डलरको तुलनामा भारतीय रुपैयाँमा ऐतिहासिक गिरावट : नेपालमा पर्ने असर कस्तो ?


काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ (भारू) को मूल्य हालसम्मकै कमजोर विन्दुमा पुगेको छ ।

भारतीय रिजर्व बैंकका अनुसार पछिल्लो समय डलरको विनिमय दरमा देखिएको उतारचढावले भारु इतिहासकै न्यून विन्दुमा पुगेको हो । यसले भारतीय अर्थतन्त्रलाई मात्र नभएर नेपाली अर्थतन्त्रलाई पनि प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ ।

नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर (पेगिङ) भएका कारण भारू कमजोर हुँदा नेपाली रुपैयाँ पनि स्वतः कमजोर बन्दै गएको छ ।

सन् २०१५ को अप्रिल अन्त्यमा एक अमेरिकी डलर खरिद गर्न करिब ६३.५७ भारतीय रुपैयाँ खर्चनुपथ्र्यो । तर, सन् २०२५ को अन्त्यतिर आइपुग्दा यो दर बढेर ८९ रुपैयाँ पुग्यो । सन् २०२६ को सुरुवाती चार महिनामै विनिमय दरमा तीव्र वृद्धि भई हाल डलरको भाउ ९४.२९ भारतीय रुपैयाँ पुगेको छ ।

यसको अर्थ, एक दशकको अन्तरालमा डलरको तुलनामा रुपैयाँ झन्डै ३० प्रतिशतभन्दा बढीले अवमूल्यन भएको छ ।
नेपालको भारतीय मुद्रासँग पेगिङ भएको कारणले गर्दा मारु अवमूल्यन हुँदा त्यसको असर नेपालमा पनि पर्ने विज्ञहरू बताउँछन् । सन् २०१५ को अप्रिल अन्त्यमा डलरको नेपाली मुद्रासँगको विनिमय दर एक सय रुपैयाँ रहेको थियो ।

सन् २०२५ को अन्त्यमा अमेरिकी डलरको नेपाली विनिमय दर १४३ रुपैयाँ पुगेको थियो । २०२६ को अप्रिल अन्त्यतिर आइपुग्दा अमेरिकी डलरको नेपाली रुपैयाँसँगको विनिमय दर १५० रुपैयाँ कायम भएको छ ।

अमेरिकी डलरको तुलनामा भारुमा आएको अवमूल्यनको असर नेपाली मुद्रामा पनि परेको देखिन्छ । नेपालको वैदेशिक व्यापारको करिब ६५ प्रतिशत हिस्सा भारतसँग मात्रै निर्भर छ । बाँकी ३५ प्रतिशत व्यापार तेस्रो मुलुकसँग हुन्छ ।

नेपालले तेस्रो मुलुकबाट आयात गर्ने इलेक्ट्रोनिक्स, मेसिनरी, पार्टपुर्जा र कच्चा पदार्थको भुक्तानी डलरमा गर्नुपर्छ । डलर महँगो हुँदा ती सामानको लागत सिधै बढ्छ । यति मात्र नभएर भारतबाट आयात हुने सामानमा पनि यसको परोक्ष असर पर्ने जानकारहरूको भनाई छ । भारतले धेरै सामान उत्पादनका लागि आवश्यक कच्चा पदार्थ तेस्रो मुलुकबाट डलरमै किन्ने गर्छ । भारतमा कच्चा पदार्थ महँगो हुनेबित्तिकै त्यहाँ उत्पादित सामानको मूल्य बढ्छ, जसको प्रत्यक्ष मार नेपाली उपभोक्तालाई पर्ने देखिएको हो ।

यस्तै, नेपालले उपभोग गर्ने पेट्रोलियम पदार्थको भुक्तानी पनि डलरमै हुने गर्छ । डलर बलियो हुँदा आयल निगमको खरिद लागत बढ्ने र देशभित्र इन्धनको मूल्य वृद्धि हुने अर्थविद्हरू बताउँछन् ।

नेपालले विश्व बैंक, एसियाली विकास बैंक, र जाइका जस्ता अन्तर्राष्ट्रिय संघसंस्थाहरूबाट ठुलो मात्रामा वैदेशिक
ऋण लिएको छ । यी ऋणहरूको सावाँ र ब्याज डलरमा भुक्तानी गर्नुपर्ने हुन्छ । डलरको भाउ एक रुपैयाँले मात्र बढ्दा पनि नेपालको वैदेशिक ऋणको भार अर्बौँ रुपैयाँले थपिनेछ । यसले गर्दा सरकारको विकास बजेटमा दबाब पर्ने र ऋण व्यवस्थापनमा राज्यको ढुकुटीबाट थप रकम खर्चनुपर्ने जानकारहरू बताउँछन् ।

