FNCCI मा गोल्छाका सय दिनः विधान संशोधन हुँदै, भिजन पेपर सार्वजनिक गरिने


नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन भएको एक सय दिन पूरा भएको छ । गत मंसिर १४ गते सम्पन्न महासंघको ५४ औं साधारण सभाले शेखर गोल्छाको नेतृत्वमा नयाँ कार्यकारिणी समिति चयन गरेको थियो ।

समिति चयन भएको सय दिनको अवसर पारेर महासंघले राजधानीमा एक कार्यक्रमको आयोजना गरी हालसम्मका उपलब्धि तथा आगामी यात्राका सम्बन्धमा जानकारी गराएको छ ।

सय दिनका उपलब्धि सार्वजनिक गर्दै महासंघ अध्यक्ष गोल्छाले आगामी दिनका लागि भिजन पेपर तयार पर्न लागिएको बताए । भिजन पेपर तयार गर्नका लागि सुझाव संकलन गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा भिजन पेपरको प्रभावकारी कार्यान्वायनमा लाग्ने प्रतिबद्धता पनि उनले जनाएका छन् । यसका लागि अलग युनिट स्थापना गर्ने योजना बनाएको गोल्छाको भनाई थियो ।

मंगलबारको कार्यक्रमबाट संकलित सुझाव सहितको भिजन पेपर १० दिन भित्र सार्वजनिक गर्ने बताएका गोल्छाले दोहोरो अंकको आर्थिक वृद्धिका आधार सहितको दस्तावेज तयार पारिने बताए । उद्योग व्यवसायको विकास, रोजगारी सृजना लगायतका विषयलाई प्राथमिकताका साथ भिजन पेपरमा समेटिने बताएका उनले अन्तर्राष्ट्रिय व्यापार मेला पनि आयोजना गरिने उद्घोष गरे । यसका अलावा निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुको एकतामा विशेष जोड दिने पनि बताए ।

५० जना नव उद्यमीलाई स्थापीत गराउनका लागि कार्यक्रम तर्जुमा गरिएको बताएका उनले केही दिनमा नै उक्त कार्यक्रमको औपचारिक घोषणा गरिने पनि बताए ।

महासंघको हालको विधान संशोधन गर्नु पर्ने आवश्यक्ता देखिएको बताएका उनले पटक पटक विधान संशोधन गर्नु नपर्ने गरी संशोधनको प्रकृया अघि बढेको पनि जानकारी दिए । विधानका कतिपय व्यवस्था निर्वाचनमुखी जस्तो देखिएकाले त्यस्ता विषय संशोधन गरी आगामी दिनमा महासंघलाई थप बलियो बनाउन लागिएको उनको भनाई थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।