मेला तथा प्रदर्शनीले स्वदेशी उत्पादनको बजार विस्तारमा ठूलो टेवा पुगेको छ : शुभेन्द्र जोशी


फर्निचर तथा फर्निसिङका उत्पादनमा मुलुकलाई आत्मनिर्भरताको बाटोमा डोर्याउने लक्ष्य सहित गत बिहीबारदेखि राजधानीको भृकुटीमण्डमा आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो सञ्चालन भईरहेको छ । विश्व बजारमा उपलब्ध आधुनिक प्रविधि भित्र्याउन पनि टेवा पुर्याउने अपेक्षा सहित सञ्चालन भईरहेको एक्स्पोले स्वदेशी उत्पादनको बजारीकरणमा पनि योगदान पुर्याएको छ ।

वर्षेनि झण्डै ६० अर्ब रुपैयाँबराबरको फर्निचरजन्य उत्पादनको कारोबार हुने गरेकोमा त्यसको ४० देखि ५० प्रतिशत हिस्सा आयातित उत्पादनको छ । विगत ४ वर्षमा ४० प्रतिशत हिस्सा रहेको स्वदेशी उत्पादनको बजार अहिले ६० प्रतिशतको हाराहारीमा पुग्नु ठुलो उपलब्धि भएको बताउने नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीसँग नोटबजारले गरेको कुराकानी ।

फर्निचर तथा फर्निसिङका उत्पादनमा आत्मनिर्भर हुने सम्भावनालाई कसरी लिनु हुन्छ ?

सरकारले गत असार १६ गते राजपत्रमा प्रकाशित गरेको नयाँ वन नियमले वन पैदावरसँग सम्बन्धित व्यक्तिले मात्र काठको लिलामीमा भाग लिन पाउने भनेर गरेको व्यवस्थाले हाम्रो अपेक्षामा प्रहार भएको छ । ८० देखि ९० प्रतिशत काठको प्रयोग गर्ने फर्निचर व्यवसायीलाई त्यस्तो टेन्डरमा निषेध गरी सिन्डिकेटको रुपमा वन पैदावरहरुसँग मिलेर एउटा सीमित वर्गको हातमा अधिकार सुम्पिँदा सिमित बिचौलियाहरुलाई अघि सार्न खाजेको देखिन्छ । यसले वास्तविक व्यवसायीहरु मारमा परेका छन् भने आत्मनिर्भरताको अभियानमा लाग्नेहरु नै छुटेपछि नतिजा उल्टो हुन जान्छ ।

आयातित सामान र नेपाली उत्पादनको लागत बढाउन यस्तै नीतिहरुले भूमिका खेलिरहेका छन् । प्रतिस्पर्धाको बजारमा सिन्डिकेट नीतिले फर्निर मात्र होइन अरु धेरै किसिमका उत्पादनको वृद्धिमा नकरात्मक असर पारिरहेको छ । यस्ता धेरै विषय छन् जहाँ राज्यले पहलदमी लिनु पर्नेमा उल्टो यात्राको कामहरु भईरहेका छन् । व्यवसायीसँग पर्याप्त छलफल र संवाद गरेर नीतिगत रुपमा अघि बढ्ने हो भने आत्मनिर्भर हुन धेरै समय लाग्दैन ।

स्वदेशी उत्पादनको बजार अवस्था कस्तो छ नि ?

पहिले आयातको कुरा गर्नै पर्छ । सबैभन्दा बढी चीनीया उत्पादनले बजार ओगटेको कुरालाई नकार्न सकिन्न । प्रविधिको अधिकतम सदुपयोगले सस्तो र हेर्दा राम्रो हुने भएकाले चीनीया उत्पादनको बजार हिस्सा धेरै भएको हो । नेपालमा न काठ पाईन्छ न त दक्ष जनशक्ति, जसले गर्दा आत्मनिर्भरताको बाटो पहिल्याउन समस्या भइरहेको छ । हाम्रा दाजुभाईहरु फर्निचरका उत्पादनको प्रशिक्षण पाउने वित्तिकै विदेसिने भएका कारण यहीँ गुण्स्तरीय उत्पादन तयार गर्न नसक्दा फर्निचरका उत्पादन आयात गर्न वाध्य हुनु परिरहेको छ । टर्की, मलेसिया, इन्डोनेसियाबाट पनि हामीकहाँ प्रशस्त फर्निचरका उत्पादनको आयत भैरहेको छ । यी मुलुकबाट आउने उत्पादन तुलनात्मक रुपमा महँगो पर्न जाने भएकाले बजार हिस्सा भने थोरै छ । तर पछिल्ला ४ वर्षमा भएको बजार बिस्तारले भने आशावादी हुन सक्ने देखिएको छ । किनकी ७० प्रतिशतभन्दा बढी वस्तु आयात हुँदै आएकोमा अहिले ५० प्रतिशतभन्दा कम मात्र आयातित वस्तुको बजार छ । स्वदेशी उत्पादकहरुको प्रयासका कारण नै आशावादी हुन सकिएको छ ।

