महासंघका अध्यक्ष गोल्छा र नेपालका लागि फ्रान्सेली राजदूत बीच भेटवार्ता


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजेबीच आज महासंघ सचिवालयमा भेटवार्ता भएको छ । सो भेटवार्तामा नेपाल र फ्रान्स बीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, आर्थिक सहकार्यका विविध विषयमा छलफल भयो ।

उक्त भेटवार्तामा आगामी जुन महिना अघि नेपाल फ्रान्स विजनेश फोरम बैठक आयोजना गर्ने र उक्त फोरम बैठकमा महासंघका तर्फबाट कोभिड पश्चात नेपालको आर्थिक अवस्था र नेपालमा लगानी सम्भाव्यता विषयमा विस्तृत प्रस्तुती गर्ने सहमती भयो ।

भेटवार्तामा राजदूत लेजेको महासंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष गोल्छाले नेपाल फ्रान्स बीच आपसी सहकार्यका क्षेत्रहरूको सम्भाव्यता अध्ययन गरी त्यस्ता क्षेत्रमा लगानी एवं सहकार्यको लागि आग्रह गरेका थिए । अध्यक्ष गोल्छाले कोभिड पछि नेपालको अर्थतन्त्रले निकै छिट्टै लय समाउन थालेको जानकारी गराएका थिए । उनले दुवै देशका निजी क्षेत्र बीच सम्पर्क विस्तार मार्फत नेपालमा फ्रान्सेली लगानी अभिवृद्धि, व्यापार विस्तार लगायतमा जोड दिए । यसका लागि कुटनीतिक सहयोग महत्वपूर्ण हुने धारणा उनको थियो ।

राजदूत लेजेले फ्रान्स र नेपाल बीचको आर्थिक एवं व्यवसायिक सम्बन्ध विस्तारलाई थप मजवुत बनाउन आफूले निरन्तर पहल गरीरहेको बताएका थिए । नेपालको आर्थिक विकासमा फ्रान्सको निरन्तर सहयोग रहने प्रतिवद्धता जनाउंदै नेपाल फ्रान्स विजनेश फोरम बैठकलाई परिणाममुखी बनाउने दृढता समेत राजदूत लेजेले व्यक्त गरेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।