सबै उद्योगमा बिजुली कटौती गर्ने उद्योगीहरुको चेतावनी


पीडित तथा प्रताडित उद्योगीहरुले सबै उद्योगमा बिजुली कटौती गर्ने चेतावनी दिएका छन् । नेपाल विद्युत् प्राधिकरणले असार २५ र २६ गते ५ वटा उद्योगमा बिना कारण विद्युत् आपूर्ति बन्द गरेपछि हामी पीडित तथा प्रताडित उद्योगी समूहले गत असार २७ गते नै विज्ञप्ति मार्फत उक्त कदमको विरोध गरेका थिए ।

यस्तै, उक्त विज्ञप्ति मार्फत बिजुली कटौती गरिएका उद्योगमा निर्बाध रूपमा प्राधिकरणले बिजुली आपूर्ति नगरे बाँकी उद्योगमा आफैँ बिजुली आपूर्ति बन्द गर्ने जानकारी गराएका थिए ।

उक्त विज्ञप्ति पछि पनि प्राधिकरणले डेडीकेटेड तथा ट्रंकलाइन विवाद सम्बन्धमाउद्योगीलाई तर्साउने र धम्काउने कामलाई निरन्तरता दिएको भन्दै उद्योगीहरुले विद्युत कटौती गर्ने बताएका हुन्।

उद्योगीलाई अतिरिक्त महसुल तिर्नुको आधार र कारण जानकारी गराउनु भन्दा पनि थप उद्योगमा विद्युत् आपूर्ति बन्द गरेको स्वतःःस्फूर्त क्रमशः सबै उद्योगमा बिजुली आपूर्ति कटौती गर्ने निर्णय गरेको उद्योगीहरुद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

प्राधिकरणले प्रमाण दिएको हदसम्म सबै महसुल चुक्ता गर्ने बताउँदा बताउँदै देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिने उद्योगमा बिजुली कटौती गर्ने कदमले मनोबल कमजोर बनाएको उद्योगीहरुले बताएका छन् ।

विद्युत् महसुल निर्धारण आयोगले डेडिकेटेड लाइनबाट लोडसेडिङको समयमा निर्बाध र निरन्तर २४ घण्टा बिजुली प्रयोग गर्ने ग्राहकबाट थप प्रिमियम लिन २०७२ पुस २९ गते स्वीकृति दिएको थियो ।

यस्तै, ट्रंकलाइनबाट ६ घण्टा लोडसेडिङ भएको अवस्थामा २० घण्टा निरन्तर बिजुली प्रयोग गर्ने ग्राहकबाट थप प्रिमियम लिन आयोगले २०७३ असार १६ गते प्राधिकरणलाई स्वीकृति दिएको थियो । यो सर्त पुरा हुने प्रमाण दिँदै उद्योगबाट अतिरिक्त रकम उठाउनु पर्ने लाल आयोगले सिफारिस गरेको छ । लाल आयोग भन्दा अघि विद्युत् नियमन आयोग समेत तत्कालीन विद्युत् महसुल निर्धारण आयोगको १०३ औँ र १०८ औँ बैठकको निर्णय अनुसार प्रिमियम महसुल लगाउनु पर्ने प्रस्ट सुझाव र निर्देशन दिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।