स्वदेशी उत्पादनको बजार बिस्तार हुँदै गर्दा यो क्षेत्रका समस्या पनि उत्तिकै होलान् ?

धेरै कारणले व्यवसायीहरु चुनौतीको सामना गरिरहेका छन् । फर्निचर तथा फर्निसिङको कच्चा पदार्थ र सिमित सामग्रीमा भन्सारमा खासै फरक देखिँदैन । त्यसैले उत्पादकहरु अनुकुल अवस्था नपाइ नपाई उत्पादन तयार गरिरहेका छन् । स्वदेशमा नै कच्चा पदार्थ नपाउँदा स्वदेशका गूणस्तरीय काठको ठाउँमा महंगोमा काठ किन्नु परिरहेको छ । यसले हाम्रो उत्पादन क्षमतामा ह्रास आईरहेको छ । जबकी हामीले उत्पादन क्षमता बढाउँदै जानु पर्ने अवस्था छ ।

कच्चा पदार्थको आयात व्यवस्थापन, स्वदेशमा हुने उत्पादनको प्रोत्साहनको कमी लगायतका विषय पनि उत्तिकै महत्वपूर्ण छन् । यस्ता विषयमा सरकारी संयन्त्रहरुमा हामीले पटक पटक आवाज पुर्याइरहेका छौं । तर कतैबाट पनि सकारात्मक प्रतिक्रिया नआउँदा सोचेजस्तो नतिजा आउन सकिरहेको छैन । यसले हामीमाथि विभेद भएको छ भन्दा फरक नपर्ला ।

बैंक वित्तीय संस्थाको चर्को व्याजदरको कुरै नगरौं । आयात प्रतिस्थापनका लागि कच्चा पदार्थको पर्याप्तता जरुरी हुन्छ । तर अवस्था ठीक उल्टो छ । कार्पेट, म्याट्रेसहरुको उत्पादन अवस्था आशाजनक भए पनि कच्चा पदार्थ आयात गरिरहनु परेको छ । कच्चा पदार्थ आयात गरेर नै भए पनि यहाँ उत्पादीत त्यस्ता सामान भारततर्फ निर्यात भईरहेका छन् । यस्ता अरु धेरै विषय छन्, जसको निदान नगरी हामीले सोचे अनुसार निर्यातको अवस्थामा पुग्न गाह्रो छ ।

अघि कच्चा पदार्थको कुरा गर्नु भयो, नेपाली काठ भन्दा विदेशी काठ सस्तो हुँदा तपाईहरुलाई सजिलो भएको छैन र ?

नेपाली काठ त पैसा तिरेर पनि पाइने अवस्था छैन । उद्योग चलाउनलाई महँगो वा सस्तो भन्दा पनि सामान छ कि छैन भन्ने पहिलो मान्यता हो । विदेशी काठ नचलाउँ भन्ने सोच भए पनि मुलुकको अवस्थाले बाध्यात्मक परिस्थितीमा विदेशी काठ भित्र्याउनु परिरहेको छ । दिनहुँ धेरै मात्रामा स्वदेशी काठ नाश भएर गइरहेको छ । राज्यको नीति नै उपलब्ध स्रोत साधनको वैज्ञानिक सदुपयोगमा केन्द्रित छैन । यस्तो अवस्थामा हामीसँग विदेशबाट काठ आयात गर्नुको विकल्प नै छैन । मलेसिया र भारतबाट फर्निचर बनाउने काठ अनि चीनबाट प्लाई अधिक रुपमा आयात भैरहेको छ । तुलनात्मक रुपमा विदेशी काठ सस्तो पर्ने कुरामा सत्यता छ। तर नियत स्वदेशी काठ उपलब्ध हुनु पर्यो भन्ने हो ।

केही वर्ष पहिलेसम्म ३० अर्बको बजारको कुरा हुन्थ्यो अहिले ६० अर्ब पुगेको हो ?

