बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ, अदालतमा बुझाइयो


बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ३१ बानेश्वर बस्ने सुनसरी धरान उपमहानगरपालिका १७ ठेगाना भएकी ४२ वर्षीया कविता सुब्बा र काठमाडौं बानेश्वर बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ९ ठेगाना भएकी ३९ वर्षीया लिना श्रेष्ठ गिरीलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूमध्ये कवितालाई उच्च अदालत पाटनबाट २०७६ फागुन ६ गतेको फैसालाले उक्त मुद्दामा १५ दिन कैद र ५० लाख रूपैयाँ जरिवाना तथा लिनालाई २०७६ माघ १९ गतेको फैसालाले १५ दिन कैद र ५४ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर भएको थियो ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले कवितालाई काठमाडौंको कालोपुल र लिनालाई काठमाडौंको नयाँवस्तीबाट पक्राउ गरेको हो ।

उनीहरूले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात नभएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसाला गरेको हो ।

उनीहरूलाई फैसाला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको छ ।

उता लेनदेन मुद्दाका फरार प्रतिवादी नेपालगंज उपमहानगरपालिका २ बस्ने ४५ वर्षीया अनिता देवी बानियालाई पनि मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेको २०५६ वैशाख ६ गतेको फैसलाले उक्त मुद्दामा ३ महिना कैद सजाय ठहर भई फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।