लघु, घरेलु तथा साना उद्योग बागमती सरकारको प्राथमिकतामा : उद्योगमन्त्री


बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने लघु, घरेलु तथा साना उद्योगहरु बागमती सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई माथि उठाउने र आयात प्रतिस्थापन गर्दै स्थानीय उत्पादनबाटै आत्मनिर्भर बनाउन सघाउने यस्ता उद्योगहरुका लागि बागमती सरकार सदैव साथमा रहेको बताएका हुन् ।

चप्पलदेखि टोपीसम्म, लत्ता कपडादेखि दैनिक उपभोग्य वस्तुसम्म लघु घरेलु तथा साना उद्योगका माध्यमबाट आत्मनिर्भर हुन सक्ने सम्भावना प्रशस्तै रहेको भन्दै मन्त्री श्रेष्ठले रोजगारी र आत्मनिर्भरका हिसाबले यो क्षेत्रका लागि आफुले मन्त्रालय सम्हाल्दासम्म दत्तचित्त भएर सहयोग गर्ने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघसँग जोडिएर व्यवसायीहरुलाई सहजता प्रदान गर्ने र उद्यमशीलताको विकास गर्ने कुरामा लागिपर्ने प्रतिवद्घता पनि उनले व्यक्त गरे ।

ललितपुरको लुभु र ठैवमा टेक्सटाइल, भक्तपुरमा काष्ठकला, पाटनमा ललितकता र धातुकला लगायतले अर्बौं रुपियाँको आय आर्जनमा भूमिका खेलेको भन्दै उनले घरेलु तथा साना उद्योगका उत्पादनलाई प्रवद्र्घन गर्नका लागि प्रदेशको राजधानी हेटौंडामा चारदेखि पाँच करोडको लागतमा गत वर्षदेखि अत्याधुनिक बिक्री कक्ष निर्माण भइरहेको बताए । यस्तै घरेलु सामानको प्रवद्र्घनका लागि चितवन, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुरलगायतका जिल्लामा आधुनिक रुपमा प्रदर्शनी कक्ष निर्माण गर्ने कार्यक्रम राखेको भन्दै उनले महासंघलाई पनि हातमा हात राखेर हिंड्न आग्रह गरेका थिए ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योगहरु आर्थिक समृद्घिको सम्बाहकका रुपमा रहे तापनि यस्ता उद्योगहरुको प्रमुख समस्याको रुपमा बजारको पहुँच रहेको बताएका थिए । महासंघको पालिकादेखि केन्द्रिय सरकारसम्म नेटवर्क रहेको भन्दै अहिले दुई चार जनाको संस्था खडा गरेर प्रदेशका कार्यक्रमहरुको दुरुपयोग भएकोतर्फ ध्यानाकर्षण गराउँदै त्यस्ता कार्यक्रमका लागि कार्यक्रम नगर्न उनले आग्रह गरे ।

लघु, घरेलु तथा साना उद्योगहरुको उच्चतम सदुपयोग र प्रवद्र्घनबाट अर्थतन्त्रलाई पनि समृद्घ बनाउने काममा महासंघ बागमती प्रदेशसँग सहकार्य गरी अगाडि बढ्न चाहेको उनको भनाई थियो ।

महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले समानुपातिक विकासका लागि र उत्पादनको समानुपातिक वितरण प्रणाली बनाउन प्रदेश सरकारले पहल गर्नुपर्ने बताएका थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।