पुगेको बताउँछन् । सोही कारण पनि जारी बीमालेख पछिल्ला वर्षहरूमा घट्दै गएको उनीहरूको भनाइ छ ।

प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदी अर्थतन्त्र चलायमान नहुँदा स्वभाविक रुपमा बीमा क्षेत्रमा असर परेको बताउँछन् । यद्यपी नेपालमा बीमा क्षेत्र ‘स्याचुरेटेड’ भइसकेकाले पनि जीवन बीमालेख संख्या घट्न गएको उनको भनाइ छ । उनले भने, “आर्थिक मन्दीको असर बीमा क्षेत्रमा केही हदसम्म परेको छ । तर नेचुरली ग्रो हुने मार्केट ग्रो भइसकेको छ । अब बुस गर्ने मार्केट मात्रै हो ।”

पछिल्लो समय वैदैशिक रोजगारीमा जानेहरुको संख्या बढ्दा पनि जारी बीमालेखमा गिरावट आएको उनको भनाइ छ । उनले दुई तीन वटा बीमा गर्नुभन्दा एउटै मात्र धेरै रकमको बीमा पोलिसी खरिद गर्नेहरूको संख्या बढ्दै गएको उनले बताए । “सोही कारण पनि जारी बीमालेख संख्यामा कमी आएको हो ,” उनले भने ।

प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार  १५ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।