निजी क्षेत्रलाई सरकार र कर्मचारी प्रशासनले सघाउने मुख्य सचिव वैरागीको प्रतिवद्धता


सरकारका मुख्य सचिव शंकरदास वैरागीले मुलुकभित्र उद्योग व्यवसाय विस्तार सहित आर्थिक विकासमा सहयोग गर्न सरकारको कर्मचारी प्रशासनबाट सहयोग रहने बताएका छन् । निजी क्षेत्रलाई कर्मचारी प्रशासनले सदैव सहयोग गर्दै सहकार्यलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता वैरागीले जनाएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकारका मुख्य सचिव, सचिवहरु र उच्चपदस्थ अधिकारीसंग राजधानीमा आयोजना गरिएको परिचयात्मक कार्यक्रममा मुख्य सचिव वैरागीले यस्तो बताएका हुन् ।

मुलुकको व्यापार घाटा कम गर्नेतर्फ सरकार र निजी क्षेत्र निरन्तर अगाडी बढेको भन्दै वैरागीले केही सफलता पनि प्राप्त भएको बताए । तुलनात्मक लाभका क्षेत्रहरु मार्फत व्यापार घाटा कम गर्ने तर्फ संंयुक्त प्रयास केन्द्रीत हुनुपर्ने धारणा वैरागीको थियो ।

‘के गर्दा वाह्य लगानी, आन्तरिक लगानी बढाउन सकिन्छ, पूंजी, शीप आकर्षण गर्न सकिन्छ र समग्रमा निजी क्षेत्रको प्रवद्र्धन गर्न सकिन्छ त्यसमा निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार छ, मुख्य सचिव वैरागीले भने, ‘मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ ।’

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले सरकार र निजी क्षेत्र बीचको सहकार्यलाई आगामी दिनमा थप प्रगाढ पार्दै लैजानुपर्नेमा जोड दिएका थिए । नवनिर्वाचित पदाधिकारीको परिचय गराउँदै महासंघ अध्यक्ष गोल्छाले भने, ‘अब चालु आर्थिक बर्षको मौद्रिक नीति मार्पmत घोषणा भएको साना तथा मझौला उद्यमी लक्षित पुर्नकर्जा प्रवाह सुरु भएको छ । व्यवसाय निरन्तरता कर्जा पनि शुरु हुने क्रममा छ । यसले साना मझौला उद्यमीलाई राहत पुग्नेछ । तर पर्यटन लगायतका केहि अति प्रभावित क्षेत्रमा समस्या कम भएको छैन । त्यसैले अति प्रभावित क्षेत्रको श्रमिक व्यवस्थापन लगायतका क्षेत्रमा सरकारको सहकार्य खोजिरहेका छौ ।’

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र्रप्रसाद ढकालले निजी क्षेत्रको प्रवद्र्धनबाट मात्र मुलुकको आर्थिक विकास हुने भएकाले निजी क्षेत्रले फस्टाउने बातावरण बनाउनु पर्नेमा जोड दिएका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।