नेपाल उद्योग परिसंघले चीनबाट ‘डाइग्नेसिक्ट किट’ तथा ‘पीपीई’ ल्याउँदै


नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष सतिस कुमार मोरले कोरोना भाइरसको सम्भावित संक्रमण रोकथामका लागि परिसंघले सक्रिय भुमिका निर्वाह गर्ने बताएका छन् ।

अधिकांस क्षेत्र तथा व्यवसायिक घरानाले सरकारसँग सहुलियत माग गरिरहेको सन्दर्भमा नोटबजारले राखेको जिज्ञासामा उनले भने ‘सहुलियतको कुरा उठाउनै नमिल्ने भन्ने हुँदैन । तर अहिले हाम्रो प्राथमिकता सामाजिक उत्तरदायित्वको हो । समस्या आयो भने सहुलियतको कुनै अर्थ हुन्न, तसर्थ समस्या आउन नदिनेमा हामी सहकार्य गर्दै अघि बढ्छौं ।’

परिसंघ अध्यक्ष मोरका अनुसार परिसंघले कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रणका लागि चीनबाट स्वास्थ्य सम्बन्धि अत्यावश्यक ‘डाइग्नेसिक्ट किट’ तथा ‘पर्सनल प्रोटेक्सन इक्वीप्मेन्ट’ (पीपीई) आयातका लागि आवश्यक बन्दोबस्त गरिएको छ ।

‘प्रधानमन्त्री ज्यूको सम्बोधन पछि हामीले चीनबाट सामान झिकाउने प्रकृयालाई अझै तिब्र बनाउन निरन्तर फलोअप गरिरहेका छौं । यस अघि मार्च २३ तारिखमा सामान नेपाल आउने प्रतिबद्धता चीनीया पक्षले दिएकोमा अहिले हामी आइतबारसम्ममा सामान ल्याउने प्रयत्नमा जुटेका छौं ।’ मोरले भने ।

सामाजिक उत्तरदायित्वसँगै उद्योगी व्यवसायीले सरकारबाट अहिलेको अवस्थालाई हेरेर सहुलियत उपलब्ध गराउनेमा आफुहरु विश्वस्त रहेको उनको भनाई थियो ।

विपदका बेला सहुलियतको माग छोडेर उत्तरदायी बन्ने कि ?