झण्डै ८० अंकले बजार बढ्दा पूँजीकरण १ खर्ब बढीले उकालो लाग्यो


पछिल्ला केही दिनदेखि गिरावटको क्रममा रहेको बजार मंगलबार एकाएक फर्किएर फराकिलो अन्तरले उकालो लागेको छ । योसँगै समग्र बजार पूँजीकरण पनि एकै दिन खर्ब रुपैंयाभन्दा बढीले बढेको छ ।

मंगलबार बजार सूचक मापक नेप्से २.८० प्रतिशत अर्थात ७९.४४ अंकले बढे पछि लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पूँजीकरणमा १ खर्ब ११ अर्ब रुपैंयाले बढेको हो ।

योसँगै सोमबार समग्र बजार पूँजीकरण ४० खर्ब ४८ अर्ब २ करोड रुपैंया कायम भएको छ । आइतबार ४० खर्ब ३६ अर्ब ३९ करोड रुपैंया रहेको बजार पूँजीकरण सोमबार ९८ अर्ब ९७ करोड रुपैयाँले घटेर ३९ खर्ब ३७ अर्ब ६७ करोड रुपैयाँमा झरेको थियो ।

यसबीचमा नेप्सेमा जेठ ३१ गते सोमबार नेप्से सूचक सर्वाधिक बिन्दु ३ हजार २५ दशमलव ८३ बिन्दुमा पुगेको दिन बजार पूँजीकरण पनि सबैभन्दा धेरै ४२ खर्ब १६ अर्ब कायम भएको थियो ।

मंगलबार कारोबारमा आएका सबै समुहका सबैजसो कम्पनीहरुको शेयर मूल्यमा आएको तिब्र सुधारले बजार पूँजीकरणलाई सकरात्मक असर पारेको हो ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले विज्ञप्ती जारी गरे पछिका चार कारोबार दिनमा मात्रै नेप्से १८८ अंकले घटेको थियो । यसबीचमा कुल बजार पूँजीकरण २ खर्ब ३४ अर्ब ५८ करोडले घटेको थियो । यो तथ्यांकमा मंगलबार धेरै सुधार देखिएको हो ।

यस क्रममा मंगलबार कारोबारयोग्य शेयरको तथ्यांक मापन गर्ने फ्लोट इण्डेक्स ५.६९ अंकले बढ्दा सेन्सेटिभ इण्डेक्स १६.१९ अंकले बढेको छ । यस क्रममा फ्लोट क्यापिटलाइजेशन १४ खर्ब १४ अर्ब रुपैंया कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।