बजारको आकार क्रमिक रुपमा बढ्नु एकदमै राम्रो कुरा हो । अहिले झण्डै ६० अर्बको फर्निचर तथा फर्निसिङजन्य उत्पादनको कारोबार हुने गरेको अनौपचारिक तथ्यांक छ । औपचारिक तथ्यांक राज्यसँग पनि छैन, हामसँग पर्यात्य तथ्यांक छैन भन्न अफ्टेरो मान्नु पर्ने लाग्दैन ।

केही वर्ष अघिसम्म ४० प्रतिशतभन्दा कम रहेको स्वदेशी उत्पादनको हिस्सा अहिले ६० प्रतिशतमा उक्लिएको हो । समस्याका चाङका बिचमा नै स्वदेशी उत्पादनको हिस्सा केही वर्षको अन्तरालमा २० प्रतिशतले बढ्न सक्छ भने राज्यले ती समस्यालाई बुझिदिने, नीगित रुपमा नै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, निर्यातका सम्भाव्यताको खोजी गरिदिनु पर्दैन ? त्यस्तो हुने हो भने आत्मनिर्भर मात्र नभई निर्यातको अवस्थामा पुग्न समय लाग्दैन । समस्या कच्चा पदार्थको होइन, त्यसको सदुपयोग गर्न नपाउने नीतिगत व्यवस्थाको हो । यसलाई वैज्ञानिक तवरले उपभोग गर्न पाउने व्यवस्था गर्ने हो भने लागत घट्ने मात्र नभई अझै गुणस्तरीय उत्पादन तयार गर्न सकिन्छ ।

नेपाली काठ अहिले कस्ता उत्पादनमा बढी प्रयोग भैरहेको छ ?

नेपाली काठमा बढी बिक्री हुने अफिस टेबल, पलङ लगायत पर्छन् । महंगो भए पनि टिकाउ र बलियो हुन्छ भनेर यही किन्न मन पराउँछन् । पाएसम्म मानिसहरु यही किन्न खोज्छन्, नपाएको अवस्थामा चीनीयाँ उत्पादन किन्न बाध्य छन् । पछिल्लो समय स्वदेशी उत्पादन पनि गुणस्तर र मूल्यका आधारमा विदेशीसँग प्रतिष्पर्धी बन्दै गइरहेको देख्दा खुसी लाग्छ । पछिल्लो ४ वर्ष यता स्वदेशी उत्पादन हेरेर नाक खुम्च्याउँने परिपाटीमा अहिले धेरै सुधार आएको छ । प्रविधिको सहज उपलब्धताले नै स्वदेशी उत्पादन पनि प्रतिष्पर्धी भएको हो ।

आठौं संस्करणको फर्निचर एक्स्पो सुरु भएको ३ दिन बितिसकेको छ कतिको उत्साहित हुनुहुन्छ ?

एक्स्पोले कुनै न कुनै रुपमा राज्यको आँखा खुलाउन पहलकदमी लिनेछ भन्ने हाम्रो अपेक्षा हो । यसका साथै उपभोक्तालाई फर्निचर तथा फर्निसिङका विश्व बजारमा चलेका उत्पादनसँग साक्षत्कार गराउने हाम्रो लक्ष्य हो । आधुनिक उत्पादनका बारेमा जानकारी, सूचना आदान प्रदान पर्याप्त भए पछि मात्र त्यस्ता उत्पादनको माग आउन थाल्छ । यो अवस्थामा हामीले त्यस्ता उत्पादनको गूणस्तर, मूल्य, प्रयोग विधि, उत्पादन विधि लगायतका विषयमा जानकारी दिने उद्धेश्यका साथ एक्स्पो आयोजना गरेका हौं । अर्कातिर चाडपर्व नजिकिँदै छ, यस्तो बेला धेरैले फर्निचर तथा फर्निसिङ अपग्रेड गर्ने सोच बनाउनु भएको हुन्छ । वहाँहरुलाई एकै छानामुनी आवश्यक सबै सेवा र उत्पादन उपलब्ध गराउने लक्ष्यका साथ एक्स्पो आयोजना गरिएको हो ।

