गत आवको तलब तथा ज्याला सूचकाङ्कको वृद्धिदर घट्यो, चालु आवमा सुधारको संकेत


काठमाडौँ । देशको राष्ट्रिय तलब तथा ज्याला सूचकाङ्कको वृद्धिदर समीक्षा वर्षमा उल्लेख्य रुपमा घटेको देखिएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय तलब तथा ज्याला सूचकाङ्क  २.८५ प्रतिशतले मात्र वृद्धि भएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा २.१८ प्रतिशतले कम हो ।

यसअघि अघिल्लो आर्थिक वर्षमा ५.०३ प्रतिशतले बढेको थियो । यसले राष्ट्रियस्तरमा तलब तथा ज्यालाको वृद्धिदरमा कमी आएको संकेत गर्दछ । तुलना अवधिमा मुलुकको मुद्रास्फीति ४.०घ प्रतिशत कायम रहेको थियो ।

यसले कामदार क्रय शक्तिमा ह्रास आएको संकेत गर्दछ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा तलब र ज्यालामा केहि सुधारको संकेत देखिएको अर्थविद्हरु बताउँछन् । एकातिर मुद्रास्फीति उच्च रहनु र अर्काेतिर तलब र ज्याला सुचकाङ्क कम हुनुले कामदारको क्रय शक्तिमा सुधार आएको देखाउँछ । विश्लेषकहरुका अनुसार कामदारको जीवनस्तर मापन गर्नको लागि तलब तथा ज्यालालाई मूल्यवृद्धिसँग तुलना गर्नुपर्छ । कामदारको तलब तथा ज्यालाभन्दा मूल्यवृद्धि बढी भएमा यसले कामदारको वास्तविक आम्दानी बढेपनि क्रयशक्तिमा सुधार हुँदैन र कामदार झन गरिब हुने अवस्था रहने अर्थविद् प्रकाश श्रेष्ठ बताउँछन् । उनका अनुसार भारतको तलव तथा ज्याला वृद्धिदरले नेपालको वृद्धिदरमा असर पर्ने गरेको छ । गत आर्थिक वर्षमा नेपालको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत र भारतको ३.९१ प्रतिशत रहेको छ ।

तलब तथा ज्याला सुचकाङक कुन प्रदेशमा कति ?

गत आर्थिक वर्षमा सबैभन्दा बढी वृद्धि सुदूरपश्चिम प्रदेशमा ७.३८ प्रतिशत ले रहेको छ । सबैभन्दा कम वृद्धि कोशी प्रदेशमा १.२३ प्रतिशत मात्रै भएको छ ।यस्तै कर्णाली प्रदेशमा तलब तथा ज्याला सुचकाङ्क ३.५८ प्रतिशत रहेको छ । गण्डकी प्रदेशस् ३.४१ प्रतिशत तलब तथा ज्याला सुचकाङक कायम हुँदा मधेश प्रदेशमा ३.३७ प्रतिशत कायम भएको छ । लुम्बिनी प्रदेशको तलब तथा ज्याला सुचकाङ २.७४ प्रतिशत र बागमती प्रदेशको २.१४ प्रतिशत कायम भएको छ ।

यो तथ्याङ्कहरूले भौगोलिक क्षेत्र अनुसार श्रम बजार र आर्थिक गतिविधिमा फरक फरक प्रभाव परिरहेको देखाउँछ ।

चालु आवमा सुधारको संकेत

गत आर्थिक वर्षमा निराशाजनक तथ्याङ्क देखिए पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भने यसको विपरीत सुधारको संकेत देखिएको छ ।

तर चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांक हेर्दा यसको विपरित देखिएको छ । चालु आवको पहिलो त्रैमासमा तलब तथा ज्याला सूचकाङ्क ४.४८ प्रतिशतले बृद्धि भएको छ, जुन गत आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको तुलनामा १.१७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा यस्तो सूचकाङ्क ३.३१ प्रतिशतले बढेको थियो ।

अर्थतन्त्रका केही क्षेत्रहरु पर्यटन, निर्माण सेवा लगायत क्षेत्रहरुमा कामदारको माग बढ्दा कामदारको माग र ज्यालामा वृद्धि भएको अर्थविद श्रेष्ठको भनाई छ । उनका अनुसार पछिल्लो समय पर्यटन आवगमन पनि बढ्दै गएको र सरकारले विभिन्न समयमा गर्ने न्यूनतम ज्यालाको समायोजनले पनि ज्यालादरमा सुधार आएको हो । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या उच्च भएको हँुदा आन्तरिक श्रम बजारमा कामदारको आपूर्ति कम भएको र ज्यालादरमा चाप परेको उनको बुझाई छ । श्रेष्ठ भन्छन्, “यो तथ्यांकले कामदारको क्षेत्रमा सुधार भएको देखिएपनि आन्तरिक बजारमा कामदारको अभाव खड्किदै गएको देखिन्छ ।”

यसरी आम्दानी र ज्याला सुचकाङ्कमा भएको वृद्धिले नेपाली श्रम बजारमा पनि सुधार आउँदै गएको रुपमा लिन सकिन्छ । तर यो तथ्यांकको विश्लेषण गर्दा आन्तरिक उत्पादनमा गिरावट आउने सम्भावना रहेको उनी बताउँछन् ।

 

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार  ११ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।