प्रविधिको चमत्कार, एक सेकेण्डमा १२ लाखको शेयर कारोबार !


२०५० सालमा डिल्लीबार ओरालोमा शेयर किनबेच गर्नेहरु चर्को आवाजमा लगाइएको बोली सुन्दै शेयर किन्ने र बेच्ने निर्णय लिन्थे । भित्तामा लेखिएका कम्पनीको शेयर मूल्य अनि शेयर प्रमाणपत्रका चाङका बिचमा लगानीकर्ताले लगाउने बोलीका भरमा चलेको त्यो शेयर बजार अहिले मोबाइलमा क्लिक गरेको भरमा किनबेच गर्ने अवस्थामा आई पुगेको छ ।

२०६४ सालदेखि सेमी अटोमेशन सुरु भए पछि कारोबार हुने स्थानमा भौतिक रुपमा नै उपस्थित भएर शेयर कारोबार गर्नु पर्ने दिनको समाप्ती भए पनि त्यसको प्रभाव शुन्यप्राय थियो । पछिल्लो पटक भौतिक शेयरको कारोबार पूर्ण रुपमा बन्द भए पछि भने बजार सेमी अटोमेशनमा गएको आभाष गरिएको थियो । तर त्यसबाट लाभान्वित हुनेहरु औंलामा गन्न सकिने थिए ।

कागजी शेयरको जमाना सकिएसँगै सुरु भएको अनलाइन शेयर कारोबार प्रणालीले भने शेयरको कारोबारलाई नयाँ बाटोमा डोर्याएको छ । ३ वर्ष पहिलेसम्म शेयर किन्नका लागि शेयर दलालकोमा जानै पर्ने वा फोन गर्नै पर्ने अवस्था अहिले अन्त्य भएको छ ।

अनलाइन कारोबार प्रणालीको विकास र बिस्तारसँगै एउटा बन्द कोठामा कराएर लिलामीमा सहभागि भए जसरी शेयर किन्नु पर्ने अवस्था अहिले लगानीकर्ताको हातमा पुगेको छ । अझ गत वर्षदेखि सुरु भएको कोरोना महामारीका कारण डिजिटल कारोबार गर्नै पर्ने बाध्यताले नेपालको बजार पूर्ण रुपमा प्रविधिको भरमा सञ्चालन भएको जस्तो अवस्थामा पुगेको छ । यसलाई अहिले भईरहेको अर्बैं रुपैंयाको अनि लाभौं संख्याको शेयर कारोबार पनि पुष्टि गर्छ ।

हुन त अहिले बजार एक पछि अर्को रेकर्ड कायम गर्दै नयाँ उचाईमा पुगिरहेको छ । कोरोना महामारीका कारण धेरै बिनाकाम बसिरहेको अवस्था अनि अर्कातिर बैंकमा तरलता फालाफालको अवस्था । यसले २० करोड रुपैंयामा हुने गरेको शेयर कारोबार अहिले २० अर्ब नजिक पुगेको छ ।

बाध्यात्मक परिस्थितीमा लगानीकर्ताले चलाउँदै आएको अनलाइन कारोबार प्रणाली प्रभावकारी नहुँदा नहुँदै पनि दैनिक लाखौंको संख्यामा हुने किनबेचबाट अर्बौको शेयर कारोबार हुनु आफैंमा उत्साहजनक अवस्था हो । यस क्रममा आइतबार बजारमा एतिहासिक रेकर्ड कायम हुँदै गर्दा बजार सुचक ५०.१४ अंकले बढेर २९०६.९१ अंकमा उक्लिएको छ । २१८ कम्पनीको ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयरहरु १ लाख ७१ हजार ६० पटक किनबेच हुँदा १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ रुपैंयाको कारोबार भएको छ ।

यो कारोबार रकम, कारोबारमा आएको कुल शेयर संख्या र कारोबार संख्यालाई सेकेण्डमा रुपान्तरण गरेर हेर्दा अवस्था के होला त ? यो कौतुहलता हुनु स्वभाविक हो ।

आइतबार बिहान ११ बजेदेदि दिउँसो ३ बजेसम्मको ४ घण्टाको अवधिमा उल्लेखित तथ्यांकमा शेयर कारोबार भएको हो । ४ घण्टाको अवधिमा कुल २४० मिनेट र १४ हजार ४०० सेकेण्डको अवधिसम्म बजार सञ्चालन भएको छ ।

माथि उल्लेखित कारोबार विबरणलाई औषत प्रति सेकेण्डमा रुपान्तरण गर्दा प्रति सेकेण्ड २ हजार ६०१ कित्ता शेयर १२ पटकको किनबेचबाट ११ लाख ९९ हजार ४३० रुपैंयाको कारोबार भएको छ ।

मिनेटका आधारमा हेर्दा प्रतिमिनेट १ लाख ५६ हजार ६३ कित्ता शेयर ७१२ पटकको किनबेचबाट ७ करोड १९ लाख ६५ हजार ७८१ रुपैंयामा किनबेच भएका छन् ।

औषत प्रतिघण्टामा ९३ लाख ६३ हजार ७९८ कित्ता शेयर ४२ हजार ७६५ पटकको किनबेचबाट ४ अर्ब ३१ करोड ७९ लाख ४७ हजार रुपैंयाको शेयर कारोबार भएको छ ।

औंलामा गन्न सकिने त्यस बेलाको शेयर कारोबार अहिले सेकेण्डमा नै लाखौंको कारोबार गर्न सक्ने अवीथामा पुग्नुमा प्रविधिको साथ नभएको भन्न सकिन्न । तर नेपाल अझै पनि प्रविधिमा सिक्ने अनि बामे सर्ने चरणमा नै रहेका कारण अपेक्षा अनुसारको अनलाइन कारोबार प्रणाली चलाउनबाट लगानीकर्ता बञ्चित भईरहेका छन् ।

एउटा प्लेटफर्मबाट शेयर बिक्री गर्नु पर्ने, त्यो पनि कति बेला चल्ने हो थाहा नै नहुने । अनि शेयर बिक्री गरे पछि शेयर ट्रान्सफर गर्न अर्को प्लेटफर्मको सहायता लिनु पर्ने, त्यो पनि भनेको समयमा चल्छ कि चल्दैन भन्ने चिन्ता शेयर बेच्नु पहिलेदेखि नै लगानीकर्ताले लिइरहनु पर्ने अवस्थाका बिच सेकेण्डमा १२ लाखको शेयर कारोबार हुनु सकरात्मक कुरा हो ।

अबका दिनमा प्रविधिक जटिलतालाई सहज बनाउँदै धेरैभन्दा धेरै प्रविधिको प्रयोग गर्ने अवसर लगानीकर्ताले पाउने हो भने बजार अनि बजार सञ्चालनका लागि सञ्चालन गरिएका अनलाइन उपकरणप्रति लगानीकर्ताको विश्वास र चाहना बढ्दै जाने देखिन्छ ।

बजार सूचक बढेर ऐतिहासिक उचाईमा पुग्दा किन घटे धेरै कम्पनीको शेयर मूल्य ?

शेयर बजार ‘ओभर भ्याल्यूड’, कुल ग्राहस्थ उत्पादनभन्दा बजार पूँजीकरण धेरै

बैंकिङ्ग समुह चम्किएपछि कारोबारमा नयाँ रेकर्ड, नेप्से ५० अंकले बढ्दा सूचक २ हजार ९०० बिन्दुमाथि

बैंकिङ्गमा उछाल आएपछि नेप्से २ हजार ९०० बिन्दुमाथि, एक घण्टामा ६ अर्ब धेरै कारोबार

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।