रोकिएन असारे विकासको लहर : ९ महिनामा १ खर्ब २ अर्ब मात्र भएको विकास खर्च अढाई महिनामा ६२ अर्ब


काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिना सम्ममा १ खर्ब २ अर्ब मात्र भएको विकास खर्च अढाई महिनाको अवधिमा ६२ अर्ब रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षको वैशाख महिनाको सुरुमा १ खर्ब २ अर्ब ९० करोड ८ लाख रुपैयाँ विकास खर्च भएकोमा असार १८ सम्ममा आउँदा १ खर्ब ६४ अर्ब १५ करोड ९४ लाख रुपैयाँ पुगेको हो ।

यो तथ्यांक हेर्दा विगतको वर्षहरुमा जस्तै असारे विकासको लहरले निरन्तरता पाएको देखिन्छ । बजेट घोषणा गरेको ११ महिनासम्म सुतेर बस्ने, अन्तिम १ महिनामा बालुवामा पानी खन्याउने काम हुने गरेको अर्थविद डिल्लराज खनाल बताउँँछन् । सरकारले वचन गर्ने तर कार्यान्वयनमा नलाने प्रवृत्तिका कारण प्रत्येक वर्ष असारे विकास दोहारिने गरेको उनको भनाई छ । खर्च प्रणाली र भुक्तानी प्रणाली सहि नभएकोले पनि यस्तो समस्या आएको अर्थविद खनालको भनाई छ ।

यस्तै वैशाख सुरुमा ६ खर्ब ७८ अर्ब ९ करोड ३ लाख अर्थात ५९.४५ प्रतिशत रहेको चालु खर्च असार १८ मा आएर ९ खर्ब ३० अर्ब ७२ करोड २७ लाख रुपैयाँ अर्थात ८१.५९ प्रतिशत पुगेको छ ।

वित्तिय व्यवस्थापन २ खर्ब १७ अर्ब ५३ करोड १ लाख अर्थात ५९.२३ प्रतिशत रहेकोमा असार १८ मा आएर ३ खर्ब ११ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ अर्थात ८४.८५ प्रतिशत पुगेको छ ।

यसले समग्र विकास निर्माणमा तत्कालीन र दीर्घकालीन दुबै रुपमा नराम्रो प्रभाव पार्ने खनाल बताउछन् ।

गत आर्थिक वर्ष ८०/८१ को वैशाख १ मा ९७ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ अर्थात ३२.२४ प्रतिशत रहेको विकास खर्च असार १८ मा आएर १ खर्ब ४६ अर्ब ७० करोड २९ लाख रुपैयाँ अर्थात लक्ष्यको ४८.५७ प्रतिशत खर्च भएको थियो ।

उक्त आर्थिक वर्षमा वैशाख १ मा ६ खर्ब ४४ अर्ब २ करोड ५४ लाख रुपैयाँ अर्थात ५६.४१ प्रतिशत रहेको पूँजीगत खर्च असार १८ मा आएर ८ खर्ब ८९ अर्ब १३ करोड २८ लाख रुपैयाँ अर्थात लक्ष्यको ७७.८७ प्रतिशत पुगेको थियो । गत आर्थिक वर्षको वैशाखको सुरुमा १ खर्ब ६७ अर्ब ९८ करोड ८६ लाख रुपैयाँ अर्थात ५४.६४ प्रतिशत रहेको वित्तिय व्यवस्थापन असार १८ मा २ खर्ब २७ अर्ब ६५ करोड ४ लाख अर्थात लक्ष्यको ७४.०४ प्रतिशत खर्च भएको थियो ।

यस्तै अघिल्लो आर्थिक वर्ष ७९/८० को तुलना अवधि वैशाख १ मा १ खर्ब ७ अर्ब २२४ करोड ३४ लाख अर्थात लक्ष्यको २८.१९ प्रतिशत मात्र विकास खर्च भएकोमा असार १८ मा आएर १ खर्ब ७० अर्ब ५० करोड ३३ लाख अर्थात लक्ष्यको ४४.८२ प्रतिशत खर्च भएको थियो ।

सो आर्थिक वर्षको ९ महिनाको अन्त्यमा ७ खर्ब ६ अर्ब ७६ करोड ५९ लाख रुपैयाँ रहेकामो असार १८ मा पुँजीगत खर्च लक्ष्यको ७९.०४ प्रतिशत ९ खर्ब ३५ अर्ब २३ करोड ६६ लाख रुपैयाँ खर्च भएको थियो । सोहि आवको ९ महिनामा १ खर्ब २९ अर्ब ४ करोड २३ लाख रुपैयाँ अर्थात लक्ष्यको ५६.०५ प्रतिशत रहेको वित्तिय व्यवस्थापन असार १८ मा लक्ष्यको ६८.३९ प्रतिशत अर्थात १ खर्ब ५७ अर्ब ४३ करोड ८७ लाख रुपैयाँ खर्च भएको थियो ।

यसरी प्रत्येक वर्षको अन्त्यमा आएर बालुवामा पानी खन्याउने कामले अर्थतन्त्रकोे सुधार नहुने र अर्थतन्त्रलाइ समृद्धिको बाटोमा लान नसक्ने खनाल बताउँछन् । सरकारमा बसेका उच्चपदस्थहरुमा जवाफदेहिता र पारदर्शीता नभएकोले प्रत्येक वर्षान्तमा विकास खर्चको ओइरो लाग्ने जानकारहरुको भनाई छ ।

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार  ०७ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।