चिनियाँ नाकाका कारण व्यवसायीले धेरै दुःख पाए : चेम्बर


चीनर्फको नाका प्रभावकारी नहुँदा नेपाली व्यवसायीले निकै दुःख पाएको भन्दै नेपाल चेम्बर अफ कमर्शले गंभिर चिन्ता व्यक्त गरेको छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले एक वर्षदेखि चिनियाँ नाकामा व्यवसायीका सामान अड्किएको गुनासो गरे । ‘पोहोर साल जाडोका लागि व्यवसायीले किनेको ज्याकेट अझै अझै नाकामै थन्किएको छ, यस्तो तरिकाबाट कसरी दुईदेशबीचको व्यापार चल्छ ?’ अध्यक्ष श्रेष्ठले प्रश्न गरे ।

करोडौं मूल्य बराबरको सामानहरु चीनतर्फ नाकामा कुहिन लाग्दा व्यवसायीहरु पनि ब्याजको मारमा परेको अध्यक्ष श्रेष्ठले बताए । ‘कोरोनाको बहानामा चीनले नेपालसंगको व्यापारमा दोहोरो चरित्र देखायो, कि नाका बन्द गरोस् कि व्यापार सहज बनाओस्,’ अध्यक्ष श्रेष्ठले आग्रह गरे ।

देशमा बिकसित पछिल्लो राजनीतिक घटनाक्रमले आर्थिक बिकासका मुद्धा ओझेलमा पर्न लागेको भन्दै उनले आर्थिक मुद्धा नछोड्न आर्थिक पत्रकारहरुलाई आग्रह गरे । कोभिडका कारण समस्यामा परेका व्यवसायीलाई सकारात्मक उर्जा चाहिएको बेला राजनीतिक अन्यौल बढ्दा व्यवसायीमा चिन्ता थपिएको पनि चेम्बरले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।