तेस्रो दिनसम्म आउँदा ५१ हजार अवलोकनकर्ता एक्स्पोमा पुग्नु भएको छ । यो नै हाम्रो सम्पत्ती हो । हामीले भन्न अनि बुझाउन खाजेको कुरा उहाँहरुसम्म पुग्नुले नै बजार बिस्तारमा ठुलो काम गर्छ । यो अवस्थामा एक्स्पोप्रति उत्साहित नहुने भन्ने त सवाल नै रहँदैन ।

आठौं संस्करणसम्म आईपुग्दाका उपलब्धीहरु संस्थागत हुन सके कि सकेनन् ?

दस्तावेजकै रुपमा के कति उपलब्धि भए भनेर त हामी आफुले मपाई गर्नु उचित नहोला । अरुले उपलब्धिलाई दस्तावेज अनि संस्थागत रुपमा बुझाउने पक्ष अर्को भयो भने हामीलाई पनि खुसी लाग्छ । तर, एक्स्पोकै पाटोबाट भन्ने हो भने सामान्य अवस्थाबाट सुरु भएको एक्स्पो अहिले अन्तर्राष्ट्रियस्तरमा आयोजना हुन थालेको छ । यसले उपभोक्ताको रुची बढेको छ भने व्यवसायी मित्रहरु पनि उत्साहित हुनुहुन्छ । कतिपय एक्स्पोमा प्रदर्शक खोज्न जाँदा पनि नपाउने अवस्था हुन्छ भने हामीले एक्स्पोमा अटाउन नसक्नु भएका प्रदर्शकलाई चित्त बुझाउनु परिरहेको छ । यो एकै दिनमा भएको होइन ।

हरेक वर्ष एक्स्पोले बजारमा आएका नयाँ र आधुनिक उत्पादनको बजार बिस्तारमा महत्वपुर्ण योगदान पुर्याएको छ भन्ने लाग्छ । यसको उपज के हो भने बजार बिस्तार नै हो । एक्स्पो केही दिन चल्छ, तर एक्स्पोले देखाएको बाटो व्यवसायी र उपभोक्ताका लागि ज्यादै उपयोगी सावित हुने कुरामा दुईमत छैन । यसले नै स्वदेशी उत्पादनको हिस्सा बढाउन पनि योगदान पुगेको कुरालाई नकार्न सकिन्न ।

केहि वर्ष अघिसम्म नेपाली सामान भन्नासाथ शंका गर्ने परिपाटीमा अहिले व्यापक सुधार आईसकेको छ । नेपाली उत्पादनको गूणस्तर र मूल्यलाई उपभोक्ताले एक्सपोमा बुझ्न पाइरहनु भएको छ । यसले स्वदेशी उत्पादनप्रतिको विश्वसनीयता बढाईरहेको छ ।स्वदेशी उत्पादकहरुको मनोबल पनि बलियो बनाउन एक्स्पोको भूमिका छ भन्नेमा म विश्वस्त छु ।

राज्यलाई पनि यो क्षेत्रमा केही छ है, भन्ने आभाष दिलाउन विगत वर्षका एक्स्पोहरुले मत्वपुर्ण भूमिका निर्वाह गरेको छ । र यस पटकको एक्स्पोले पनि कुनै न कुनै रुपमा बजार बिस्तारसँगै आन्तरिक उत्पादनको हिस्सा बढाउने, नीतिगत रुपमा झकझक्याउने र नतिजाको बाटो पहिल्याउनेमा हामी आशावादी छौं । स्वदेशी उत्पादन हेर्न र गूणस्तर बुझ्नका लागि भए पनि एक्स्पो अवलोकनका लागि आम उपभोक्तासँग आयोजकको नाताले आग्रह गर्दछु । एक्स्पोमा सामान किन्न आउने त होइन, बुझ्न चाहनेहरुका लागि एक्स्पो उचित गन्तव्य हुनेछ भन्न चाहन्छु ।

तीन दिनमा ५१ हजारले अवलोकन गरे फर्निचर एक्स्पो, सोमबार सकिँदै

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।