भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको भाउ, मूल्य समायोजन नगर्दा निगमलाई पेट्रोलमा नाफा


भारतबाट फेरि पनि पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयाल निगमलाई पठाएको नयाँ पत्रमा इन्धनको भाउ घटाएर पठाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटपछि दोस्रो पटक नेपाल आयल निगमलाई इन्धनको भाउ घटेर आएको हो ।

आइओसीले निगमलाई सोमबार पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेलमा प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा घटेर आएको छ । त्यस्तै खाना पकाउने एलपीजी ग्याँसको प्रतिसिलिण्डर मूल्य ७८ रुपैयाँ घटेर आएको निगमले जनाएको छ ।

यसअघिको पत्रमा पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटाएर मूल्य पठाएको थियो । तर आयल निगमले बिक्री गर्ने पेट्रोलियम पदार्थको भने भाउ घटाएन ।

मूल्य घटेर आएसँगै नेपाल आयल निगमको पाक्षिक नोक्सानी करिब ७५ करोडमा झर्ने भएको छ । मूल्य नघटाको खण्डमा निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ हाराहारी नाफा रहने भएको छ । डिजलमा भने प्रतिलिटर करिब १० रुपैयाँ नोक्सानी रहने निगमले जनाएको छ । निगमका अनुसार प्रति सिलिण्डर ग्यासमा ५ सय रुपैयाँ घाटा छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटपछि दोस्रो पटक नेपाल आयल निगमलाई इन्धनको भाउ घटेर आएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०३ डलर हाराहारीमा छ। यसको मूल्य अगष्टमा केही बढेर फेरि घट्ने प्रक्षेपण गरिएको छ ।

निगमले अहिले पेट्रोल १८१ मा र डिजेल १७२ बिक्री गर्दै आएको छ। यस्तै मट्टितेल १७२ मा बिक्री गर्ने गरको छ। हवाई इन्धन (आन्तरिक) १ सय ८० मा बिक्री गर्दै आएको छ । हवाई इन्धन (बाह्य) १.६४ अमेरिकी डलरमा बिक्री गर्दै आएको छ। यस्तै एलपी ग्यास १८ सयमा बिक्री गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।