प्रतिकुल मौसममा आन्तरिक उडानमा प्रतिबन्ध


अबदेखि मौसम सफा नभए आन्तरिक उडान गर्न नपाइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने निर्णय गरेको हो ।

प्राधिकरणले तारा एयरको विमान दुर्घटना भएसँगै यस्तो निर्णय गरेको हो । अबदेखि उड्ने र पुग्ने स्थानको मौसम सफा हुनुपर्नेछ । दुवै ठाउँको मौसम सफा नभएको खण्डमा उडान अनुमति नदिइने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवचन्द्र लाल कर्णले जानकारी दिए ।

‘अबदेखि हामीले इनरुट मौसम सफा नभएको अवस्थामा उडानको अनुमति नदिने निर्णय गरेका छौं,’ प्रवक्ता कर्णले भने । अहिलेसम्म विमान उड्ने विमानस्थल र विमान पुग्ने विमानस्थलको मौसम सफा भएमा उडान अनुमति दिँदै आएको थियो ।

अबदेखि भने इनरुट मौसम पनि सफा हुनुपर्ने निर्णय गरिएको उनको भनाइ छ । इनरुट भन्नाले विमान उड्ने स्थान, विमान पुग्ने स्थान र उडानको बाटो समेतलाई जनाउँछ । ती सबै स्थानको मौसम सफा नभएसम्म उडानको अनुमति नदिइने निर्णय प्राधिकरणले गरेको हो । यो निर्णयले हवाई दुर्घटना कम गर्न मद्दत मिल्ने उनको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।