नेताहरुलाई उद्योग सञ्चालन गरेर देखाउन उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठको चुनौती


नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले एउटा उद्योग सञ्चालन गरेर देखाउन राजनितिक दलका नेताहरुलाई चुनौती दिएका छन् । उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्ने विषयमा राज्यले बोल्ने मात्र गरेको तर व्यवहार ठीक उल्टो हुने गरेको भन्दै उपाध्यक्ष श्रेष्ठले यस्तो चुनौती दिएका हुन् ।

उद्योग दर्ता, स्थापना लगायतका काममा अनेकौं व्यवधान रहेको भन्दै उनले त्यो अनुभव लिनका लागि नीतिगत तहमा पुग्ने नेताहरुलाई उद्योग खोल्न उनले चुनौती दिएका हुन् ।

रत्ननगर उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै महासंघ उपाध्यक्ष श्रेष्ठले अहिले उद्योग व्यवसाय सञ्चालन कठिन अवस्थामा पुगेको भन्दै राज्यले अघि सार्दै आएको प्रोत्सानका विषयलाई व्यवहारमा उतार्नु पर्ने बताए ।

पुर्वाधार विकासको अभावमा निजी क्षेत्रले अपेक्षित रुपमा लगानी बिस्तार गर्न नसकिरहेको भन्दै उनले सडक सञ्जालको विकासमा विशेष जोड दिए । प्रभावकारी उर्जाको उपलब्धतामा जोड दिँदै महासंघ उपाध्यक्ष श्रेष्ठले राज्यले उद्योग सञ्चालनका पुर्बाधारमा लगानी गरेको खण्डमा मात्र निजी क्षेत्रको लगानी आउने बताए ।

स्थानीय निकायले करका विषयमा उद्योगी व्यवसायीलाई समस्यामा पार्ने कामलाई तिब्रता दिएको भन्दै उनले सहयोगी बनिदिन पनि आग्रह गरे । उद्योग व्यवसाय सहज रुपमा चल्ने वाताबरण बनाउनु राज्यको दायित्व भएको उनको भनाई थियो । मिसम्याचको समस्या दिनानु दिन बढिरहेको अवस्थामा कुनै पक्षले सहजीकरण गर्न नचाहेको उनको आरोप थियो । सचेतना जगाउने काममा राज्यको उपस्थिती कमजोर हुँदा समस्या बढिरहेको भन्दै उनले पुस मसान्तसम्म मिसम्याच मिलाउने वाताबरण बनाउन आग्रह गरे । व्यवसायीलाई पनि सक्रिय भएर मिसम्याच मिलाउन उनले आग्रह गरे ।

उद्योगी व्यवसायीलाई बिचौलीया तथा राष्ट्रिय पुँजीपती भनेर आरोप लगायउने क्रम बढेको भन्दै उनले उद्योगी व्यवसायीलाई हतोत्साहीत बनाउने काम नगर्न पनि सबै पक्षसँग आग्रह गरे ।

व्यक्तिगत तलब बढाउने विषयमा रातारात नीति नियम तर्जुमा हुने तर उद्योग व्यवसायसँग सम्बन्धित कानुन तर्जुमा गर्न धेरै समय लगाउने, सम्बन्धित पक्षहरुसँग संवाद नगर्ने जस्ता कामले उद्योगी व्यवसायी हतोत्साहीत हुने गरेको उनको भनाई थियो ।

बैंक वित्तीय संस्थाबाट कर्जा तथा व्याजमा भईरहेको कडाईले असहज अवस्था बनेको उनको भनाई थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।