११ करोड बिगोदाबी सहित ३ जना बिरुद्ध राजश्व अनुसन्धानको मुद्धा


नक्कली बिल बिजक किनबेच गरेको आरोपमा राजश्व अनुसन्धान विभागले जया दुर्गा ट्रेडिङ नामक व्यवसायिक फर्ममा ३ जना बिरुद्ध झण्डै ११ करोडको बिगो माग गर्दै मुद्धा दायर गरेको छ ।

विभागले नक्कली बिल बिजकको प्रयोगबाट आयकर छलेको भन्दै उच्च अदालत पाटनमा उक्त फर्मका सञ्चालकहरु धिरज कुमार जयसवाल, सुमन कुमार श्रेष्ठ, र राहुल कुमार जयसवालका बिरुद्ध मुद्धा दर्ता गरेको हो ।

विभागका अनुसार फर्मका सञ्चालक धिरज कुमार जयसवाल भारतीय नागरिक हुन भने प्रोपाइटर सुमन कुमार श्रेष्ठ काठमाण्डौं ३२ का स्थायी बासिन्दा हुन् ।

जयसवाल र श्रेष्ठको जालसाँझी कारोबारमा सघाएको भन्दै राहुल कुमार जयसवाल बिरुद्ध पनि मुद्धा दर्ता गरिएको विभागले जनाएको छ ।

मूल्य अभिवृद्धि कर तर्फ १ करोड ७१ लाख ३२ हजार १७० रुपैंया र आयकरतर्फ ३ करोड ७५ लाख १९ हजार १६८ गरी ५ करोड ४६ लाख ५१ हजार ३३८ बिगो र शतप्रतिशत जरिवाना सहित १० करोड ९३ लाख २ हजार ६७६ रुपैंया र कैद सजाय माग गर्दै मुद्धा दायर गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार राजश्व चुहावट सम्बन्धी मुद्धा दर्ता गरिएको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।