नारायण नगरपालिकाका मेयरलाई ३ प्रश्न

‘दैलेखमा ग्यास भेटिनु हाम्रा लागि गौरवको विषय हो’


काठमाडौँ । दैलेख जिल्लाको जलजले क्षेत्रमा भेटिएको मिथेन ग्यासले स्थानीय समुदाय र समग्र राष्ट्रलाई आर्थिक र सामाजिक हिसाबले प्रचुर फाइदा हुने विश्लेषकहरू बताउँछन् ।

जलजले क्षेत्रमा करिब ११२ अर्ब घनमिटर मिथेन रहेको अनुमान चिनियाँ अध्ययन टोलीले गरेको छ । यसले ५० वर्षसम्म नेपालको ग्यासको आवश्यकता पूरा गर्ने अनुमान गरिएको छ ।

यदि औद्योगिक रूपमा विकास भएमा यथेष्ट रोजगारीको सिर्जना पनि हुनेछ । यसले स्थानीको राजगारीको माग पनि पूरा गर्नेमा स्थानीय आशावादी छन् ।

३ प्रश्नको आजको अंकमा हामीले दैलेखमा भेटिएको मिथेन ग्यासले स्थानीयमा कस्तो उत्साह ल्याएको छ ? भन्ने विषयमा दैलेखको नारायण नगरपालिकाका अध्यक्ष लोमन शर्मासँग कुरा गरेका छौँ ।

  • जिल्लामा भेटिएको मिथेन ग्यासले स्थानीयको आर्थिक सामाजिक जीवनमा कस्तो प्रभाव पर्ने देखिएको छ ?

पेट्रोलियम पदार्थको उत्खननका लागि जुन शुभारम्त्र गरियो र चिनियाँ टोलीले जुन प्रतिवेदन प्रस्तुत गरेको छ, यो अत्यन्त उल्लासमय र खुसीको विषय हो । सम्पूर्ण नेपाली जनताका लागि एकदम खुसीको क्षण हो ।

नेपालमा मिथेन ग्यासको प्रचुर सम्भावना भएको पुष्टि भएको छ । त्यसैले हामी अत्यन्तै खुसी छौँ । यसले सिंगो नेपालको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

यदि औद्योगिक रूपमा सञ्चालन भएमा आज जुन अवस्थामा नेपाली युवा रोजगारीका लागि बिदेसिनुपरेको छ, त्यसमा धेरै हदसम्म कमी आउनेछ ।

हाम्रो देशको पेट्रोलियम पदार्थको परनिर्भरता पनि यसले अन्त्य गर्नेछ । दैलेखको मिथेनले नेपालको ऊर्जा र समृद्धिको ढोका खुल्ने देखिएको छ । यो कामका लागि नेपाल सरकारलगायत सम्पूर्ण सरोकारवालालाई धन्यवाद दिन चाहन्छौँ ।

  • उत्खनन गर्दा पर्यावरणदेखि जनस्वास्थ्यसम्म प्रभाव पर्न सक्ला नि ?

त्यस्तो खालको कुनै पर्यावरणीय प्रभाव नहुने कुरा डिपिआरमा उल्लेख छ । यसले गर्दा खासै क्षति हुँदैन भन्नेमा स्थानीय आशावादी छन् । पछि यसको उद्योग सञ्चालनमा ल्याउँदा राज्य पनि क्षतिको विषयमा सजग होला ।

स्थानीय तहले पनि यसको वैकल्पिक अवसरहरूको विषयमा केन्द्रित रहेर आवश्यक पहल कदमी गर्नेछ । हाम्रा लागि महत्वपूर्ण के छ भने राज्यले ५० वर्षसम्म परनिर्भर हुनुनपर्ने देखिएको छ ।

साथै स्थानीय जनता यसको उत्पादन, प्रशोधन कहिले हुन्छ भन्नेमा आतुर भएर प्रतीक्षारत छन् । यसको उत्पादन, प्रशोधन, उद्योग स्थापनालगायत काम दैलेख जिल्लामै हुनुपर्छ भन्ने स्थानीयको भनाइ छ ।

हामी जनप्रतिनिधिहरू पनि स्थानीय स्तरमा रोजगारीको सिर्जना हुनुपर्छ, स्थानीयलाई नै प्राथमिकता दिनुपर्छ भन्नेमा छौँ । सबै नेपालीका लागि यो गौरवको विषय भएको स्थानीयको बुझाइ छ ।

  • यो परियोजनामा स्थानीय तहसँग कस्तो सहकार्य गरिएको छ ?

पहिले त स्थानीय तहसँग समन्वय गरेर नै अगाडि बढेको परियोजना हो । यो सरकार–सरकारबीच सम्झौता भएर सञ्चालन भएको कार्यक्रम हो । जिटुजी कार्यक्रम भएकाले यसमा अरू कुराहरू स्थानीय तहले गर्दैनन् ।

तर, स्थानीय तहले जनशक्ति परिचालन, स्थानीय पूर्वाधारको व्यवस्थापनलगायत विषयमा सहयोग गर्न स्थानीय सरकार सधैँ तयार छ । यसमा स्थानीय सरकारको पनि सक्रिय सहभागिता, निगरानी, समन्वय र अनुगमन आदि विषयमा हामी सहयोग गर्न आतुर छौँ ।

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार  १५ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।