मुक्तिनाथ कृषि कम्पनीले एकै पटक सुरु गर्यो ८ सहायक पब्लिक कम्पनी, सर्वसाधारणलाई २० प्रतिशत सेयर


मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले एकै पटक ८ वटा सहयक पब्लिक कम्पनीहरुको औपचारिक सुरुवात गरेको छ ।

कम्पनीले आफ्नो चौथो स्थापना दिवसको अवसरको पारेर कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवाहरु उपलब्ध गराउने लक्ष्य सहित सहायक कम्पनीहरु सुरु गरेको हो ।

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच मुक्तिनाथ सिड बैङ्क लि., मुक्तिनाथ फर्टिलाईजर बैङ्क लि., मुक्तिनाथ नर्सरी बैङ्क लि., मुक्तिनाथ लाईभस्टक बैङ्क लि., मुक्तिनाथ हर्बल बैङ्क लि., मुक्तिनाथ फूड बैङ्क लि., मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी लि. र मुक्तिनाथ ट्रेडिङ लि. गरी ८ वटा सहायक कम्पनीहरुको औपचारिक सुरुवात गरेको हो ।

देशको कुल ग्राहस्थ उत्पादनमा सवैभन्दा ठुलो हिस्सा ओगटेको कृषि क्षेत्रको समग्र विकासका लागि वित्तिय र गैरवित्तिय सेवाहरु प्रदान गरी कृषि चक्र बनाउने उद्देश्यले मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो ।

आफ्नो स्थापना कालदेखि निरन्तर रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायिक साझेदार, कम्पनीहरु तथा फर्महरु, कृषक समुह, सहकारीहरुसँग सहकार्य गर्दै कृषिको मुल्य श्रृंखला विकासका लागि व्यवस्थापकिय भुमिका निर्वाह गर्ने प्रयत्न गरिरहेको कम्पनीका अध्यक्ष भरत।राज ढकालले बताए । यसका लागि कम्पनीले “गाउँको उत्पादन शहरमा, शहरको पुँजी गाउँमा” र “सवृद्धिको आधार कृषि, कृषिको आधार प्रविधि” भन्ने मुल मन्त्रलाई सार्थक तुल्याउन “कृषकसँग मुक्तिनाथ” र “उपभोक्तासँग मुक्तिनाथ” अभियान सञ्चालन गरिरहेको छ ।

स्थापना पछिका ४ वर्षमा मुक्तीनाथ कृषि कम्पनीले नेपालको कृषि क्षेत्रमा विद्यमान समस्याहरु, भइरहेका प्रयासहरु, व्यवसायिक अवसरहरु र समग्र कृषि क्षेत्रको विकासमा समग्र नीजि क्षेत्र र कम्पनीले गर्नुपर्ने लगानीका क्षेत्रहरु पहिचान गर्न व्यतित गरेको र स्पष्ट मार्गचित्र तयार गरेको छ । साथै कम्पनीले आफ्नो उद्देश्य अनुसार हाल कृषकहरुलाई आवश्यक गुणस्तरीय उत्पादनका साधनहरु जस्तै मल, बिउ, रोग किरा नियन्त्रक, औजारउपकरण सहित कृषि परामर्श सेवा, अनुसन्धान, विकास र प्रविधि प्रसारको साथै कृषि उत्पादनहरुको खरीद सुनिश्चितता गरी राष्ट्रिय र अन्तराष्ट्रिय बजारीकरण सम्बन्धि कामहरु गर्दै आइरहेको छ ।

हालसम्म कम्पनिले ६२ वटा जिल्लाहरुमा विभिन्न व्यवसायिक साझेदारहरुको माध्यमबाट वस्तु तथा सेवा प्रवाह गरेको छ । जसका लागि पोखरा, बुटवल र चितवनमा प्रादेशिक कार्यालयहरु सञ्चालनमा रहेको र यो वर्ष इटहरी, चन्द्रनिगाहपुर, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालयहरु स्थापनको अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

कम्पनीले स्थापना गरेको सहायक कम्पनीहरुमा मुक्तिनाथ कृषि कम्पनीको ८० प्रतिशत र सर्वसाधारणबाट २० प्रतिशत लगानी रहने छ भने हरेक सहायक कम्पनीहरुले कृषि र सम्बन्धित क्षेत्रको लागि विशिष्टकृत वस्तु तथा सेवाहरु उपलब्ध गराउने छन् । जसमा बिउ बैंकले गुणस्तरीय बीउ प्रवद्र्धन, मल बैंकले मलको दिगो मल व्यवस्थापन, नर्सरी बैंकले जुनसुकै समयमा रोपणको लागि आवश्यक तयारी बिरुवाहरुको उपलब्धता, लाइभस्टक बैंकले पशुपन्छिजन्य उत्पादनहरुको उत्पादकत्व वृद्धि, हर्वल बैंकले प्राकृतिक अर्थतन्त्रको विकास, फुड बैंकले देशको सम्वृद्धिको लागि, मेशिनरी कम्पनी नेपाल उपयोगि औजार उपकरण उत्पादन, र ट्रेड्रिङ्ग कम्पनीले एकै ठाँउबाट कृषक र उपभोक्ताहरुलाई आवश्यक सामाग्रिहरुको वितरणका काम गर्नेछन् ।

बैंक तथा वित्तिय संस्थाहरुले वित्तिय मध्यस्थकर्ताको भुमिका निर्वाह गरी वित्तिय पहुँच र परिचालनका साथै युवाहरुको रोजगारीका लागि आकर्षणको क्षेत्र निर्माणमा योगदान गरे जसरी नै नेपालमा क्षेत्रको विकासका लागि संस्थागत रुपमा गैरवित्तिय वस्तु तथा सेवाहरुमार्फत कृषि मध्यस्थकर्ताको भुमिका निर्वाह गरी युवाहरुलाई कृषिमा आकर्षित गराउँदै कृषिको समग्र मुल्य श्रृंखला विकासमा व्यवस्थापकीय भुमिका स्थापित गर्न सहायक कम्पनीको नामाकरणमा बैंक शब्द राखिएको कम्पनीले जनाएको छ ।

कम्पनीले स्थापना गरेका सहायक कम्पनीहरुको मार्फत कृषि क्षेत्रको विकासका लागि एकिकृत रुपमा नीजि क्षेत्रले निर्वाह गर्नुपर्ने भुमिका निर्वाह गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।

देशको अर्थतन्त्रको प्रमुख श्रोतको रुपमा रहेको कृषि क्षेत्रमा, विभिन्न सरकारी तथा गैरसरकारी नियायहरुबाट भएका प्रयासहरुको बाबजुत पनि उल्लेख्य रुपमा विकास हुन नसकेको कम्पनीका अध्यक्ष ढकालले बताए । यस्तो अवस्थामा कम्पनीले कृषिलाई मर्यादित र प्रतिश्पर्धि बनाई युवाहरुको आकर्षणको केन्द्रविन्दु बनाउने लक्ष्य सहित अगाडि बढाएको योजनाहरुलाई सार्थक बनाउन सरकारी तथा गैरसरकारी निकाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायिक साझेदारहरु, सहकारीहरु, बैंक तथा वित्तिय संस्था, बिमा कम्पनीका साथै सबै पक्षको सहयोगका लागि कम्पनीका अध्यक्ष ढकालले आग्रह गरेका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।