ब्रोडव्याण्ड पहुँच बिस्तार गर्न नेपाललाई वर्ल्ड बैंकको सवा १७ अर्ब सहयोग


ब्रोडव्याण्ड इन्टरनेटको पहुँच बिस्तारका लागि वर्ल्ड बैंकले नेपाललाई १७ अर्ब ३६ करोड रुपैंया सहयोग उपलब्ध गराउने भएको छ ।

वर्ल्ड बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालमा ब्रोडब्यान्ड सेवाको पहुँच विस्तारका लागि १४० मिलियन अमेरिकी डलर बराबरको सहयोग स्वीकृत गरेको हो । डिजिटल नेपाल एक्स्सेलेरेसन (डीएनए) परियोजनाका लागि यस्तो सहयोग रकम स्वीकृत गरिएको वर्ल्ड बैंकले जनाएको छ ।

ग्रामीण क्षेत्रका साथै व्यवसायलाई डिजिटलमा रुपान्तरण गर्नका लागि सहुलियत दरमा ब्रोडब्यान्ड सेवा विस्तार गर्न बैंकले सहयोग स्वीकृत गरेको हो ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले समावेशी र सुरक्षित डिजिटल अर्थतन्त्र प्रवद्र्धन गर्ने नेपालको लक्ष्यलाई समर्थन गर्दै विश्व बैंकले व्यवसायलाई सूचना, सेवा र बजारमा जोड्ने विश्वास सहित सहयोग स्वीकृत गरिएको बताए ।

यो परियोजनाले डिजिटल नेपाल फ्रेमवर्क, २०१९ मा सरकारले घोषणा गरेको डिजिटल अर्थतन्त्र रणनीतिको कार्यान्वयनमा सहयोग पुग्ने बताइएको छ । परियोजनाले उच्च गुणस्तरीय र किफायती ब्रोडब्यान्ड सेवाहरूमा सुधार गर्न मद्दत पुग्ने विश्वास वर्ल्ड बैंकले लिएको छ । यसले नेपालको डाटा पूर्वाधार र साइबर सुरक्षामा सुधारमार्फत डिजिटल सरकारी सेवाहरूको डेलिभरीलाई समर्थन र सुरक्षित गर्ने वर्ल्ड बैंकले बताएको छ ।

“इन्टरनेट प्रयोगमार्फत डिजिटल सीप र उद्यमशीलता विकास, महिला, अपाङ्ग, जातीय र सामाजिक अल्पसंख्यक व्यक्तिलाई डिजिटल सेवाहरूमा पहुँच बढाउनुका साथै परियोजनाले डिजिटल सीप विकास तालिम प्रदान गरी करिब १ हजार ५०० व्यक्तिलाई राम्रो रोजगारीका अवसर सिर्जना गर्नेछ” विश्व बैंकले भनेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।