नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ भोलीदेखि : ५६ भन्दा बढी ब्रान्डले सहभागिता जनाउँदै, सबै तयारी पुरा (अन्तर्वार्ता)


काठमाडौँ । मंगलबारदेखि सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्न लागेको एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको हो ।

यसै सन्दर्भमा अटो एक्स्पोका निर्देशक राजकुमार दुलालसँग एक्स्पोको व्यवस्थापन र विविध पक्षका विषयमा गरेको कुराकानीको सम्पादित अंशः

यसपटकको अटो एक्स्पोमा कति वटा स्टल र कति ब्रान्डको सहभागिता हुँदैछ ?

यसपटकको एक्सपोमा ५३ वटा स्टलमा ५६ भन्दा बढी ब्रान्डले सहभागिता जनाउँदै हुनुहुन्छ । गत वर्ष ४७ वटा स्टलमा ४८ वटा ब्रान्ड सहभागी भएका थिए । त्यसको तुलनामा यसपटकको एक्सपो अझै बृहत् र ठूलो भएको छ । सहभागिता पनि बढेको छ ।

सहभागी ब्रान्डमध्ये नयाँ र पुराना ब्रान्डको अवस्था कस्तो छ ?

यसपटक नेपालका प्रमुख ब्रान्डहरू एक्सपोमा सहभागी हुँदैछन् । सहभागी ब्रान्डहरूले ४० वटाभन्दा बढी नयाँ मोडल सार्वजनिक तथा लन्च गर्दै हुनुहुन्छ । त्यसैले यसपटकको एक्सपोमा नयाँ मोडल र नयाँ प्रविधिका सवारीसाधनलाई विशेष रूपमा हेर्न पाइनेछ ।

एक्स्पोमा आउने अवलोकनकर्ताका लागि पार्किङको व्यवस्था कस्तो छ ?

गत वर्षको अनुभवलाई मध्यनजर गर्दै यसपटक पार्किङ व्यवस्थापनलाई विशेष प्राथमिकता दिएका छौँ । नेपाल पुलिस क्लबको प्याभिलियन ६ दिनका लागि बुक गरेका छौँ । त्यहाँको अन्डरग्राउन्ड पार्किङमा एक्स्पोमा आउने अवलोकनकर्ताले आफ्नो सवारी पार्क गर्न सक्नुहुनेछ । साथै, त्यहाँको शौचालय पनि प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

गत वर्ष एक्सपो स्थलमा पार्किङ र शौचालयको व्यवस्थापन पर्याप्त नभएको गुनासो आएको थियो। त्यसैलाई आधार बनाएर यसपटक ती पक्षलाई सुधार गर्ने प्रयास गरेका छौँ ।

यसपटक कति अवलोकनकर्ता आउने अपेक्षा गर्नुभएको छ ?.

गत वर्षको एक्सपोमा निकै ठूलो माग थियो । त्यही अनुभवका आधारमा यसपटक सुरुदेखि नै ६ दिनको आयोजना गरेका छौँ । यसपटक करिब १ लाख ५० हजार अवलोकनकर्ता आउने अपेक्षा गरेका छौँ ।

ग्राहकलाई आकर्षित गर्न एक्स्पोमा कस्ता छुट तथा अफरको व्यवस्था गरिएको छ ?

नाडाका ३६ सदस्य कम्पनी तथा अन्य एक्जिबिटरसमेत गरी ५६ भन्दा बढी ब्रान्डले विशेष अफर प्रस्ताव गरेका छन् । प्रदर्शनीमा सहभागी ब्रान्डहरूले विशेष अफर दिनु सामान्य चलन भए पनि यसपटक हाम्रा ब्रान्डहरूले विशेष तथा आकर्षक अफरहरू ल्याउने तयारी गरेका छन् । कुन ब्रान्डले कस्तो अफर दिने भन्ने कुरा सम्बन्धित ब्रान्डहरूले नै सार्वजनिक गर्नुहुनेछ ।

गत वर्षको तुलनामा यसपटक सवारीसाधनको सहभागिता कस्तो छ ?

गत वर्ष ४७ वटा स्टलमा ४८ वटा ब्रान्ड सहभागी भएका थिए भने यसपटक ५३ वटा स्टलमा ५६ भन्दा बढी ब्रान्ड सहभागी हुँदैछन् । यसले गत वर्षको तुलनामा यसपटकको एक्सपो निश्चित रूपमा ठूलो र बृहत् भएको देखाउँछ । सहभागिता पनि उल्लेख्य रूपमा बढेको छ ।

बैंकिङ तथा यातायाततर्फ पनि कुनै छुटको व्यवस्था छ ?