पूर्व अर्थमन्त्री रामेश्वर खनालका अनुसार डलरको तुलनामा भारू कमजोर हुँदा नेपाली मुद्राको मूल्य पनि भारुसँगै तल झर्छ । यसले नेपालको भारतमाथिको निर्भरता अझ बढ्ने संकेत गर्छ । खनाल भन्छन्, “हाम्रो मुद्रा भारूसँग पेगिङ भएकाले हामीले स्वतन्त्र मौद्रिक नीति अभ्यास गर्न पाउँदैनौँ । भारू कमजोर हुँदा हामी पनि सस्तो हुनुपर्ने बाध्यता छ, जसले गर्दा तेस्रो मुलुकबाट हुने सामान आयात हाम्रा लागि निकै महँगो साबित हुन्छ ।” यसले नेपालको व्यापार विविधीकरणमा समेत संकुचन आउने उनी बताउँछन् ।

नेपालले आफ्नो उत्पादन क्षमता बढाउन सक्यो भने यो अवस्था निर्यातका लागि अवसर बन्न सक्ने उनको दाबी छ । “विदेशी पर्यटकहरूका लागि नेपाल भ्रमण सस्तो हुन जान्छ । उनीहरूले बोक्ने डलरले नेपालमा धेरै वस्तु र सेवा खरिद गर्न सक्छन्,” उनले भने, “पहिले १ डलर तिरेर पाइने सामान वा सेवा अब पर्यटकले थोरै डलरमै पाउन सक्छन् । यसले गर्दा विदेशीहरूका लागि नेपाल सस्तो पर्यटकीय गन्तव्य बन्न सक्छ ।” तर यसका लागि नेपालले गुणस्तरीय सेवा र पूर्वाधारमा जोड दिनु आवश्यक रहेको उनी बताउँछन् ।

पोखरा, चितवन, काठमाडौँ र लुम्बिनी केन्द्रित रहेको पर्यटनलाई सुदुरपश्चिम र कर्णालीसम्म पु¥याउनुपर्ने उनको भनाई छ ।
साथै, डलर बलियो हुँदा नेपालबाट निर्यात हुने गलैँचा, चिया, कफी र हस्तकलाका सामानहरू अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी गर्न सस्तो पर्छन् । विदेशी खरिदकर्तालाई नेपाली सामान सस्तो पर्ने भएकाले माग बढ्ने उनको दाबी छ । त्यसैले यस्तो उत्पादनमा सरकारले जोड दिनुपर्ने र व्यापार विविधिकरणमा पनि पहल गर्नुपर्ने खनालको सुझाव छ ।

निर्यातको सम्भावना भए पनि कच्चा पदार्थको बढ्दो मूल्यले उत्पादन कठिन भएको उद्योगीहरु बताउँछन् । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यका अनुसार तेस्रो मुलुकबाट आयात गरिने कच्चा पदार्थको मूल्य डलरका कारण अत्यधिक बढेको छ । वैद्य भन्छन्, “हामीले उत्पादन गर्ने सामानका लागि आवश्यक कच्चा पदार्थ डलरमै किन्नुपर्छ ।

कच्चा पदार्थ नै महँगो भएपछि तयारी वस्तुको मूल्य पनि बढ्छ । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय बजारमा अन्य देशका सामानसँग प्रतिस्पर्धा गर्न हामीलाई गाह्रो हुन्छ ।” यस्तै नेपाल गलैचा उत्पादक संघका अध्यक्ष बलराम गुरुङ पनि कच्चा पदार्थमा भएको अत्याधिक मूल्यवृद्धिले उत्पादन लागतमा पनि उल्लेख्य वृद्धि भएको बताउँछन् ।

उनले भने, “कच्चा पदार्थ नेपालमा पाइदैन, विदेशबाट ल्याउनुपर्छ, सुरुमै महङ्गोमा समान खरिद गरेपछि उत्पादन सस्तो कुसरी हुन्छ ?” डलरको तुलनामा भारतीय मुद्रामा भएको अवमूल्यनले महँगी बढ्ने र वैदेशिक ऋणको भार थपिने जोखिम भएपनि पर्यटन र निर्यातबाट फाइदा लिन सक्नुपर्ने विज्ञहरूको भनाई छ ।

यसको लागि नेपालले आफ्नै उत्पादन क्षमता बढाउनु र आयात घटाउनेतर्फ ठोस कदम चाल्नुपर्ने उनीहरूको सुझाव छ ।

प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार  ०७ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।