अशोक स्टीलको दीर्घकालीन र छोटो अवधिको सुविधालाई ‘डबल बी माइनस’ र ‘ए ४’ रेटिङ


नेपालको दोस्रो क्रेडिट रेटिङ कम्पनी केयर नेपालले अशोक स्टील उद्योगले दीर्घकालीन तथा छोटो अवधिका लागि प्राप्त गरेका बैंकिङ सुविधाको रेटिङ गरेको छ ।

अशोक स्टील उद्योगको दीर्घकालीन रुपमा प्राप्त गरेका बैकिङ्ग सुविधाको रेटिङ ‘डबल बी माइनस’ (बीबी–) रहेको छ भने छोटो अवधिको लागि प्राप्त गरेको सुविधाको रेटिङ ‘ए ४’ रहेको छ ।

दीर्घकालीन बैकिङ्ग सुविधाको रेटिङ डबल बी माइनस गत वर्षको तुलनामा यस वर्ष प्राप्त रकममा आएको गिरावटबाट पुष्टि हुन्छ । गत आर्थिक वर्षमा अशोक स्टीलको दीर्घकालीन बैंकिङ्ग सुविधा ८ अर्ब ७६ अर्ब बढी थियो भने यो वर्ष ८ अर्ब ४ करोड प्राप्त गरेको छ ।

यसैगरी छोटो अवधिको बैकिङ्ग सुविधा उद्योगले गत वर्ष १४ अर्ब ८० करोड प्राप्त गरेको थियो भने यो वर्ष उक्त सुविधा बढेर २२ अर्ब ८० करोड पुगेको छ । जसकारण छोटो अवधिको बैकिङ्ग सुविधाको रेटिङ ए ४ हुन पुगेको हो ।

उद्योगले प्राप्त गरेका बैंकिङ सुविधाको रेटिङ गर्दा उद्योगका कमजोर तथा सबल पक्ष दुवैलाई मध्यनजर गरेको रेटिङ कम्पनीले जनाएको छ ।

कम्पनीको लेभरेज पुँजी संरचना, ऋण सेवा सूचकहरुको कमजोर प्रस्तुति, उद्योग सञ्चालनको कार्यशील पुँजी, तरलतामा आएको कमी जस्ता तत्वहरुले रेटिङ कमजोर बनाएको हो ।

यसैगरी कच्चा पदार्थको मूल्यमा आएको वृद्धि, मुद्रास्फीति नियन्त्रण गर्न अमेरिका लगायतका देशहरुले बढाएको बयाजदर, ब्याजदरसँगै शक्तिशाली भएको डलर र डलर बढ्दा कच्चा पदार्थको खरिदमा उत्पन्न समस्याका साथै स्टील उद्योगमा बढ्दै गरेको प्रतिस्पर्धा जस्ता तत्वहरुलाई मध्यनजर गरी रेटिङ गरिएको केयर नेपालले जनाएको छ । कम्पनीले उद्योगको कुल परिचालन आयमा वृद्धि आएता पनि कम्पनीको मार्जिनमा आएको गिरावटलाई पनि समेटेको छ ।

यसैगरी उद्योग लामो समयदेखि सञ्चालन हुँदै आएको र अनुभव प्राप्त दक्ष समुहबाट सञ्चालनमा आएको, नेपाल भरी नै बजार बिस्तार गरेको र देशभरीबाट हुने स्टीलको मागलाई परिपूर्ति गर्दै आएको जस्ता पक्षहरुलाई पनि ध्यानमा राख्दै रेटिङ गरेको केयर नेपालले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।