मणिपाल अस्पतालको अध्यक्ष बने आनन्दराज बतास, कर्मचारी विवाद सुल्झियो



भारतीय लागनीकर्ताबाट स्वामित्व खरिद गरेपछि पोखराको मणिपाल शिक्षण अस्पतालको अध्यक्षमा व्यवसायी आनन्दराज बतास सञ्चालक समिति अध्यक्ष बनेका छन् । भारतीय लगानीकर्ताको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपबाट बतास अर्गनाईजेसन र अटोवेज प्रालिले सो अस्पतालको स्वामित्व खरिद गरेका थिए ।

स्वामित्व नेपाली लगानीकर्तामा आए लगत्तै त्यहाँका कर्मचारीहरुले आन्दोलनका कार्यक्रम पनि स्थगित गरेका छन् । नयाँ व्यवस्थापनले आन्दोलतरत कर्मचारीका मगा पुरा गर्ने प्रतिबद्धता जनाए पछि त्यहाँका विभिन्न कर्मचारी युनियनहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । योसँगै वर्षौंदेखिको व्यवस्थापन र कर्मचारीबीचको विवाद सकिएको छ ।

यद्धपी नयाँ व्यवस्थापनले कर्मचारी समस्या सुल्झाउन पुरानै व्यवस्थापक हरुलाई आग्रह गरेकाले पुरानै व्यवस्थापनले आन्दोलनरत कर्मचारी युनियनहरुसँग संझौता गरको हो ।

अस्पतालका सञ्चालक कृष्णराज लामिछानेका अनुसार अस्पतालको व्यवस्थापनमा नयाँ टीमले औपचारिक रुपमा काम सुरु गरिसकेको छैन । “नयाँ लगानीकर्ताको चाहना अनुसार कर्मचारीका माग पुरा गराउन पुरानो व्यवस्थापनले नै युनियनका पदाधिकारीसँग सम्झौता गरेको हो,” उनले भने, “गत शुक्रबार कर्मचारी र व्यवस्थापनकाबीच सहमति भएसँगै आइतबारदेखि नै अस्पतालका ओपिडी सहितका सबै सेवाहरु सुचारु भएका छन् ।”

अस्पतालका कर्मचारी युनियनले विभिन्न माग राख्दै लामो समयदेखि अस्पताल प्रशासनमा तालाबन्दी गरेका थिए । प्रशासनले दुई महिना भन्दा लामो समयसम्म पनि मागको सुनुवाइ नगरेपछि कर्मचारी युनियनले गत महिनादेखि अस्पतालको ओपीडी सेवासमेत आंशिक रूपमा बन्द गरेका थिए ।

शुक्रबार भएको सहमतिपछि आइतबारदेखि ओपीडी सेवा पूर्ण रूपमा सञ्चालनमा आएको मणिपाल कर्मचारी युनियन समन्वय समितिका अध्यक्ष जीवनबहादुर थापाले जानकारी दिए ।

“अस्पतालमा कार्यरत कर्मचारीको सेवासुविधा समयसापेक्ष बनाउने र कर्मचारीले पनि आफ्नो क्षमता, योग्यता तथा पदअनुसार काम गर्ने सहमति भएको छ,” थापाले भने, “भविष्यमा कुनै समस्या आए छलफलबाट समाधान खोज्दै बन्द, ताला लगाउने गतिविधि नगर्ने सहमति भएको छ ।”

२ साता पहिले अस्पतालको स्वामित्व हस्तान्तरण भएको थियो । यसपछि बतास समूहका आनन्दराज बतास मणिपाल अस्पतालको अध्यक्ष बनेका हुन् । अर्को लगानीकर्ता अटोवेज प्रालिका नारायण पौडेल सञ्चालक रहेको अस्पतालमा पुर्व बैंकर कृष्णराज लामिछाने, प्रमेश पराजुली र शान्तराज बतास सञ्चालक बनेका छन् ।

अस्पतालको प्रमुख कार्यकारी अधिकृतमा भारतीय नागरिक अनिल ओडुविल र कर्पोरेट अफेयर्स निर्देशकमा कृष्णमोहन श्रेष्ठलाई नियुक्त गरिएको अस्पतालका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए । उनका अनुसार हालसम्म अस्पताल पुरानो व्यवस्थापनले नै सञ्चालन गरिरहेको छ भने केही दिनमा नै नयाँ व्यवस्थापनले कार्यसम्पादन थाल्नेछ ।

नेपालको ऐतिहासिक र प्रतिष्ठित अस्पताललाई व्यवस्थित तरिकाले सञ्चालन गर्न स्वामित्व खरिद गरिएको अध्यक्ष बतासले बताए । कर्मचारी व्यवस्थापन सबैभन्दा महत्वपुर्ण विषय भएकाले तत्काल उनीहरूको माग पुरा गरी विगतका सबै विवाद मिलाइएको बतासको भनाई छ ।

“अस्पतालको सेवाको प्रभावकारिता कर्मचारीमै निर्भर गर्छ । यसमा हामी एकदमै सवेदनशील भएर विगतका व्यवस्थापनसँग कर्मचारीले राख्दै आएका माग सम्बोधन गर्न पहल गरेका हौं,” नोटबजारसँगको कुराकानीमा बतासले भने, “अब नयाँ व्यवस्थापनले अस्पतालका कर्मचारीमात्र हाइन सेवाग्राहीलाई पनि सन्तुष्ट बनाउने गरी नयाँ शिराबाट अघि बढाउँछ । अस्पतालमा कुनै विवाद आउन नदिनेमा हामी सेचत छौं ।”

भारतीय मणिपाल एजुकेशन एन्ड मेडिकल ग्र्ुपको स्वामित्वमा रहेको शिक्षण अस्पतालमा बतास समुहले ६० प्रतिशत र अटोवेज प्रालिले ४० प्रतिशत लगानी गरेसँगै अस्पतालको शतप्रतिशत स्वामित्व नेपाली लगानीकर्तामा आएको हो ।

४० रोपनी क्षेत्रफलमा फैलिएको मणिपालले ९ सय शैय्याको अस्पताल सञ्चालनको अनुमति पाएको छ । मेडिकल कलेजमा १ सयभन्दा बढी विद्यार्थीले एमबीबीएस अध्ययन गरिरकेका छन् । भारतदेखि धेरै संख्यामा विद्यार्थी आउने उक्त कलेजमा बीएससी नर्सिङ, स्टाफ नर्ससमेत पढाइ हुँदै आएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।