हाम्रा बैंकिङ पार्टनरहरूले पनि ग्राहकका लागि विशेष छुट तथा सुविधा उपलब्ध गराउनुहुनेछ । त्यसैगरी यातायाततर्फ पनि आवतजावतमा विशेष छुटको व्यवस्था गरिएको छ ।

टिकटको व्यवस्था कसरी गरिएको छ ?

हाम्रो टिकटिङ पार्टनर खल्ती हो। अवलोकनकर्ताले अनलाइनबाट टिकट खरिद गर्न सक्नुहुन्छ । एक्सपो स्थलमै रहेको टिकट काउन्टरबाट पनि टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।अवलोनकर्ताले १ सयदेखि २ सय रुपैयाँ शुल्क तिरेर एक्स्पोमा प्रवेश गर्न पाउँछन् ।

कुन ब्रान्डका कुन–कुन साधन सहभागी हुन्छन् ?

सबैभन्दा बढी प्यारामाउन्ट मोटर्सले वुलिङ ब्रान्डका पाँच वटा चारपांग्रे विद्युतीय सवारी सार्वजनिक गर्दै छ । तिनमा एक्सिएन, मिनी, डेरिएन, बिंगो र लिंकिस ईभी छन् ।

चारपांग्रेतर्फ कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले किया ब्रान्डका ३, ईभी राइड प्रालिले होर्नी बोमा ब्रान्डको एउटा, हिमालय म्याक्सले म्याक्सस ब्रान्डका ३ वटा सवारी सार्वजनिक गर्ने भएका छन् । यस्तै लक्ष्मी कमर्सियलले केरी कमर्सियल ब्रान्डका २, लक्ष्मी ई–मोबिलिटीले काइयी ब्रान्डको एउटा, लक्ष्मी मोटरहबले आर्कफक्स र बाइक ब्रान्डको एक–एक वटा सवारी सार्वजनिक गर्ने तयारी छ ।

एक्सपोमा नयाँ सार्वजनिक हुने गरी सूचीकृत हुने सवारी कम्पनी र ब्रान्डमा एसक्यू इन्टरप्राइजेजको हेनरी भोल्ट्स ब्रान्डका ३ र सांग्रिला मोटर्सको लिपमोटर्स ब्रान्डको एउटा सवारी सार्वजनिक गरिँदै छ ।

युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा ब्रान्डका २ र भीजी इम्पेक्स जीडब्लूएम (ग्रेट वाल मोटर्स) ब्रान्डका २ वटा साधन लन्च गर्दै छ ।

अन्त्यमा, यसपटकको एक्सपोमा अवलोकनकर्ताले के–कस्ता विशेष कुरा अपेक्षा गर्न सक्छन् ?

यसपटकको एक्स्पो गत वर्षभन्दा ठूलो र बृहत् छ । ५३ वटा स्टलमा ५६ भन्दा बढी ब्रान्डको सहभागिता, ४० भन्दा बढी नयाँ मोडलको सार्वजनिक तथा विशेष अफरहरू मुख्य आकर्षण हुन् ।

त्यसमाथि सडक सुरक्षा, दुर्घटनापछिको प्राथमिक उपचार तथा अन्य लर्निङ सेसनहरू पनि सञ्चालन हुनेछन् । त्यसैले यो केवल सवारीसाधन हेर्ने र खरिद गर्ने ठाउँ मात्र नभई नयाँ प्रविधि, सडक सुरक्षा र सवारीसम्बन्धी जानकारी हासिल गर्ने अवसर पनि हुनेछ ।

हरेक दिन ट्राफिक प्रहरीसँगको सहकार्यमा एक्स्पो परिसरमै सडक सुरक्षा तथा ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन हुनेछ । यसबाट एक्सपोमा आउने सर्वसाधारणलाई सडक सुरक्षा र सुरक्षित सवारीसम्बन्धी जानकारी दिने उद्देश्य राखिएको छ
एक्सपोमा हरेक दिन विशेष किसिमका लर्निङ सेसनहरू सञ्चालन हुनेछन् ।

हाम्रो मेडिकल पार्टनर ग्रान्डी अस्पतालले हरेक दिन दुर्घटना भइसकेपछि सडकमा घाइतेको कसरी हेरचाह गर्ने भन्ने विषयमा तालिम सञ्चालन गर्नेछ । यसमा विशेषगरी प्रहरीको सहभागिता रहनेछ भने सर्वसाधारणले पनि सहभागी हुन पाउनेछन् ।

यी लर्निङ सेसनहरू एक्सपो अवधिभर सञ्चालन हुनेछन् र सहभागीका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। यसबाट धेरैभन्दा धेरै मानिसले सडक सुरक्षा तथा दुर्घटनापछिको प्राथमिक उपचारसम्बन्धी ज्ञान लिन सक्ने अपेक्षा गरेका छौँ ।

प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार  १२ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।