नेपाली गरगहनाको निर्यात प्रवर्द्धनका लागि शिप मूलक तालिममा जोड


नेपाली गरगहनाको निर्यात प्रवद्र्धनकालागि शिप मूलक तालिम दिलाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणा र सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधीमण्डलका बिचमा सोमबार भएको छलफलमा यस्तो आवश्यकता औंल्याइएको हो ।

ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक राणाले सुनचाँदी ब्यवसायीले नेपाली मौलिक गरगहना निर्यातमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि आवश्यकपर्ने शीपमूलक तालिमका लागि केन्द्रले सहयोग गर्ने बताए । उनले नेपाली परम्परागत कला कौशलयुक्त गरगहनाको निर्यातवाट रोजगारी प्रवद्र्धन गर्दै मुलुकमा विदेशी मुद्रा आर्जनको समेत प्रशस्त संभावना रहेको बिचार ब्यक्त गर्दै यस्ता कार्यमा केन्द्रको सहयोग सदैव हुने बिश्वास दिलाएका थिए ।

नेपाली गरगहनाको निकासीमा कुनै समस्या भए त्यसको समाधानकालागि आवश्यक सहजीकरण गर्न केन्द्र तयार रहेको उल्लेद गर्दै उनले केन्द्रले ब्यवसायीक हितकालागि संभव भएसम्मका सवै क्षेत्रमा सहयोग गर्ने बताए । नेपाली गरगहना निर्यातका क्रममा भन्सार नाकामा उत्पन्न हुने प्राविधिक कठीनाइलाई सरलीकरण गर्न केन्द्रले आवश्यक पहल गर्ने आश्वासन समेत उनले दिए ।

त्यस क्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले नेपाली मैलिक गरगहनाको निर्यातवाट ब्यवसाय वृद्धि मात्र नभई मुलुक भित्रै प्रशस्त रोजगारीको अवसर समेत सृजना हुने तथा मुलुकमा विदेशी मुद्रा भित्रने संभावना पनि बढ्ने भएकोले यसतर्फ सरकार र ब्यवसायी सवैको ध्यान जान आवश्यक भएको बताएका थिए ।

केन्द्रसँग निर्यात प्रवद्र्धन, गरगहना निर्माणकालागि आवश्यक पर्ने तालिम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठि तथा मेला लागयकाका क्षेत्रमा सहयोगको अपेक्षा गरिएको उनको भनाई थियो ।

छलफलमा महासंघका तर्फवाट उपाध्यक्ष पवन कुमार सोमानी, प्रश्तावित उपाध्यक्ष महेन्द्ररत्न शाक्य, महासचिव धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिव किरणभाई बज्राचार्य, सहकोषाध्यक्ष पद्मशुन्दर शाक्य, लगायतको सहभागिता थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।