नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै गोल्छाले भने अर्थतन्त्रमा वस्तुगत संघको भूमिका महत्त्वपूर्ण


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्रमा वस्तुगत संकहरुले महत्वपुर्ण योगदान पुर्याएको बताएका छन् । बिहीबार महासंघको सदस्य वस्तुगत संघहरूको हालै सम्पन्न वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूलाई सम्मान गर्दै महासंघ अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।

सदस्य वस्तुगत संघका नवनिर्वाचित टिमलाई महासंघले नियमित कार्यक्रम अनुसार स्वागत तथा बधाई दिएको हो । महासंघको वस्तुगत परिषद्ले आयोजना गरेको कार्यक्रममा नेपाल हस्तकला महासंघ, नेपाल इँटा उद्योग महासंघ, नेपाल अलैंची व्यवसायी महासंघ, नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस्, नेपाल चलचित्र संघ, नेपाल दाना उद्योग संघ र नेपाल बीउ व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूलाई खादा लगाई स्वागत एवं बधाई दिएका छन् । सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले भने, “उद्योगधन्दाको विस्तार, रोजगारी सिर्जना, पुँजी निर्माणमा तपाईंहरूको योगदानलाई महासंघले सधैं उच्च प्राथमिकता दिएको छ ।”

महासंघले अघि सारेको भिजन पेपरका लक्ष्यलाई पूरा गर्ने कार्यमा पनि सहयोगी भूमिका निर्वाह गर्न गोल्छाले वस्तुगत संघहरुलाई आग्रह गरे । आफ्ना सबै सदस्यसँग पर्याप्त छलफल गरेर भिजन पेपर तयार पारिएको स्मरण गराउँदै गोल्छाले भने, “अब यसले लिएका लक्ष्य पूरा गर्ने कार्यमा तपाईंहरूले आआफ्ना स्थानबाट नेतृत्व लिएर अगाडि बढ्नुहोस्, तपाईंहरूलाई के कस्तो सहयोग चाहिन्छ, महासंघले सहयोग गर्छ ।”

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र अन्जन श्रेष्ठले महासंघको शक्ति नै सदस्य संघहरू भएकाले आफ्ना सदस्यहरूको सहयोग र सहकार्यमा निजी क्षेत्रका चुनौतीको सामना गर्दै मुलुकभित्र उद्योग व्यवसाय विस्तार, रोजगारी सिर्जनामा महासंघ लागिरहेको बताएका थिए । निजी क्षेत्रका अगाडि समस्याको पहाड रहेकाले ती समस्याहरूलाई पन्छाएर काम गर्न निजी क्षेत्र बीच एकता र सहकार्य आवश्यक भएकोमा जोड दिए । आफ्नो क्षेत्रमा क्याप्टेनको भूमिकामा रहेर जिम्मेवारी निर्वाह गर्न र आफ्नो कार्यकालमा आफना क्षेत्रमा उल्लेख्य कार्य गर्न उनीहरुले संघका पदाधिकारीलाई सुझाव दिए ।

नवनिर्वाचित अध्यक्षहरूका तर्फबाट मन्तव्य राख्ने क्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला क्षेत्रको दीर्घकालीन विकासका लागि सार्क हस्तकला विकास केन्द्र सञ्चालन, महासंघले राष्ट्रिय हस्तकला विकास नीतिको मस्यौदा गरी सरकारमा प्रस्तुत गरिसकेको हुँदा सोको कार्यान्वयनमा एफएनसीसीआईबाट सहयोगको अपेक्षा गरिएको बताए ।

नेपाल इँटा उद्योग महासंघका अध्यक्ष शंकरबहादुर चन्दले लगानी र रोजगारीका हिसाबले उल्लेख्य योगदान दिएको इँटा उद्योगलाई राज्यले उद्योगको मान्यता दिन नसकेकोमा गुनासो गरे । “इँटा उद्योगलाई बीमा कम्पनीले पनि पत्याएनन्, सरकारले पनि प्राथमिकतामा राखेन,” उनले भने, “अहिले इँटा उद्योगमा दक्ष जनशक्तिको चर्को अभाव छ ।” भारतबाट जनशक्ति ल्याएर उद्योग सञ्चालन गर्नुपर्ने बाध्यता भएकाले जनशक्ति विकासमा महासंघको सहयोग खोजेको उनले बताए ।

नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले भने, “यस क्षेत्रका विविध समस्या छन्, तालिम प्राप्त जनशक्ति छैनन्, यसको गुणस्तर पहिचान, मार्केटिङ, प्याकेजिङ, ब्रान्डिङ लगायतमा ठूलो समस्या छ ।” यसका लागि सहयोग गर्न पनि उनले आग्रह गरे । अध्यक्ष भट्टराईले स्वदेश तथा विदेशमा आयोजना हुने मेला महोत्सवमा नेपाली अलैंचीका लागि छुट्टै स्टलको व्यवस्थापन गर्ने कार्यमा सहयोग गर्न आग्रह गरे ।

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस (नाटा) का अध्यक्ष रमेश थापाले कोभिडले थिलोथिलो भएको पर्यटन व्यवसायको उत्थानका लागि सहयोग गर्न आग्रह गरे । सम्पदा क्षेत्रमा सार्वजनिक सवारी साधन निषेध गरिनुपर्ने, पर्यटन क्षेत्रका लागि छुट्टै बसपार्कको व्यवस्था हुनुपर्ने, महासंघको पर्यटन समितिमा पर्यटन क्षेत्रका विविध समस्याबारे नियमित छलफल गरी समाधानमा सहयोगी भूमिका निर्वाह गर्नुपर्ने सुझाव उनले राखे ।

नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले कुखुराको मासु र अन्डामा आत्मनिर्भर भए पनि दाना उत्पादनमा अहिले पनि अरू देशकै भर पर्नुपर्ने परिस्थिति रहेको बताए । दानाका लागि आवश्यक मकै तथा भटमासको पिनाका लागि छिमेकी देश भारत तथा अन्य राष्ट्रहरूको भर पर्नुपर्ने परिस्थिति अन्त्य गर्नुपर्ने र त्यसका लागि नेपालमा मकै र भटमास खेती विस्तारमा सरकारको ध्यानाकर्षण गराउन महासंघले सहयोग गर्नुपर्ने सुझाए ।

नेपाल चलचित्र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठले अर्बौंको लगानी गरी हजारौंलाई रोजागरी दिइरहेको चलचित्र व्यवसायलाई राज्यले प्राथमिकतामा पार्न नसकेको गुनासो गर्दै राष्ट्रिय उद्योगको मान्यता दिने कार्यमा महासंघले सहयोग गर्नुपर्ने बताए । कोभिड महामारीबाट बढी प्रभावित सूचीमा राखिए पनि राज्यले दिनुपर्ने सुविधाबाट वञ्चित गरिएको उनले गुनासो गरे । उनले समग्रमा चलचित्र व्यवसायीहरूलाई परेको पिरमर्कामा सहयोग गर्न महासंघलाई आग्रह गरे ।

नेपाल बीउ व्यवसायी संघका अध्यक्ष वसन्तचन्द्र मरहठ्ठाले नेपाललाई बीउमा आत्मनिर्भर बनाउने कार्यमा संघ लागे पनि बीउ व्यवसाय ऐन २०४५ का कारण त्यो निकै कठिनाइ भएको बताए । ऐनका कतिपय प्रावधानका कारण व्यवसायीहरू पलायन हुन थालेको बताउँदै संसदमा दर्ता भएको बीउ बिजन ऐन २०४५ लाई संशोधन गर्न बनेको विधेयकलाई जतिसक्दो छिटो पारित गर्ने कार्यमा सहयोग गर्न महासंघलाई आग्रह गरे । साथै उनले महासंघलाई नीतिगत विषयमा नियमित छलफल चलाउन पनि आग्रह गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।