नेपाल आर्थिक संघमा प्याकुरेलको नेतृत्वमा नयाँ कार्यसमिति


नेपाल आर्थिक संघले नयाँ नेतृत्व पाएको छ । संघको २९ औं वार्षिक साधारण सभाले आगामि ३ वर्षका लागि १७ सदस्यीय कार्य समिति चयन गरेको हो ।

नेपालका वरिष्ठ अर्थशास्त्रीहरु, संघका साधारण सदस्य तथा आजिवन सदस्यको सहभागिता भएको उक्त भेलाले वरिष्ठ अर्थशास्त्री प्राध्यापक डाक्टर विश्वम्भर प्याकुरेलको अध्यक्षतामा आगामी ३ वर्षका लागि १७ सदस्यीय कार्य समिति चयन गरेको हो ।

वार्षिक भेलालाई सम्बोधन गर्दै श्रीलंकाका लागि नेपालका पूर्व राजदुत वरिष्ठ अर्थशास्त्री प्राध्यापक डाक्टर विश्वम्भर प्याकुरेलले संघले युवा अर्थशास्त्रीहरुलाई आर्थिक नीति तथा कार्यविधिहरुमा नयाँ दृष्टिकोण सहित पेश हुन सक्ने किसिमले क्षमता बिस्तार गर्ने विश्वास व्यक्त गरे । वरिष्ठ अर्थशास्त्रीको अनुभव र नयाँ पुस्ताको भिजन तथा उर्जाले नेपालको आर्थिक क्षेत्रमा उल्लेख्य टेवा दिन सक्ने र त्यसको आधार स्तम्भको रुपमा संघलाई परिचालित गरिने कुरा समेत उनले व्यक्त गरे । “संघ नयाँ पुस्तालाई आर्थिक नीति तर्जुमा देखि कार्यान्वयन सम्मका कार्यमा सरकार तथा विकासका सहयात्रीहरुलाई तयार गर्ने स्वतन्त्र पेशागत संगठनको रुपमा विकास गरिने छ,” अध्यक्ष प्याकुरेलले भने ।

संघका अध्यक्ष प्रा.डा. प्याकुरेलले नेपाल आर्थिक संघले राष्ट्रिय बजेट तथा सरकारले तोकेका अन्य प्राथमिकताका क्षेत्रमा नीति निर्माण सम्बन्धमा स्वतन्त्र राय दिने कार्यलाई निरन्तरता दिइने समेत बताए ।

नेपालका अर्थशास्त्रीहरुको एकमात्र पेशागत संगठन नेपाल आर्थिक संघ नेपालको आर्थिक क्षेत्रमा विभिन्न नीतिगत तथा अनुसन्धानमुलक कार्यमा संलग्न हुँदै आएको छ । संघले सरकारलाई खास गरी बजेट निर्माण तथा अन्य आर्थिक नीति निर्माण सम्बन्धमा समय समयमा स्वतन्त्र रुपले परामर्श दिँदै आएको संघका नव निर्वाचित महासचिव गोपाल तिवारीले बताए ।

आगामी कार्यक्रमका रुपमा देशका सातै प्रान्तमा राष्ट्रिय आर्थिक मुद्दाहरु तथा वित्तिय संघियता सम्बन्धी विषयहरुमा प्रान्तस्तरीय संवादहरु सञ्चालन गर्ने कार्यक्रम रहेको तथा राष्ट्रिय तहमा अनुसन्धान सम्मेलन गरिने कुरा संघका नवनिर्वाचित महासचिव तिवारीले बताए ।

कार्यक्रममा सहभागिहरुले संघ दरिलो थिंक ट्याङ्कको रुपमा विकसित हुँदै जानुका साथै साख विस्तार हुँदै गइरहेको अवस्थामा संघका गतिविधिले विशेष महत्व भन्दै नयाँ कार्य समितिले उक्त साख विस्तारका लागि थप चनाखो र सक्रिय भएर लाग्नु पर्ने बताएका थिए ।

संघको नवनिर्वाचित कार्य समितिमा प्रा.डा. विश्वम्भर प्याकुरेल अध्यक्ष, डा. भवानी ढुंगाना वरिष्ठ उपाध्यक्ष , प्रा. डा. गोविन्द नेपाल उपाध्यक्ष, गोपाल प्रसाद तिवारी महासचिव, डा. खोमराज खरेल सचिव र प्रा. डा. शान्ता सिंह कोषाध्यक्ष रहेका छन् ।

कार्यसमिति सदस्यहरुमा प्रा.डा. विजय श्रेष्ठ, प्रा.डा केशवराज खड्का, केशव प्रसाद आचार्य, डा. पोष राज पाण्डे, प्रा.डा शिव राज अधिकारी, प्रा.डा. माधव प्रसाद दाहाल, डा मणि कुमार नेपाल, डा. यादव मणि उपाध्याय, नविन अधिकारी तथा जमुना श्रेष्ठ रहेका छन् । साथै संघमा त्रि.वि. केन्द्रीय अर्थशास्त्र विभाग प्रमुख प्रा.डा. कुसुम शाक्य पदेन सदस्य रहेका छन् ।